दुल्लु – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले २० प्रतिशत सहुलियतमा जेठ २४ गतेदेखि चामल बिक्री गर्न थालेको छ । सदरमुकामस्थित कार्यालयमा सहुलियतको चामल लिनेको सङ्ख्या बढेको छ । यसग्अघि चाडपर्वका बेला मात्र छुट दिदैआएको खाद्यले सरकारले निषेधाज्ञा अवधिभर चामलमा २० प्रतिशत छुट दिएपछि चामल लिनेको घुइँचो लाग्ने गरेको पाइएको छ ।
खाद्य संस्थानले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई ठुलो राहत मिलेको छ । सस्तो दरमा चामल पाउँदा निकै राहत मिलेको रने बादीले बताउनुभयो । “दिनभरी मजदुरी गरेर पेट पाल्थ्यौ, अहिले लकडाउनले सबै काम बन्द भयो, बजारको चामल किनेर खान धौ धौ परेको बेला सस्तो चामल पाउँदा निकै राहत भएको छ”, बादीले खुसी व्यक्त गर्नुभयो । बादी समुदायलाई मात्र होइन मजदुरी गर्ने, गरिब, असहाय र विपन्न परिवारलाई निकै राहत मिलेको छ । सहुलियतको चामल लिन दैलेख सदरमुकाम नारायण नगरपालिका, नौमुले गाँउपालिका, भगवतीमाई गाँउपालिका, दुल्लु नगरपालिका, भैरवीगाँउपालिका, महाबुगाँउपालिका लगायतबाट सर्वसाधारण आउन थालेका छन । सहुलियत दरको चामल लिन अहिले भिड लाग्ने गरेको कार्यालय प्रमुख रण बहादुर ऐरीले बताउनुभयो । जेठ २४ देखि शुक्रबारसम्म दैलेखमा सय क्विन्टल चामल बिक्री भैसकेको र बिक्रि हुने क्रम बढेको ऐरीले जानकारी दिनुभयो । कोरोना महामारीको बेला नागरिकलाई छुटले विशेष राहत मिलेको छ । सोमवार, बुधबार र बिहीबार बिहान १० बजेदेखि ३ बजे सम्मका लागि बिक्री समय तोकिएको छ । खाद्यले प्रति परिवार एक जनालाई सम्बन्धीत व्यक्तिको नागरिकताको आधारमा २५ किलो चामल दिने गरेको छ । दैनिक ५० देखि ६० जना सर्वसाधारण चामल लिन आउने गरेको उहाँको भनाइ छ ।
रासस
प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार २ : १६ बजे
प्रतिक्रिया