एमालेको जागरणसभामा जे देखियो…

हाम्रो बुद्धिको बिर्को खोल्ने शिक्षा खै ?

“देशको अवस्था बदल्ने हो भने हामीले भ्रमको पछाडि कुदने प्रवृत्ति र परदेश पलायनमा रमाउने संस्कृति छोड्न सक्नुपर्छ।”

 

“युद्धमा माली भन्दा बगैँचामा योद्धा हुनु राम्रो हो।” (जापनिज उखान) भारतमा दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालको असलीयत उजागर हुन एक दशक लाग्यो भने नेपालमा नयाँ र स्वतन्त्रको आवरणमा उदाएका बहर (बालेन, हर्क र रबी) हरू अर्थात् लोकप्रियतावादको नियत उजागर हुन आधा दशक पनि नलाग्ने भएको छ। वैश्विक उत्तरको सबै खालको सहयोगमा केजरीवाल उदाएका थिए भने हाम्रा लोकप्रियतावादीहरूको सहयोग र आदर्शको श्रोत स्पष्ट खुलेको छैन। तर पनि भारतका जनताले न केजरीवाललाई चिन्न सकेका छन् न त नेपालका जनताले बहरहरूलाई चिन्न सकेको अवस्था छ।

 

जनताको मनस्थिति र देशको परिस्थिति सकारात्मक नबन्नुका पछाडिको मुख्य कारणहरूमा हामी केन्द्रित हुन सकिरहेका छैनौँ। हाम्रा प्राज्ञिक वर्गहरूले पनि आफ्ना क्षमता र योग्यताहरूको निर्भीक भएर स्वतन्त्र रूपमा प्रयोग गर्न सकिरहेका छैनन्। उनीहरू शिक्षा तथा सामाजिक व्यवस्था, प्रशासनिक, आर्थिक र न्यायिक संरचनाका समस्या र आवश्यकताहरूका बारेमा चिन्तन गर्दैनन् र खुला रूपमा बोल्दैनन्। सत्यका पक्षमा उभिँदैनन्। यो लेखकको मनमा प्रश्नहरू उठेको छ, प्राज्ञिकहरू किन मौन छन् ?

 

हाम्रो सामाजिक मनोविज्ञान भ्रम, अराजकता र स्वछन्दतामा रमाएर प्रगति खोज्दै छ। यो मनोविज्ञानले लोकतान्त्रिक अधिकारको दुरुपयोग गरिरहेको छ र सत्यको पक्षमा उभिन कञ्जुस्याईं गर्दैछ। यसको प्रत्यक्ष प्रमाण उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सत्ताको मात र कान्तिपुर समूहका मालिक कैलाश सिरोहियाको गिरफ्तारी पछिको क्रिया र प्रतिक्रियालाई लिन सकिन्छ। यति बेला हामीले थाहा हुनुपर्छ, “नेतामा वैचारिक आदर्श र लोकतन्त्रको चरित्रअनुरूपको स्पष्ट नीति र असल नैतिकता अनि प्रगतिशील लोकतान्त्रिक सोच र व्यवहार पनि हुनुपर्छ।”

देश समृद्ध बनाउने मुख्य आधार युवा सोच, श्रोत, श्रम र समय हो भने त्यसअनुसारको देशको शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणाली र नीति नै हो। तर हामी नागरिक निर्यात गरेर वस्तु आयातमा रमाइरहेका छौँ। यी विषयमा हाम्रा प्राज्ञिकहरूको ध्यान पुगेको छैन अनि हामीहरू पनि भ्रमपूर्ण भाष्यमा अलमलिएर परिस्थितिलाई अराजकतातर्फ उन्मुख गराउन सहयोगी हुँदैछौं। त्यसैले समय मै हाम्रा कमजोरीहरू चिनौँ र सुधारौँ। देशको दिगो भविष्य निर्माणका लागि सहयोगी र सक्रिय हौँ।

 

हिजो कम्न्युनिष्ट र माओवादीका नाममा द्वन्द्वको खेती गराउन र हत्याहिंसा मच्चाउन चाणक्य रूपमा र मुख्य सहयोगीमा रहेकाहरू आज नेपालको राजनीति कम्न्युनिष्ट मुक्त बनाउनु पर्छ भन्दै सामाजिक सञ्जाल र सञ्चारहरूमा असरल्ल पोखिएका छन्। तिनलाई आज यसो भन्न अराउनेहरूले नै हिजो तिनलाई हतियार बोकाएका थिए भन्न डराउनु पर्दैन। तैपनि हाम्रा प्राज्ञिकहरू डराएका छन्। किन ?  मान्छेका सोच र चरित्रलाई लिएर कन्फुसियसले भनेको कुरा आज हाम्रो सन्दर्भमा धेरै मिल्छ। उनले भनेका थिए, “ठुलो चित्त भएको मान्छे आफैँमा कडा हुन्छ, सानो चित्त भएको मान्छे अरूका लागि गाह्रो हुन्छ।”

