‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बाली र परिकार संरक्षण : खाद्य सङ्ग्रहालय प्रवर्द्धन

एलिजाबेथ टल्फरले फुड फर थट फिलसफि एण्ड फुड (सन् १९९६) मा लेख्छिन् “मानिस किन बाहिर खान्छन् ? छोटो उत्तर हो ‘आनन्दको लागि’ : खानाको आनन्द, वरिपरिको वातावरण र भेटघाटको लागि ।”

सामान्यता पर्यटन भनेको आफ्नो घरबाट वा आफू बसिरहेको परिवेशबाट बाहिर निस्किएर मनोरञ्जन र आनन्द लिने कुरा हो । खाद्य पर्यटन भनेको घर बाहिर खाने, पिउने र त्यसबाट आनन्दित हुने विषय नै हो । हाम्रो अर्थतन्त्रको महत्त्वपूर्ण आधार पर्यटन हो र खाद्य सङ्ग्रहालयले पर्यटनको विकासमा पनि मद्दत पुर्‍याउँछ भन्ने निष्कर्ष निकालिरहँदा टल्फरले मानिसको बाहिर खाने प्रवृत्तिबारे गरेको उक्त विश्लेषण उपर दृष्टि दिन सकिन्छ कि ? हामी जो बाहिर खान्छौँ उनको भनाइमा सहमत हुन्छौँ ? उनको दृष्टिकोणमा सहमति जनाउन सकिने मनग्यै ठाउँ छ । 

हाम्रो देशमा प्रचलित विविध खाद्य परिकारहरूको संरक्षण तथा सम्वद्र्धन गर्ने विषयलाई उजागर गर्न हालै काठमाडौँमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । नेपालको मौलिक रैथाने खाद्य संस्कृतिको खोज तथा अनुसन्धानमा सक्रिय सेफ प्रेमलाल घिसिङको पहलकदमीमा भएको यस कार्यक्रमका विविध आयामहरू छन् । यहाँ चर्चामा रहेको ‘चौरासी व्यञ्जन’ को विषयमा छलफल गर्दै विविध प्रकारका स्वादिष्ट र पौष्टिक परिकारहरू पस्किइएको यो विशिष्ट प्रकारको अभियान थियो । यो पङ्क्तिकारलाई पनि निमन्त्रणा आएकाले सहभागी हुने मौका मिल्यो र उक्त विषयमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूसँग विचारहरू आदान प्रदान गर्दै स्वादिष्ट भोजनको स्वाद लिने अवसर समेत प्राप्त भयो । 

चिया खानु भयो ? खाजा खानु भयो ? खाना खानु भयो ? जस्ता प्रश्नहरू हाम्रो समाजका दैनिक जीवनका क्रियाकलापहरूमा लगभग थेगोकै रूपमा रहेका छन् । चिरपरिचित मात्र होइन अपरिचित व्यक्तिसँग नै पनि एक छिन भलाकुसारी भएपछि उक्त कुरा सोध्ने चलन यहाँ छ । कसैले त्यस्तो कुरा सोधेन भने कस्तो सोभाउ नभएको मानिस रहेछ भनेर समेत भनिन्छ । अर्थात् खाने कुराले मानिसलाई एक आपसमा मित्रता बढाएर र सम्बन्ध जोडेर समाजलाई सुदृढ र पहिचानयुक्त बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । त्यसो त जुनसुकै समाजमा रहे पनि खाना सेवन गर्नु मानिसको दैनिक जीवनको अभिन्न कार्य बनेको हुन्छ । जीवनको अस्तित्वको लागि खाना र पानी अपरिहार्य भएकाले नै त्यसो हुन गएको हो । 

जहाँ जुन प्रकारको बाली उत्पादन हुन्छ र कृषि वैज्ञानिकको विश्लेषणले सिफारिस गर्दछ त्यहाँ सोही बमोजिमको खाद्य सङ्ग्रहालय बनाउनु लाभदायी र प्रभावकारी हुन्छ । 

