मार्फामा बढ्दै पर्यटक

अटो एम्बुलेन्सको दुरुपयोग

हेटौँडा –  निषेधाज्ञामा कोभिड बिरामीलाई ओसारपसार गर्न सञ्चालनमा ल्याइएको अटोएम्बुलेन्सले सर्वसाधारण मानिस बोक्न थालेपछि स्थानीय प्रशासनले कारवाही गर्न थालेको छ । कोभिड–१९ का बिरामी बोक्ने गरी सञ्चालनमा आएका अटो एम्बुलेन्सले पनि दुरुपयोग गरी अन्य मानिस बोक्न थालेपछि जिल्ला प्रशासनले त्यस्ता अटोलाई कारवाही गरेको हो । 

यसैक्रममा जिल्ला प्रशासन कार्यालयले हेटौँडा–१९ वडाका निम्ति अटो एम्बुलेन्सको रूपमा अनुमति दिएको ना २ ह १०५९ नम्बरको अटो र चालकलाई शनिवार प्रहरीले नियन्त्रणमा लिएको छ । अनुगमन टोलीले हेटौँडा–१० बसपार्कमा खाद्यान्न र बिरामी नभएका मानिसहरू बोकेको अवस्थामा सो अटोलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटा नेतृत्वको संयुक्त अनुगमनबाट केही अटो एम्बुलेन्सले दुरुपयोग गरेको पाइएकाले कारवाही गरिएको टोलीले जनाएको छ ।

यसैबीच शनिबार मकवानपुरका विभिन्न स्थानबाट निषेधाज्ञा उल्लङ्घन गर्ने विभिन्न प्रकृतिका ४१ सवारी साधनलाई कारवाही गरेको प्रहरीले जनाएको छ । सवारी साधनलाई जनही रु दुई हजारदेखि पाँच हजारका दरले जरिवाना गरिएको प्रहरीले जनाएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम निषेधाज्ञा उल्लङघन गर्ने विभिन्न सवारी साधनलाई कारवाही हुँदै आएको छ । 

थप पाँच सङ्क्रमितको मृत्यु

प्रदेशको हेटौँडा अस्पतालमा उपचारका क्रममा थप पाँच कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । शनिबार पछिल्लो २४ घण्टामा हेटौँडा अस्पातलमा उपचारत पाँच सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुर जिल्लाभित्रका तीन र जिल्लाबाहिरका दुई जना रहेको कार्यालयले जनाएको छ । जिल्लाभित्रका थाहा नगरपालिका–१ का ५५ वर्षीय पुरुष, हेटौँडा–४ का ५६ वर्षीय पुरुष, हेटौँडा–५ का७२ वर्षीय पुरुष रहेका छन् । यसैगरी बाराका ४२ वर्षीय र सिन्धुलीका ६६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै मकवानपुरमा मृत्यु हुनेको सङ्ख्या १०३ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ११ : ३२ बजे