एमालेको जागरणसभामा जे देखियो…

जलथल वन भित्र पाइने जैविकताको सुरक्षाको जिम्मा लिऔँ

चारकोशे झाडीको एउटा सानो अवशेषका रूपमा रहेको जलथल वन नेपालको सुदुरपूर्वको एक मात्र जैविक विविधता बोकेको प्राकृतिक सम्पदा हो । पूर्वी दक्षिणी झापाको भद्रपुर, कचनकवल, हल्दिवारी तथा बाह्रदशी गाउँपालिकाको सिमानासित गाँसिएको यस वनभित्र पाइने जैविकताको संरक्षणका लागि स्थानीय सरकार मुख्य जिम्मेवार हुनु पर्ने हो । नेपालमा रहेको वन क्षेत्र मध्ये विरलै मानिएको जैविक विविधताको वृहत स्वरूप भएको एक मात्र वन क्षेत्र भित्र जलथल वन पर्दछ । एसिया महादेशमा रहेका वनहरू मध्येमा अधिक जैविक विविधता संरक्षित भएको मानिएको जलथल जङ्गल पछिल्ला वर्षहरूमा सङ्कटमा पर्दै गएको छ । यस जङ्गलको संरक्षणको दायित्व पाएका सरोकारवालाहरू जैविक विविधता अनुकूल संरक्षणका काम गर्न असफल हुँदै गएका छन् । जैविक विविधता दिवसका दिन चिन्ता व्यक्त गर्छन् । मौका मिल्यो भने डलरको खेती पनि गर्छन् तर वर्षभरि अन्य दिन कता हराउँछन् पत्तो हुँदैन । यसैकारण यस वनमा पछिल्ला वर्षहरूमा बनमारा प्रजातिका झार तथा लहराहरूका कारण स्थानीय तथा रैथाने वनस्पति तथा आश्रित जीवको जीवनचर्यामा समेत सङ्कट पैदा हुँदै गइरहेको छ । वनभित्र रहेका पानीका मुहान सुक्दै जाँदा जलचर तथा स्थल प्राणीको आहारा व्यवस्थापनमा पनि सङ्कट पैदा हुँदैछ । यस वनमा रैथाने रूपमा बस्न थालेका हात्ती आहारा र पानीको अभावकै कारण आसपासका गाउँ बस्तीमा पसेर अन्न बाली नष्ट गर्ने तथा जनधनको क्षति गर्ने क्रम बढिरहेको छ । मिचाहा प्रजातिका झार तथा लहराका कारण चरिचरण अभावमा परेका हात्ती, मृग,बँदेल, नीलगाई लगायत स्थल प्राणी सङ्कटको सामना गरिरहेका छन् ।

 

कतिपय विश्वमै नपाइने वनस्पति र जीव समेत पाइने जलथल जङ्गललाई जोगाउनु पर्ने दायित्व भएकाहरू अरूले नै केही गर्लान् कि भनेर आशा राख्दै अनुदान वा आर्थिक सहयोगका लागि चिन्ता देखाएर दायित्वबाट भाग्दै गएको अवस्था छ । यस्तो अवस्थाको अन्त्य नभएसम्म जलथल जङ्गलसित जोडिएको जैविक विविधता संरक्षित हुने छैन । वर्षमा एकचोटी विज्ञ सहितका सरोकारवालाले जलथल वन अवलोकन तथा अन्तरक्रिया कार्यक्रमका गर्ने गरेका छन् । यस्ता कार्यक्रमले रूख मात्र जोगाउने नभएर वनमा रहेका सम्पूर्ण जैविक विविधता जोगाउन वन समूहहरूको दायित्व बुझाउन सकेको अवस्था पनि छैन । जलथल जङ्गल वास्तविक सिमसार भएको वन क्षेत्र हो तर, केही वर्षयता त्यस क्षेत्रको पानी अप्रत्याशित रूपमा घट्ने क्रम तीव्र हुँदा सुख्खा क्षेत्र बन्ने जोखिम बढ्दै छ । यस अवस्था निर्माण हुनुको कारण खोज्न विज्ञहरूको सहयोग आवश्यक परेको अवस्था छ । जिम्मेवार हुनु पर्ने स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधिले पनि आवश्यकता अनुसार जिम्मेवारी प्रस्तुत गर्न सकेका छैनन् ।

 