यसरी हरेक दिन जुनसुकै समयमा पनि खाना खाए नखाएको विषयवस्तु मानिसहरूबीच आउने गर्दछ । खाद्य तथा पेय पदार्थको चर्चा यति धेरै हुन्छ, खाइन्छ तर पनि खानाको रक्षा तथा प्रवर्द्धनको कुरा किन आउँछ ? घरमा, होटलमा, सडकमा, सार्वजनिक स्थलमा, सञ्चार माध्यम, सामाजिक सञ्जाल जहाँसुकै सघन रूपमा कुरा उठ्ने विषय हुँदाहुँदै पनि किन खानेकुराको रक्षाको सन्दर्भ आउँछ त ? आधुनिकता, तीव्र भूमण्डलीकरण, जलवायु परिवर्तन र जनसङ्ख्या वृद्धि, द्वन्द्व, युद्ध, अन्य विभिन्न प्रकारका प्राकृतिक विपत्तिले गर्दा हाम्रा मौलिक खानाहरू सङ्कटमा परेकाले नै वास्तवमा खाद्य संरक्षणको लागि ध्यान पुर्‍याउनु परेको हो । अनावश्यक रूपमा खानाको संरक्षणको विषय उठेको होइन भन्ने कुरा एक जागरूक व्यक्तिले बुझ्नै पर्दछ । त्यसैले यस विषयले स्थान पाउन अति आवश्यक छ । 

व्यक्ति र समाजलाई जोडेर राष्ट्रलाई नै बलियो र समृद्ध बनाउने तथा सांस्कृतिक पहिचान अभिवृद्धि गर्ने खानाको महत्त्वलाई सबैले बुझ्नु जरुरी छ भन्ने सन्देश दिन उक्त कार्यक्रम आयोजना गरिएको कुरा सजिलै बुझ्न सकिन्थ्यो । 

यस क्षेत्रको स्वादिष्ट, पौष्टिक र स्वास्थ्यवद्र्धक खानाको महत्त्व दर्शाउन उक्त कार्यक्रम सफल भएको महसुस सहभागीहरूबीच भएको थियो । यसरी खाना भनेको संस्कृति र मानव समाजको अभिन्न अङ्गको रूपमा रहेको हुनाले यसका बारेमा मिमांसा हुनु स्वाभाविक नै थियो । 

प्रकृतिको सौन्दर्यपन, जीवजन्तु र चराचुरुङ्गीको चालचलन अवलोकन र खानपानबाट मान्छेले मनोरञ्जन लिने हो । 

मानव सभ्यता यो अवस्थासम्म आइपुग्नु मौलिक र रैथाने खानाको निर्णायक भूमिका रहेको छ । विभिन्न सांस्कृतिक सम्प्रदायले कस्तो खाना कसरी सेवन गर्ने भन्नेमा अलगअलग मत राखेको पाइए पनि स्वस्थ्य जीवन र वंश हस्तान्तरणको लागि खानाको अपरिहार्यताबारे प्रश्न खडा गरेको पाइँदैन । त्यसो त जति जति समय व्यतीत हुँदै छ खाना सांस्कृतिक, राजनीतिक र कानुनी विषय बनिरहेको छ । यति व्यापक आयाम लिएको खानाको विषयमा चर्चा हुनु, स्वाद लिन प्रयास गर्नु र सम्बद्र्धनका पहल हुनु स्वाभाविक हो । 

ऐतिहासिक सामाजिक परिवेश फेरबदल र प्रविधिमा परिवर्तन हुँदा खाद्य प्रणालीमा समेत नयाँपन आउने भएकाले खाद्यान्नको स्रोतको रूपमा रहेका वनस्पति तथा पशुपंक्षिको संरक्षण हुने हो कि होइन भन्ने चिन्ता र चासो बढिरहेको छ । दिनानुदिन विज्ञान तथा प्रविधिको विकास भइरहेकाले रासायनिक सम्मिश्रण गराएर कृत्रिम खानेकुरा उत्पादन गरी व्यापार व्यवसाय गर्ने परम्परा बढिरहेको छ । यसबाट मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव त परेको छ नै धर्तीको अमूल्य सम्पदा, उपहार र सम्पत्तिको रूपमा रहेको खाद्य बालीको संरक्षणमा समेत ठुलो सङ्कट पैदा भइरहेको छ ।  

