दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

सबैतिर छ पार्टी तर कहिं छैन पार्टी भन्ने अवस्थालाई चिर्ने काम गर्छु : महासचिव पोखरेल

काठमाडौं । निवर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू अब एमाले महासचिवका रुपमा पार्टीको काममा केन्द्रित हुने बताउनुभएको छ । सरकारबाट बाहिरिएपछि आइतवार सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै पोखरेलले पार्टी कसरी सञ्चालन गर्ने भन्ने बारे आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरिसकेको र अध्यक्षका आशयलाई आफूले बुझ्ने प्रयत्न गर्दै आएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, सबैतिर छ पार्टी तर कहिं पनि छैन पार्टी जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती छ । र, यो बदल्ने अभियान संचालन गर्ने संस्थाको महासचिव भएर मैले भूमिका खेल्नुपर्ने छ ।

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको वक्तव्य यस्तो छ :
म २०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म (२ वर्ष ७ महिना १४ दिन ) नेपाल सरकारको रक्षा मन्त्री र तत्पश्चात २०७८ जेठ २१ गतेसम्म (७ महिना २३ दिन ) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारीमा रहें । शुरूमा अर्थात् २०७४ फागुन १४ गतेदेखि २०७५ जेठ १७ गतेसम्म रक्षा मन्त्रीको रूपमा र त्यसपछि उपप्रधानमन्त्रीको हैसियतले रक्षा मन्त्रीका रूपमा जम्मा ३ वर्ष ३ महिना ७ दिन म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा रहें । यस अवधिलाई मैले मेरो राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको छु । यस अवधिमा मलाई आफ्नो जिम्मेवारी पुरा गर्न सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गदर्शन गरिरहनु भयो । मन्त्री साथीहरूले निरन्तर सहकार्यका लागि सहृदयता प्रदर्शन गरिरहनु भयो । नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधान सेनापति लगायत सकल दर्जाका साथीहरू,  मन्त्रालयका सचिवजीहरू तथा अन्य सम्पूर्ण कर्मचारी साथीहरूले गर्नुभएको सहयोगलाई म कहिल्यै विर्सन सक्तिन । मलाई समर्थन गर्नुहुनेर माया गर्नुहुने आम जनता खासगरी निर्वाचन क्षेत्रका मतदाताहरूले सद्भाव र समर्थन जनाइरहनु भयो । उहाँहरूले गर्नुभएको सहयोग र सद्भावलाई म कहिल्यै विर्सने छैन । उहाँहरू सबैप्रति म कृतकृतज्ञ छु । 

यसबीच सरकारमा रहेकाबेला मबाट र मेरो नेतृत्वमा भएका सबै कामहरू सम्वन्धित ठाउँमा  औपचारिक अभिलेखहरूमा सुरक्षित रहेका छन् । तिनले आजमात्र नभएर आवश्यक पर्दा पछि पछिसम्म पनि सबैलाई यथार्थ बताइरहने कुरामा मैले विश्वास लिएको छु ।  यसबीच कोभिड संक्रमणको महामारीका समयमा मैले उच्चस्तरीय समन्वय समिति र कोभिड १९ संकट व्यवस्थापन केन्द्र मा संयोजकका हिसावले भूमिका खेल्ने काम गरें । त्यसबेलाको जटिलतासित गाँसिएर उठेकार उठाइएका कुराहरूलाई म कहिल्यै बिर्सन सक्तिन । यसबीच मैले कोभिड संक्रमितहरूको उपचारका लागि सरकारको औपचारिक निर्णय अनुसार सात महिनाको पारिश्रमिक ४,५६, ४००। कोभिड कोषमा बुझाएको छु ।  सुविधा प्राप्त गरेवापत राज्यलाई बुझाउनु पर्ने सबै किसिमका दायित्वहरू पुरा गरेको छु ।  मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्वन्धित ठाउँमा आइतवार (२३ गते जेठमा) बुझाइसकेको छु ।   यस अवधिमा मैले मेरो प्रिय पार्टीको कोषमा ६,०५,०००।( बुझाएको छु । पुल्चोकस्थित मन्त्री क्वार्टर २२ गते शनिवार नै खाली गरिसकेको छु । 

साथीहरू सबैलाई थाहा छ, म नेकपा ( एमाले) को महाधिवेशनबाट निर्वाचित महासचिव तर महान र ऐतिहासिक भनिएको एमाले–माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको  जिम्मेवारीमा  रहिन  तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले माओवादी पार्टीहरूको पूर्व स्थिति कायम रहन पुगेका कारण म  पुन : एमालेको महासचिव रहन पुगेको छु ।  यो अवस्थामा मैले बुझेको छु म पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ ।  पार्टीका आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसित यस सम्वन्धमा कुराहरू भएका छन् । उहाँले मलाई परिस्थितिको गम्भीरता बारे बताउँदै आउनुभएको पनि छ र  मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु।         
अहिले कतिपयले भन्ने गरेजस्तो सबैतिर छ पार्टी तर कहिं पनि छैन पार्टी जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती छ । र, यो बदल्ने अभियान संचालन गर्ने संस्थाको महासचिव भएर मैले भूमिका खेल्नुपर्ने छ । दुर्भाग्य नै हो यतिवेला पार्टीभित्रको  एकतामा पनि संकट देखापरेको छ । यसबाट पार्टीलाई जोगाउनुपर्ने आवश्यकता छ । चुनौतीहरू थुप्रै किसिमका छन् । राष्ट्रिय राजनीतिमा अस्थिरताका झन्झावातका आशंकाले मानिसहरूमा त्रास सृजना गराउन खोजिदैछ । आर्थिक विकास र सम्वृद्धिको अभियानलाई कमजोर पार्ने , राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई कमजोर बनाउने, मुलुकलाई अराकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई विथोल्ने आदि दुस्प्रयत्नहरू हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्ररबाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ ।  यस्तोबेलामा सिंगो राष्ट्रले र आम नेपाली जनताले नेकपा (एमाले) प्रति सुदृढ र जनआधारित नेकपा (एमाले) प्रति  गरेको कुरालाई बुझ्न सकिन्छ । यो आवश्यकतालाई पुरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने  छ । यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक मित्रहरूलाई  गोलवन्द हुन हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ११ : ०८ बजे