स्थानीय सरकार जलथल वनलाई पर्यटकीय क्षेत्र बनाउन सडक विस्तारको तानाबाना बुनेर गिटी बालुवाले घेर्न लागिरहेको अवस्था छ । जङ्गललाई पर्यटकीयस्थलको रूपमा विकास गर्न आवश्यक भए पनि जैविकतालाई नास गर्ने गरी भौतिक संरचनाको निर्माण आवश्यक नरहेको स्थानीय सरकारलाई बुझाउन जरुरी देखिएको छ । जैविक विविधता जोगाउन कसैलाई पनि जङ्गलमा प्रवेश गर्न दिनु हुँदैन भन्ने ज्ञान पनि जरुरी छ । यस जङ्गलको सिमसारको विशेषतालाई उजागर गरी रामसारमा सूचीकृत गर्नसके विश्वमा पर्यापर्यटनका लागि एकीकृत विकास गर्न सकिने छ ।  त्यसका लागि ठुलो लगानी र प्रयास चाहिने आवश्यकता पनि बुझ्न जरुरी छ । नेपालकै होचो ठाउँमा अवस्थित यस जङ्गलमा संसारमै नपाइने ६ वटा रुखका प्रजाति र ३ वटा वनस्पति भेटिएको विज्ञहरूको विभिन्न प्रतिवेदन मार्फत ठहर छ । जलथल जङ्गल जैविक विविधताले नेपालकै धनी भएको प्रमाण पनि यही हो । यस जङ्गलमा रहेको सिमसारमा पानीको मुहान सुक्दै गएको , वन्यजन्तुहरू नासिँदै गएको, चराचुरुङ्गीहरू हराउँदै जानु चिन्ताको विषय हो । मानवको आर्थिक विकास सँगसँगै जैविकताको पहिचान रहेको सिमसारलाई पनि विकसित गर्दै लैजानु पर्छ । तर, वन क्षेत्रको रामसार लोप हुने गरी कुनै पनि गतिविधि समेटिनु हुँदैन । गिटी बालुवाको भेल बगाउनु विकास भन्ने बुझेका सरकारी पक्षले जङ्गलको जैविकता नबुझेकै कारण दिनप्रतिदिन सिमसार सुक्ने र सुख्खाग्रस्त उजाड क्षेत्र बन्ने क्रम बढ्दै गइरहेको छ ।

 

 विज्ञहरूका अनुसार यस वन क्षेत्रमा १७० किसिमका चरा , १५० किसिमका पुतलीहरू रहेका छन् । त्यस्तै कटुस , लटहर, बेत, सतिसाल जस्ता दुर्लभ वनस्पति, बँदेल, हरिणजस्ता वन्यजन्तु यस वनको रैथाने प्रजातिमा पर्दछन् । केही वर्षयता सालक, बाँदर जस्ता वन्यजन्तु लोप हुँदै गएका छन् । जलथल जङ्गललाई हात्ती कोरिडोरको रूपमा विकास गर्न सकिने सम्भावना छ । हात्तीका लागि उपयुक्त हावापानी भएको यस वनमा झापामा आइपुग्ने पाहुना हात्ती समेत बास बस्न आउने गरेका छन् । जैविक विविधतामा एसियाकै धनी यस जङ्गललाई संरक्षण र संवर्द्धन गर्न सबै लाग्ने हो भने जैविकता सुरक्षित हुन्छ । यस जङ्गलमा माइकेनिया प्रजातिको मिचाहा झारले स्थानीय प्रजातिमाथि नकारात्मक प्रभाव पारिरहेको छ । पूर्वी दक्षिणी झापाको पहिचान रहेको यस जंगलले झापाका करिब १८ हजार हेक्टर वन क्षेत्रमध्ये एक तिहाइ भाग  ओगटेको छ । जलथल वन भित्र २२ वटा वन समूहहरू रहेका छन् । यी समूहहरूले रूख जोगाएका भए पनि जैविकता बचाउन सकेको अवस्था छैन । पहिलो संरक्षणको हिस्सेदार स्थानीय सरोकारवालाका रूपमा वन समिति हुन भने स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार पनि जैविकता संरक्षणका लागि मुख्य जिम्मेवार हुन् । नीति, विधि र प्रक्रियाबाटै जलथल वनसित जोडिएको जैविकता सुरक्षित हुनु पर्छ । वर्षमा एक दिन चिन्ता गरेर यस वनको जैविकता बच्ने छैन । यसैले सबैले सोच्नु पर्दछ कि जलथल वन दक्षिणी झापाको मात्र सम्पत्ति नभएर विश्व सम्पदा भएकाले संरक्षणका लागि हातमा हात दिन आवश्यक छ । कहीँ कतैबाट आर्थिक सहयोग मिल्छ कि भनेर एनजिओ आएनजिओ चलाउनेहरूको प्रवेशले जलथल वनको संरक्षण हुँदैन । यो वन कुनै व्यक्तिको गरिखाने भाँडोभन्दा पनि पर्यावरणको सुरक्षाका लागि संरक्षित हुनु पर्दछ । नीति तथा विधि मार्फत सरकारले श्रोत परिचालन गरेर यस वनको संरक्षणका लागि काम नगरेसम्म जलथल वनको संरक्षण वर्षमा एक दिन जैविक दिवस मनाउने दिन मात्र जङ्गल घुमेर रमाइलो गर्दै तस्बिर खिच्ने अवसर हुने छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १२ : १९ बजे