‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विद्युत् आपूर्तिमा सुधार गर्न सब स्टेसनको स्तरोन्नति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वीरगन्ज क्षेत्रका औद्योगिक कोरिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सब स्टेसनको स्तरोन्नति गर्ने भएको छ । वीरगन्जसहित बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगहरूलाई विद्युत् आपूर्ति दिन चालु रहेका प्रसारण लाइन तथा सब स्टेसनको स्तरोन्नति भइरहेको प्राधिकरणले बताएको  छ । 

प्राधिकरणले वीरगन्ज औद्योगिक कोरिडोरको समस्या समाधान गर्न बाराको पथलैया सब स्टेसनदेखि परवानीपुरसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार बदलेर नयाँ राखिरहेको छ । डबल सर्किटमध्ये एउटा सर्किटबाट विद्युत् आपूर्ति बन्द गरी पुरानो कन्डक्टर निकाली उच्च क्षमताको राख्ने काम भइरहेको छ । 

एउटा सर्किटको काम सकिएपछि त्यसलाई सञ्चालन गरी दोस्रो सर्किटको काम सुरु हुनेछ । प्रसारण लाइनको स्तरोन्नति आगामी असारको पहिलो हप्ताभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको छ । पथलैया (पिलुवा)– परवानीपुर प्रसारण लाइनबाट करिब २ सय मेगावाट प्रवाह गर्न सकिनेमा कन्डक्टर बदलेपछि क्षमता बढेर झण्डै दोब्बर हुनेछ । हेटौँडा–पथलैया १३२ केभी प्रसारण लाइनको पनि कन्डक्टर बदलेर क्षमता दोम्बर बनाइसकिएको छ । यसले गर्दा परवानीपुरतर्फ थप विद्युत् प्रवाहका लागि सहज हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरी कन्डक्टर बदल्ने कार्य जतिसक्दो छिट्टो सम्पन्न गर्न निर्माण व्यवसायी र आयोजना व्यवस्थापनलाई आग्रह गरे । घिसिङले भने,‘प्रसारण लाइनको क्षमता स्तरोन्नतिको कामका लागि एउटा सर्किट बन्द गर्नुपर्दा वीरगन्ज क्षेत्रमा विद्युत् आपूर्तिको समस्या भएको गुनासो आइरहेको छ, अर्कोतर्फ पथलैयाबाट थप विद्युत् पठाउन नसक्दा भारतको रक्सौलबाट विद्युत् आयात गरिरहनु परेको छ, त्यसैले यस्तो संवेदनशील अवस्थामा गम्भीर भएर तोकिएकै समयभन्दा अगाडि काम सक्नुपर्छ ।’  

घिसिङले अब पथलैया–  परवानीपुर प्रसारण लाइनको क्षमता हालकोभन्दा दोब्बर हुनुहुँदा त्यस क्षेत्रमा खपत गरी बढी भएको वर्षा यामको विद्युत् रक्सौलतर्फ निर्यात गर्न सकिने बताए । वीरगन्ज क्षेत्रका उद्योगहरूले १३२ केभी प्रसारण लाइनबाटै विद्युत् आपूर्ति लिन सक्ने गरी उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसनहरु निर्माणाधीन रहेको उनले उल्लेख गरे । 

वीरगन्ज क्षेत्रका उद्योगहरूलाई लक्षित गरी बाराको प्रसौनी र वीरगन्जमा गरी १३२ केभीका दुईवटा सब स्टेसन निर्माणाधीन छन् । प्रसौनी सब स्टेसन र वीरगन्ज सब स्टेसन जोडी विद्युत् आपूर्ति गर्न १३२ प्रसारण लाइन निर्माणाधीन छ । यसै गरी, वीरगन्ज क्षेत्रको विद्युतको बढ्दो औद्योगिक माग पूर्ति गर्न परवानीपुरबाट पोखरियासम्म १३२ केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ । पोखरियामा सब स्टेसन निर्माणाधीन छ । परवानीपुर– पोखरिया करिब २१ किलोमिटर प्रसारण लाइनको डिजाइन तयार भइसकेको छ । 

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत बाराको निजगढमा ४०० केभी सब स्टेसन निर्माण गरी उक्त लाइनलाई  रमौली हुँदै पोखरियामा पु¥याउने गरी अर्को आयोजना सुरु गरिएको छ । प्रस्तावित उक्त ४०० केभी प्रसारण लाइन आयोजनाको लम्बाइ ६५ किलोमिटर हुने छ । निजगढ, रमौली र पोखरियामा गरी ४०० केभीका तीनवटा सब स्टेसन निर्माण गरिने छ । निजगढ–रमौली–पोखरिया प्रसारण लाइनको सर्वे सम्पन्न भइसकेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेको पनि प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ५ : २६ बजे