दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

लैङ्गिक समानताका लागि कानूनकाे व्यवहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताका लागि समान धारणा र बुझाई आवश्यक रहेको बताउनुभएको छ ।

एमाले जनसङ्गठन समन्वय संयन्त्रले आज काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठान भवनमा आयोजना गरेको राष्ट्रिय महिला भेलामा पूर्व राष्ट्रपति भण्डारीले राज्यका महत्त्वपूर्ण निकायमा एक तिहाइ महिला सहभागिता पूर्ण उपलब्धि नभएकाले थप उपलब्धिका लागि प्रयासहरू जारी राख्नुपर्ने बताउनुभयो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानूनले दिएको अधिकारहरु व्यवहारिक रुपमा कार्यान्वयनमा अझै चुनौतीहरु रहेको बताउनु भयाे । भेलामा उहाँले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएपनि समाजमा विद्यामान पितृसत्तात्मक सोचले व्यवहारिक रुपमा कार्यान्वयनमा अझै नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘समाजमा आधा हिस्सा ओगटेका महिलाहरुकालागि एक तिहाइ सहभागिताको पूर्ण उपलब्धी भने भएन त्यस कारण प्राप्त उपलब्धीहरुको रक्षा गर्दै थप उपलब्धीहरुकालागि हामीले हाम्रा प्रयासहरुलाई जारी राख्नु पर्छ । महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित भएपनि हाम्रो समाजमा विद्यामान पितृसत्तात्मक सोच, गरिबी, अशिक्षा, अन्धविश्वास र कुप्रथाका कारण संविधान र कानूनले दिएको अधिकारहरुको व्यवहारिक कार्यान्वयनमा अझै चुनौतीहरु बाँकी नै रहेका छन् ।’

उहाँले सकारात्मक परिवर्तन, सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ मुलुकलाई अघि बढाउने दायित्व सबैको काँधमा रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान नेपालको संविधानले जनताका आधारभूत अधिकारहरुलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको सन्दर्भमा अब संविधानमा आधारित मौलिक हकको व्यवहारिक कार्यान्वयन मार्फत जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन, सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ मुलुकलाई अघि बढाउने दायित्व रहेको छ ।’

मुलुकको व्यापार घाटालाई कम गर्नुपर्ने भन्दै त्यसको लागि कृषि, वन पैदावार र जडिबुटीमा आधारित उत्पादनको वृद्धि, निर्यात प्रवद्र्धन, पर्यटन प्रवर्धन र जलविद्युतको स्वदेशी खपतमा जोड दिनुपर्ने उहाँको भनाइ छ । 

उहाँले जलवायु परिवर्तन, खानेपानी, जनस्वास्थ्यका समस्या समाधानका लागि पार्टी सम्बद्ध जनसङ्गठनको अग्रसरता आवश्यक रहेको पनि बताउनुभयो ।

भेलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक न्यायसहितको समाज निर्माणमा महिला आन्दोलनको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

 

अध्यक्ष ओलीले समाजको व्यवस्थापन र मानव सभ्यताको विकासमा माहिलाहरूको योगदान रहेको भन्नुहुँदै महिला सहभागितालाई अझ सुढृड तथा स्पष्टताका साथ निर्णायक शक्तिको रूपमा विकास गर्न एमाले सशक्त ढङ्गले अघि बढिरहेको बताउनुभयो ।

 

महिला हक अधिकारका लागि एमालेले अग्रस्थानमा सङ्घर्ष गर्दै आएको भन्नुहुँदै अध्यक्ष ओलीले सामाजिक उत्थान र परिवर्तनको साझा आन्दोलन महिला आन्दोलन हुनुपर्ने पनि बताउनुभयो ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ७ : १६ बजे