दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

किमाथांकासहित १४ नाका पुनः सञ्चालनमा

संखुवासभा । संखुवासभाको किमाथांकासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोना संक्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएको संयुक्त रूपमा घोषण गर्नुभयो ।

नाका सञ्चालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा संखुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत नाका सञ्चालनमा आएको औपचारिक रूपमा घोषणा गरिएको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठका अनुसार सात नाका आजैदेखि सञ्चालनमा आएका छन् भने अन्य सात नाका चाँडै खुला हुने छन् । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि किमाथांकासहित १४ वटा व्यापारिक नाका खुलाउन सफल भएको उहाँले बताउनुभयो ।

गत वर्ष चैतमा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएअनुसार नै नाका पुनः सञ्चालन गरिएको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।

उद्घाटन समारोहमा भाग लिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल चीनको छेन्ताङ पुगेको थियो ।

किमाथांका नाका खुलेपछि भोटखोलावासी उत्साहित भएका छन् । विगतमा यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । तर नाका बन्द भएपछि उनीहरुलाई समस्या भएको थियो ।

किमाथांकामा २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो । सशस्त्र द्वन्द्वपछि भोटखोलाको हटियास्थित सीमा भन्सार कार्यालय २०५७ सालमा सदरमुकाम खाँदबारी सारिएको थियो । भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र वितरण गरिएको छ । किमाथांका नाका सदरमुकामदेखि एक सय ६२ किलोमिटर टाढा पर्छ ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ८ : १२ बजे