साफ यू–१७ च्याम्पियनसिप आजदेखि

भारतमा सुरुवाती मतगणना: नहुने भयो मोदीको चारसय पार, चुनावी सर्वेक्षणमा प्रश्न 

काठमाडौं । भारतको लोक सभा निर्वाचनको मत गणना चलिरहेको छ । सुरुआती रुझानमा नरेन्द्र मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ । तथापि चुनाव अघि मोदीले अगाडि सारेको चार सय  पारको नारामा धक्का देखिएको छ। त्यसै गरी भारतीय सञ्चार माध्यमले  प्रक्षेपण गरेको मत सर्वेक्षणमा समेत प्रश्न  उठेको छ। 

५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ । बिबिसी हिन्दीका अनुसार समाचार तयार पार्दासम्म भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले २७७ सिटमा अग्रता लिएको छ ।

अधिकांश सिटको मतगणना जारी रहँदा सबैभन्दा धेरै सिट रहेको र भाजपाको एकछत्र विजय हुँदै आएको उत्तर प्रदेशले मोदीको नारामा धक्का दिएको हो ।

यसअघि ८० मध्ये ७० भन्दा माथि जितेको बीजेपी प्रारम्भिक रुझानमा पछि परेको छ । भारतीय समयअनुसार सुरुवाती रुझानमा कांग्रेस र समाजवादी गठबन्धनले उत्तर प्रदेशमा ४२ सिटको अग्रता लिएको छ । त्यसमध्ये समाजवादी पार्टीले मात्र ३७ सीटमा अग्रता लिइरहेको छ । भाजपा ३६ सीटमा अगाडि छ ।

उत्तर प्रदेशको राय बरेली क्षेत्रबाट कांग्रेस नेता राहुल गान्धी धेरै मतान्तरका साथ अगाडि छन् भने यसअघि राहुललाई पराजित गरेकी भाजपाकी स्मृति इरानी अमेठीमा पछि परेकी छन् । यदि उत्तर प्रदेशको यहि रुझान कायम रहेमा र विहार तथा महाराष्ट्रमा उल्लेख्य प्रदर्शन गर्न नसकेमा भाजपाको बहुमत मुस्किल हुनेछ ।

त्यसो त पछिल्लो रुझानमा बीजेपी नेतृत्वको एनडीए गठबन्धन २७४ स्थानमा अगाडि रहँदा कांग्रेस नेतृत्वको गठबन्धन २२६ सीटमा अगाडि देखिएको छ । समाजवादी पार्टी ३३ सिट, वामपन्थी दल ९ सिट र आम आदमी पार्टी ५ सीटमा अगाडि छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १० : ५७ बजे