‘नेशनल डे कन्सर्ट’ सम्पन्न

म्यानमारमा बेपत्ता बीबीसीका समाचारदाता अपहरणमुक्त

म्यानमार – अपहरणमा पर्नु भएका म्यानमारका लागि बीबीसीका समाचारदाता आउङ थुरा अपहरणमुक्त हुनुभएको छ ।

राजधानीस्थीत अदालत अगाडि समाचार संकलन कार्य गरिरहेका बेला सादा पोशाकमा आएका व्यक्तिहरुले उहाँलाई शुक्रबार अपरहण गरेका थिए ।

म्यानमारमा सेनाले चालेको अप्रजातान्त्रिक कदमका विरुद्धमा आन्दोलन चर्किरहेका बेला बेपत्ता हुनुभएका पत्रकार सम्पर्कमा आउनु भएको बीबीसीका अधिकारीहरूले सोमबार जनाएका छन् ।

रिहा भएका पत्रकारका बारेमा र घटनाका बारेमा विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता हुनुभएको थियो । उहाँलाई भने अझै पनि अपहरणमुक्त नगरिएको समाचारमा जनाइएको छ ।

गत फेब्रुअरी १ मा भएको सैन्य विद्रोहपछिको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म दुई हजार ६०० जना गिरफ्तार भएका छन् ।

त्यसैगरी अरु २५० भन्दा बढीको मृत्यु भएको पनि विभिन्न निकायको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कतिपय अधिकारकर्मीहरूले भने आन्दोलनका क्रममा मारिएकाहरूको सङ्ख्या अझै धेरै हुनसक्ने दावी पनि गरेका छन् ।

सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ ।

सैन्य विद्रोह भएपछि म्यानमारमा पत्रकार मात्रै ४० जना पक्राउ परिसकेको अधिकारीहरूले जनाएका छन् । सेनाले पाँच सञ्चारमाध्यमको अनुमति पनि खारेज गरेको छ ।

रासस/एएफपी

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ११ : ३६ बजे