यस पङ्क्तिकारले उक्त कार्यक्रममा बढ्दो जलवायु परिवर्तन तथा तीव्र बनेको भूमण्डलीकरण एवं व्यापारीकरणले मौलिक र रैथाने वनस्पति तथा पशुपंक्षीको रक्षा तथा विकासमा प्रतिकूल प्रभाव परिरहेकाले समुदायको सांस्कृतिक खाना खान पाउने मानव अधिकार हनन हुन सक्ने अवस्था उत्पन्न भइरहेकाले विभिन्न क्षेत्रमा खाद्य सङ्ग्रहालय स्थापना गर्न राज्य संयन्त्र नै क्रियाशील हुनुपर्ने दृष्टिकोण राखेको थियो । त्यसो त यस अभियानका लागि राज्य मात्र होइन नागरिक, सहकारी संस्था र निजी क्षेत्र सबै नै जिम्मेवार बन्नु पर्दछ । यस्तो धारणा उपर पर्यटन व्यवसायी, खानाका पारखी, सेफ, कृषि अनुसन्धानकर्ताहरू समेतको सकारात्मक धारणा रहेको पाइयो ।  यस प्रकारको सङ्ग्रहालयबाट मौलिक परिकार संरक्षण, खाद्य सुरक्षा प्रवर्द्धन तथा पर्यटन व्यवसाय विस्तार तथा सुदृढ तुल्याउन ठुलो टेवा पुग्नेमा विश्वास व्यक्त गरियो । 

त्यसो त एक अर्थमा भन्ने हो भने होटल, चमेना गृह, चिया पसल आदि नै पनि हाम्रा परम्परागत खाद्य सङ्ग्रहालयहरू हुन् । देशका विभिन्न भागमा खुलेका होमस्टे मौलिक खाद्य परिकार पस्किने जीवन्त ठाउँहरू बन्न सक्छन् । थकाली खाना तथा नेवारी खाना पाइने स्थान भनेर खोलिएका होटेलहरू आज स्वादिष्ट भोजन पस्किने भान्साहरू बनेका छन् । 

यस क्षेत्रमा मीठो र गुणस्तरीय खानाको बारेमा चर्चा गर्दा चौरासी व्यञ्जनको विषय आउने गर्दछ । यति धेरै किसिमका परिकारहरू उच्च घरानीयाँहरूले मात्र खान पाउने भएकाले यो सबैको पहिचानको विषय होइन भन्ने तर्क पनि एक थरीले गर्ने गर्दछन् । कसैले खान पाउने या नपाउने भन्ने विषय परिकारको दोष होइन त्यो त राज्यको वर्गीय चरित्रको प्रतिविम्ब हो । त्यो भनेको सामाजिक न्याय र मानव अधिकार प्रवर्द्धन गर्न नसकेको विषय हो । बाली र खानेकुरा वर्गीय हुन सक्दैन । यो त प्राकृतिक र सामाजिक विषय हो । अर्को कुरा चौरासी व्यञ्जन चौरासी प्रकारका परिकारको सङ्ख्या होइन बरु यो यहाँ धेरै किसिमका वनस्पति तथा पशुपंक्षीको विविधता भएकाले परिकारका निम्ति सम्पन्न छ भन्न खोजिएको हो भनेर विद्वानहरूले बताउने गरेको पनि पाइन्छ । एउटा व्यक्तिले एकै पटक चौरासी व्यञ्जन खाने भन्दा पनि यहाँ धेरै प्रकारका खानाका परिकार भएकाले स्वास्थ्यले साथ दिँदा र मिठो मानेर जसले खान्छ उसँग खानाका धेरै विकल्प हुन्छन् भन्न खोजिएको हो । 

