आज जेठ २१ गते । नेपालमा औपचारिक रूपमा जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस । यो दिवस वि.स.२०६३ देखि मनाउन सुरु गरिएको हो । नेपालमा गणतन्त्र स्थापना पछिको यो महत्वपूर्ण घोषणा हो । जातपात तथा छुवाछूत प्रथा सामन्ती प्रथा मानिन्छ र गणतान्त्रिक राजनीतिक व्यवस्था स्थापनासँगै जातीय विभेद तथा छुवाछूत उन्मूलनको घोषणा हुनु वास्तवमा समतामुखी समाज निर्माणका दृष्टिले साह्रै महत्वपूर्ण विषय हो । यसरी नै अन्य विभेदहरू पनि क्रमशः उन्मूलन हुँदैजाने विश्वास बलियो हुने गरी नीति, विधि र अभ्यास अघि बढ्दै जानेछ । तर, घोषणाहरू घोषणामा मात्र सीमित नरहून् भन्नेतर्फ सबैको ध्यान जानु जरूरी छ ।
नेपाल विविधताको धनी मुलुक हो । यहाँको विविधता सर्वांगीण छ । जातीय, भौगोलिक, भाषिक, धार्मिक, सांस्कृतिक आदि विविधता हाम्रो गौरवका विषय हुन् भने यिनै विषय विभेदका कारण समेत रहिरहनु दुःखपूर्ण पक्ष हो । विविधताको स्च्छन्द गीत गाइरहँदा विभेदको पीडाले सताइनु परेको विरोधाभाष कहिलेसम्म रहने होला ? नेपाली समाजमा जातीय विभेद छ भनिरहन पर्दैन । कुनै विषय कुनै कालखण्डमा स्थापित भयो भने त्यसको अस्तित्व चिरकालपर्यन्त रहिरहन्छ । अहिले अस्तित्वमा रहिरहेका पद्धतिहरू कुनै समयको आवश्यकताले विकसित भएका हुन् । यस्तो आवश्यकता कहिले खास शक्तिशालीहरूको रह्यो होला र कहिले समग्र समाजको पनि रहेको हुनसक्दछ । पद्धति जस्तोसुकै होस् सहजै स्थापित भएको हुँदैन र बनेका पद्धतिहरू पनि सहजै विस्थापित हुँदैनन् । विभेदका रूपमा होस् वा पहिचानको रूपमा, जातीय विषय संसारका सबै ठाउँमा छन् । जातीय विविधता र विभेद फरक विषय हुन् । विविधता प्राकृतिक हो भने विभेद सामाजिक हो । विभेद कृत्रिम हुने हुँदा यस विषयलाई फरक दृष्टिकोण सहित बुझ्न आवश्यक छ ।
नेपालमा जातीय विषय अपहेलनापरक विभेदका रूपमा देखिंदै आएको तथ्य सर्वविदितै छ । पछिल्लो समयमा जातीय विभेद अन्त्य गर्ने विषय राजनीतिक आन्दोलनको माध्यमबाट उठाइयो, उठाइँदै आएको छ र यसको व्यवस्थापन पनि राजनीतिक तवरमा नै हुँदैआएको छ । यसबाट के स्पष्ट हुन आउँछ भने जातीय वा अन्य विभेदको मूलकारण ‘राजनीति’ हो । गण, गोत्र, कबिलातन्त्र होस्, उपनिवेशी शासन होस् वा राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि राजनीतिक व्यवस्था भएको समाजमा विभेद छ भने विभेदको जिम्मेवारी र विभेदमुक्त छ भने त्यसको श्रेय तत्कालिन राजनीति र राजनीतिक व्यवस्थाले लिनपर्ने हुन्छ । यहाँ जातीय विभेदको विषयसँगै ध्यान दिनुपर्ने कुरा के हो भने कामप्रतिको दृष्टिकोण कस्तो हुने भन्ने हो । समाजका मानिसहरूले गर्ने कामका प्रकृति धेरै छन् । सरसफाई, भारवहन, खेतीपाती, पशुपालन, अध्यापन, आजापूजा, व्यापार, सेवा, उद्योग सञ्चालन, चिकित्सा, परामर्श, प्रशासन सञ्चालन, सुरक्षा, निर्माण….आदि अनेकौं कामका क्षेत्र छन् । यी सबै काम समाजको व्यवस्थापनका लागि अत्यावश्यक भएर नै निर्धारण गरिएका हुन् । मानिसहरूले यिनै कामहरूलाई आफ्ना आजीविकाको क्षेत्र बनाएका छन् । यी सबैथरि काममा सबैको समान रूची नहुन पनि सक्दछ, तथापि आजीविकाका लागि गर्न आवश्यक भएर गर्दै—गरिंदै आएको अवस्था छ । थोरै मानिसहरूले मात्र रूची अनुसारकै काम गरेर जीविका चलाएका होलान् । धेरै मानिसको आवश्यकताको लागि सिर्जिएका आजीविका अपहेलना र अपमानको, विभेदको विषय बनाइनु किमार्थ राम्रो होइन । यी सबै प्रकारका काम गर्नेहरूप्रति समाजले सम्मानजनक दृष्टिकोण राख्नु र सम्मानजनक व्यवहार तथा सम्वोधन गर्न आवश्यक छ ।
