सुनको मूल्यमा नयाँ कीर्तिमान

जिफन्टको नाम अनधिकृत रुपमा प्रयोग नगर्न चेतावनी 

काठमाडौं – नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले राजनीतिक पार्टीका केहि व्यक्तिले अवर, सुखभोग र राजकीय अधिकार प्राप्तीका लागि मर्यादा, विधि, पद्दती, अनुशासन एवम् स्थापित प्रणालीको उपहास गरेको भन्दै सोही उच्छृंखल गतिविधि अन्तर्गत ट्रेड यूनियनका सदस्यहरुलाई समेत भ्रमित बनाउन प्रयास गरिएको भन्दै त्यसको निन्दा गरेको छ । केहि दिन अगाडी विभिन्न भातृ संगठनको नाममा जिफन्टको नाम समेत अनधिकृत रुपमा राखेर विज्ञप्ती प्रकाशित गरिएपछि जिफन्टले त्यसमा असहमति जनाएको हो ।   

जिफन्टका महासचिव जनक चौधरीले एक प्रेस विज्ञप्ती जारी गर्दै जिफन्टको संस्थागत धारणा तथा मान्यता विपरित गतिविधि गर्ने, त्यस्ता गतिविधिमा संलग्न हुने, सदस्यहरूलाई भड्काउने, उक्साउने, महासंघको प्रतिनिधित्व गर्दै हस्ताक्षर गर्ने छुट कसैलाई नभएको स्पष्ट पार्नुभएको छ । २०७८ जेठ २० गते राजनीतिक अभिष्ट पूरा गर्न तल्लीनहरूको सहयोगी बन्दै जारी गरिएको लान्छना, कुण्ठा, आवेग र पूर्वाग्रहबाट ग्रसित दुरासयपूर्ण गालीगलौजले भरिएको कथित प्रेस विज्ञप्तीप्रति आफ्नो संगठनको पूर्ण रुपमा विमती रहेको जिफन्टले जनाएको छ ।

ब्यक्तिगत लाभ, पद र प्रतिष्ठा प्राप्तिको लागि गलत र भ्रामक सूचना सम्प्रेषण गरेर राजनीतिक वृतमा अराजकता सिर्जना गर्ने र आम मानिसलाई दिग्भ्रमित बनाएर समाजमा निराशा उत्पन्न गर्ने मनसायले गरिएका गतिविधिको प्रतिवाद गर्न महासचिव चौधरीले जिफन्टका सबै कमिटी, सदस्य तथा शुभचिन्तकहरूलाई आव्हान गर्नुभएको छ । 

विज्ञप्तीमा भनिएको छ, “जिफन्ट आफ्नो राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलिय जनवादको सिद्धान्त अनुरुप अगाडि बढीरहेको छ र, वैचारिक सामीप्यता रहेको राजनीतिक दल नेकपा (एमाले)सँग हातेमालो गर्दै आएको छ । साथै जुनसुकै राजनीतिक दलको सरकार भएपनि गुण र दोषको आधारमा समर्थन र आलोचना गर्ने मान्यतामा जिफन्ट अडिग छ । र, यही मान्यताको आधारमा राम्रो कामको प्रशंसा र खराव कुराको विरोध गर्दै आएको छ ।” 

कोभिड १९ को महामारीबाट प्रताडित श्रमिक तथा आम नागरिकको जीवन रक्षाको लागि हरसम्भव सहयोग गर्न तथा समाजमा गलत सूचना प्रवाह गर्ने प्रवृति नियन्त्रणका लागि कमिटी प्रणाली अनुसार एकतावद्ध भएर परिचालित हुन सबै कमिटी, सदस्य तथा शुभचिन्तकहरूलाई जिफन्टले अनुरोध गरेको छ । जिफन्टले महामारीका कारण जीवन गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा उपचारत रहेकाहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

जिफन्ट सदस्य संख्याका हिसावले नेपालको सवैभन्दा ठूलो ट्रेड यूनियन महासंघ हो ।   
 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  २ : ०६ बजे