अब खाद्य सङ्ग्रहालय कहाँ, कस्तो र कसरी बनाउने भन्ने विषयमा चर्चा गरौँ । नेपालमा कहीँ पनि अहिलेसम्म खाद्य सङ्ग्रहालय नभएकाले यस विषयमा जिज्ञासा हुनु स्वाभाविक हो । तर यसमा त्यति धेरै जटिलता, बोझ र झन्झटिलो हुन्छ भन्ने ठान्नु पनि आवश्यक छैन । समग्रमा यो अवधारणा भनेको सम्बन्धित क्षेत्रको मौलिक र रैथाने खानाको संरक्षण गर्ने योजना बनाउने नै हो । जहाँ जुन प्रकारको बाली उत्पादन हुन्छ र कृषि वैज्ञानिकको विश्लेषणले सिफारिस गर्दछ त्यहाँ सोही बमोजिमको खाद्य सङ्ग्रहालय बनाउनु लाभदायी र प्रभावकारी हुन्छ । 

हुन त एउटा उत्पादनलाई आधार बनाएर पनि सङ्ग्रहालय स्थापना गर्न सकिन्छ । जस्तो कि सबैभन्दा बढी चिया उत्पादन हुने क्षेत्र पूर्वका झापा र इलाममा चिया सङ्ग्रहालय खडा गर्न सकिन्छ । गुल्मीमा कफी सङ्ग्रहालय उपयोगी हुनसक्छ । यस्तो सङ्ग्रहालयसँग मनग्गे जमिन होस्, जहाँ जे सङ्ग्रहालय भनिएको छ त्यो बाली त्यहाँ लगाउन सकियोस्, बीउ उत्पादन गर्न सकियोस् र फलबाट त्यही ठाउँमा परिकारको मौलिक स्वाद पर्यटकलाई पस्किन सकियोस् । यो एउटा नमुना सङ्ग्रहालय हुन सक्छ । स्वदेशी तथा विदेशी पाहुना जो खानपिनका सौखिन छन् तिनका निम्ति यो आतिथ्यता प्रदान गर्ने महत्त्वपूर्ण स्थल हुन सक्दछ । यस्तो सङ्ग्रहालयलाई स्वादको शरीरक्रिया विज्ञानका फ्रान्सका चर्चित लेखक कानूनवेक्ता तथा राजनीतिज्ञ ब्रालाट साभरिन (१७५५–१८२६) ले “आफ्नो घरको छाना मुनी रहुञ्ज्यालसम्म पाहुनालाई मनोरञ्जन र खुसी दिनु सम्बन्धित व्यक्तिको जिम्मेवारी हो” भनेका कुरालाई मध्यनजर राख्दै विकास गरे त झन् सुनमा सुगन्ध नै हुन्छ । 

हुन त पुगिसरी आएपछि नै मानिस पर्यटक बनेर देश देशावर घुम्ने हो । प्रकृतिको सौन्दर्यपन, जीवजन्तु र चराचुरुङ्गीको चालचलन अवलोकन र खानपानबाट मान्छेले मनोरञ्जन लिने हो । चाहे जे होस् अरूको अधिकार हनन नगरी, अरूको मर्यादामा आँच नपुर्‍याई जीवनलाई आनन्दमय बनाउने मानिसहरू छन् र हुन्छन् । खाद्य पर्यटन प्रवर्द्धन गर्ने विषयवस्तु उठाइरहँदा एक खाले मानिसको उक्त किसिमको प्रवृत्ति र स्वभावलाई मध्यनजर राखेर खाद्य सङ्ग्रहालय बनाउन सकिन्छ । चर्चित लेखक टल्फरको आशय पनि यही हुन सक्छ । यस कार्यबाट एकातिर पर्यटनको विकास हुन्छ भने अर्कातिर बाली तथा परिकारको पनि संरक्षण हुन्छ । 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : ५७ बजे