 

यति बेला हामीले बुझ्नुपर्छ, “सकारात्मक मनस्थितिले सकारात्मक अनुभूति र जीवन दिन्छ।” यो लेखक विश्वास गर्छ, आम नागरिकको मनस्थिति सकारात्मक र व्यवहार रचनात्मक बनाउनका लागि शिक्षा व्यवस्थामा आमूल परिवर्तन र सामाजिक अभ्यासहरूको पुनरावलोकन अनि आर्थिक, प्रशासनिक र न्यायिक संरचनामा संरचनात्मक सुधार अनिवार्य भएको छ। यो अनिवार्यता नेतृत्वलाई बुझाउनका लागि हाम्रा प्राज्ञिकहरूले अग्रसरता देखाइरहेका छैनन्। लेखकको मनमा प्रश्न उठेको छ, यस्तो किन ?

 

प्रमाणपत्रमा धेरै पढेको देखिने नेताले देश बनाउँछ भन्ने विश्वासमा परेर हिजो डा। बाबुराम भट्टराईको पछि लागेर हामीले देशको लोकतान्त्रिकरणको प्रक्रियालाई कमजोर मात्र बनाएनौँ दरबार हत्याकाण्डमा राजा विरेन्द्रको वंशनास भएको पनि देख्यौँ। आज फेरि त्यस्तै वा त्यो भन्दा ठुलो प्रकृतिको गल्ती गर्न डा। स्वर्णिम वाग्लेलाई अघि सारिरहेका छौँ। फरक यत्ति हो कि हिजो बाबुरामको नेता प्रचण्ड थिए भने आज स्वर्णिमका नेता रबीलाई बनाइएको छ। अहिले प्रचण्ड प्रधानमन्त्री त रवि गृहमन्त्रीका रूपमा छन्। सत्य के हो भने प्रचण्ड र रविका विगत र वर्तमानले नेपालको भविष्य सङ्कट उन्मुख बनाउँदै छ। तर हामी यो सत्य बुझ्न र बुझाउन आनाकानी गरिरहेका छौँ। 

 

अहिले हाम्रो राजनीति तदर्थवादमा चल्न थालेको छ, राजनीतिमा न विचार छ, न त नेतृत्वमा वैचारिक र चारित्रिक स्पष्टता र स्वच्छता।फेरि जनता पनि त्यही तदर्थवादमा आफ्नो र देशको भविष्य देख्दै छ र खोज्दै छ।

 

हामी जनताको यो कमजोरीलाई बाह्य शक्ति ९वैश्विक नर्थ० ले उपयोग गरिरहेको घाम जत्तिकै छर्लङ्ग छ। तैपनि हामी हाम्रो आनीबानी र व्यवहारमा सुधार गर्न शिक्षा व्यवस्थाको चरित्र र आर्थिक, प्रशासनिक र न्यायिक संरचनामा संरचनात्मक परिवर्तन गर्न चाहिरहेका छैनौँ। अब प्रश्न उठाउनु पर्ने भएको छ, हाम्रो बुद्धिको बिर्को कहिले खुल्छ र कसरी खुल्छ ? त्यस्तो शिक्षा कहिले लागु हुन्छ ?  हामी सम्भावना र अवसर नभएर होइन ती सम्भावना र अवसरको सदुपयोग गर्न नसकेर पछाडि परिरहेको सत्य स्विकार्न किन ढिला गरिरहेका छौँ ? न हामी विगतबाट सिक्छौँ न त भविष्यप्रति नै चिन्तित छौँ, किन ?  प्रश्नहरू उठाउने र त्यसको सही उत्तर खोज्नुपर्ने भएको छ। आजको आवश्यकता पनि यही हो। 

अन्तमा “हाम्रो जीवनमा गलत बाटो, गलत परिस्थिति र गलत अनुभव जरुरी हुन्छ किनकि यसले नै हामीलाई हाम्रा लागि के सही र के गलत हो भनेर सिकाउँछ।” हाम्रो नमिठो विगतले हामीलाई धेरै कुरा सिकाएको छ। हामीलाई शैक्षिक, सामाजिक, आर्थिक, प्रशासनिक र न्यायिक व्यवस्थाको कमजोरीहरू बुझ्नलाई पनि सघाएको छ। त्यसैले आजको मुख्य प्रश्न अथवा मुद्दा हाम्रो बुद्धिको बिर्को खोल्ने शिक्षा तथा सामाजिक व्यवस्था खै ? 

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ५ : ३२ बजे