‘एउटै नाउरको सिकार गर्न २३ लाख’

भारतमा लोकसभा निर्वाचन : एक्जिट पोल भन्छ तेस्रोपटक पनि मोदीकै सरकार

नयाँदिल्ली  । शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै भारतमा १८ औं लोकसभाको चुनाव सम्पन्न भएको छ । डेढ महिना लगाएर केही केन्द्र शासितसहित २८ राज्यमा चुनाव पूरा भएको हो । १९ अप्रिलदेखि प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको छ ।   भारतमा सातौं र अन्तिम चरणको लोक सभा चुनाव सकिएसँगै एक्जिट पोलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए) गठबन्धनले तेस्रोपटक चुनाव जित्ने प्रक्षेपण गरेका छन्।

शनिबार सातौं तथा अन्तिम चरणको मतदान सकिएलगत्तै एक्जिट पोलहरूले चुनावी नतिजाको प्रक्षेपण सार्वजनिक गरेका हुन् । अधिकांश ‘एक्जिट पोल’ ले प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ह्याट्रिक’ गर्ने प्रक्षेपण गरेका छन् । २०१४ र २०१९ को चुनावमा अत्यधिक बहुमतले भारतीय जनता पार्टीले चुनाव जितेको थियो । मोदी लगातार १० वर्षदेखि प्रधानमन्त्री छन् ।

आधा दर्जन बढी ‘एक्जिट पोल’ को नतिजा अनुसार  लगभग सबै एक्जिट पोलहरूले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले ३५० भन्दामाथि सिट जित्ने प्रक्षेपण गरेका छन्।

त्यस्तै कंग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले १३० सिट वरिपरि जित्ने प्रक्षेपण गरिएको छ।

लोकसभामा बहुमतका लागि २ सय ७२ सिट चाहिन्छ । एक्जिट पोलहरूले भाजपा नेतृत्वको गठबन्धनलाई त्यो भन्दा धेरै सिट जित्ने प्रक्षेपण गरेका छन् ।

विपक्षी गठबन्धन इन्डिया गठबन्धनलाई प्रायः एक्जिट पोलले १ सय २५ देखि १ सय ६० सिट मात्रै दिएको छ । न्युज नेसन टीभी, साम जकिबात, इन्डिया न्युज, रिपब्लिक भारत, रिपब्लिक टीभीलगायतले आफ्नो एक्जिट पोलमा एनडीएलाई न्यूनतम ३ सय ४२ देखि ३ सय ९२ सिट सम्म दिएका छन् । विपक्षी गठबन्धनलाई १ सय २५ देखि १ सय ६९ सम्म सिट दिएका छन् ।

एक्जिट पोलको नतिजा सधैं सही ठहरिन्छ भन्ने हुँदैन । २०१९ को लोकसभा चुनावमा प्रायजसो एक्जिट पोलको नतिजा र वास्तविक परिणाम करिब करिब मिलेको थियो । तर, २००४ को चुनावमा अधिकांश एक्जिट पोलले अटलबिहारी वाजपेयीको नेतृत्वमा भाजपाले पुनः जित्ने दाबी गरेको थियो । तर, त्यसको ठीकविपरीत कंग्रेस नेतृत्वको विपक्षी गठबन्धनले जित हात पारेको थियो ।

भाजपालाई कंग्रेस नेतृत्वको विपक्षी ‘इन्डिया’ गठबन्धनले देशैभर चुनौती दिएको छ । कंग्रेस नेता राहुल गान्धीले विपक्षी गठबन्धनको अगुवाइ गरी चुनावभरि देश दौडाहा गरेका थिए । समाजवादी पार्टीका नेता अखिलेश यादव, आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालदेखि राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवलगायत कैयौं विपक्षी नेताहरू भाजपालाई हराउन चुनावी मैदानमा डटेका थिए ।

पश्चिम बंगालमा ममता बनर्जीदेखि महाराष्ट्रमा उद्धव ठाकरे र शरद यादव समेतका नेताहरू भाजपालाई चुनौती दिन चुनावी अभियानमा सक्रिय थिए । चुनाव प्रारम्भसँगै भाजपाले चार सय पारको नारा दिएको थियो । तर, विपक्षी गठबन्धन बलियो हुँदै गएपछि उक्त नारा कमजोर हुँदै गएको विश्लेषण गरिएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ७ : २१ बजे