साफ यू–१७ च्याम्पियनसिप आजदेखि

समान पेन्सनसहितका माग लिएर भूपू ब्रिटिस गोर्खा सर्वोच्चमा

काठमाडौं । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले भूपू ब्रिटिस गोर्खा सैनिकहरुको माग सम्बोधनको लागि सर्वोच्च अदालतमा रिट निवेदन गरेको छ ।

काठमाडौंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा भूपू ब्रिटिस गोर्खाहरुको त्रिपक्षीय सन्धिको मर्म र भावअनुसार समान पेन्सन र अन्य मागहरुको सम्बोधन नभएको भन्दै रिट निवेदन दर्ता गरेको समितिका सचिव होमबहादुर किरात सुनुवारको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘भूपू ब्रिटिस गोर्खाहरुमाथि भएको विभेदको अन्त्य गरी जबसम्म उहाँहरुको त्रिपक्षीय सन्धिको मर्म र भावअनुसार समान पेन्सन र अन्य मागहरुको सम्बोधन हुँदैन र १९४७ को त्रिपक्षीय सन्धिलाई समय सापेक्षित परिमार्जन हुँदैन तबसम्म प्रचलनमा रहेको ब्रिटिस सेनाको लागि गरिने भर्ती स्थगन या रोकिनु पर्छ भनेर गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले नेपालको सर्वोच्च अदालतमा रिट निवेदन गर्न बाध्य भएका छौँ ।’

उहाँले रिट निवेदन गोर्खा समुदायको हितका लागि मात्र नभएर समग्रमा नेपाल र नेपालीको स्वाभिमान, प्रतिष्ठा र समानताको महत्वपूर्ण विषय भएकाले अदालतको सही न्याय दिने अपेक्षा गरेको बताउनुभयो । पेन्सनको मुख्य मागमा ब्रिटिस सरकारले आलटाल गरिरहेको अवस्थामा नेपाल सरकार मूकदर्शक भएर बसेको पनि उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘ब्रिटिस गोर्खा भूपूहरु विगत ३३ वर्षदेखि समानता, मानवधिकार, राष्ट्रियता आदिको मुद्दा लिएर संघर्षरत छन् । दुई–दुई पटकको आमरण अनशन गर्दा पनि पेन्सनको मुख्य मागमा ब्रिटिस सरकार आलटाल गरिरहेको छ । यसबारे नेपाल सरकार उसको अघि निरीह रहेको उसको हठीपनाको अगाडि मूकदर्शक भएर बसेको छ ।’

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ५ : १५ बजे