तर नेपाली समाजमा जतिजति मानिस ‘सचेत’ हुँदै आयो, त्यतित्यति छिद्रान्वेषी र पूर्वाग्रही हुँदैआएको देखिन्छ । आजीविकाको पूर्ति तथा योग्यता—क्षमताको कारणले रोजिएका पेशागत निरन्तरतालाई धर्मसँग, धर्मशास्त्रसँग, वेदविद्यासँग जोडेर हेरिने गरेको छ । राजनीतिले समाधान गर्न मिल्ने र सकिने विषयलाई धर्मसँग, धर्मशास्त्रसँग, वेदविद्यासँग जोड्नुको कारण के हो ? के साँच्चिकै ‘धर्म’ बुझेर हो ? के साँच्चिकै ‘धर्मशास्त्र’को ज्ञान भएरै हो ? के ‘वेद’ पढेर नै हो ? यस्तो हो भन्ने आधार देखिंदैन । यथार्थमा भन्ने हो भने यस्तो हुनुको कारण बढ्दो भनिएको ‘चेतना’को दुरुपयोग या लहैलहैमा लाग्ने अन्धविश्वास नै हो । जातिमा आधारित विभेद तथा छुवाछूतको प्रसंग उपस्थित हुँदा धर्म र संस्कृतिको उल्लेख हुने गर्दछ । शोषण गर्नेहरूले धर्म, वेद, पुराण आदिलाई नै देखाएर विभेद गरे, उत्पीडन गरे । तर, समग्रता त्यो मात्र होइन, धर्म, वेद, पुराणमा विभेदका विरुद्ध तथा जातीय उत्थान र उत्कर्षका विषय पनि उत्तिकै जोडदार विषय रहेका छन् ।
‘समन्यायिक र समृद्ध समाजका लागि जाति उत्कर्ष’ शीर्षकमा एउटा लेख अघि सारेको थिएँ । केही वैदिक तथा शास्त्रीय विषय त्यसमा उल्लेख गरेको छु । उत्कर्षको आवश्यकता त छँदैछ, यसका लागि सकारात्मक पहलका रूपमा संविधानमा उल्लेख भएको छ र यस सम्बन्धी कानुनी व्यवस्था पनि छ । छुवाछूतप्रथा कानुनतः दण्डनीय विषय भइसकेको छ । हाम्रा प्राचीन धर्मग्रन्थहरूमा जाति उत्कर्षका धेरै उदाहरणहरू छन् । नीतिशास्त्रहरूमध्येको एउटा महत्वपूर्ण ग्रन्थ ‘शुक्रनीति’मा ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र र म्लेच्छ गरी पाँच प्रकारका मानिस रहेको कुरा उल्लेख गरिएको छ । यो जाति पतनको एउटा प्रसंग हो ।
यस्तो उल्लेख छ :
त्यक्तस्वधर्माचरणा निर्घृणाः परपीडकाः । चण्डाश्च हिंसका नित्यं म्लेच्छास्तेद्यविवेकिनः ।।
अर्थात् आफ्नो धर्म त्यागेका, लाजघिन नभएका, अर्कालाई दुःख दिने, क्रोधी, हिंसक स्वभाव भएका र अविवेकीहरूलाई सधैँ म्लेच्छ भन्ने गरिएको छ ।
यसबाट के बुझ्न सकिन्छ भने जाति भनेको कुनैलाई भएकोबाट खसाउन सकिन्छ, खस्न सक्दछ भने उत्थान हुन, उत्कर्ष हुन पनि सक्दछ । जस्तैः जात्युत्कर्षाद् द्विजो ज्ञेयोः सप्तमे पञ्चमेद्रपि वा । अर्थात्, जाति उन्नत हुँदै गएमा सात वा पाँच पुस्तापछि द्विज नै हुन्छ । माथि उल्लेख गरिएका सन्दर्भहरू प्राचीन ग्रन्थहरूमा जन्मको आधारमा चल्ने वंशपरम्परा वा पहिचान त हुन्थ्यो, तर नकारात्मक विभेद हुँदैनथ्यो । संस्कृत ग्रन्थहरूमा यस्ता अनेकौँ उदाहरणहरू छन् । यी ग्रन्थहरूमा ‘धर्म’ लेखिंदा अहिले प्रचलनमा रहेका धर्महरूको अस्तित्व नै थिएन । त्यसैले हिन्दूधर्मले या त्यससँग सम्बन्धित सबै प्रावधानहरूले जातिभेद÷जातीय विभेदको पक्षपोषण गर्दैनन् ।
कहीं कतै त्यस्ता वचन—प्रमाणहरू भेटिन्छन्, तर ती त्यतिबेलाका लागि, त्यतिबेलाको चेतनासापेक्ष, त्यतिबेलाको शासन व्यवस्थाका नियमहरू हुन् भनेर बुझ्न आवश्यक छ । इतिहासको अध्ययन गर्दा, शास्त्रहरूको अध्ययन गर्दा भेटिने सबै कुरा वर्तमान सुहाउँदो नै हुन्छ र हुनुपर्छ या इतिहासका विरुद्ध बोलेर मात्रै साध्य प्राप्त हुन्छ भन्ने ठान्नु बुद्धिमानी ठहर्दैन । नयाँ समाज, नयाँ नेपाल, नयाँ संसार निर्माण गर्न इतिहासका कुनै कालखण्डका पूर्ववर्ती प्रावधानहरूको विरोध होइन, नयाँ र सकारात्मक एवं सिर्जनशील सोच आवश्यक छ ।
जाति उत्कर्षबारे वेदमा व्यवस्था रहेको छ । तर, हामीले त्यसमा भएका राम्रा, आवश्यक, सान्दर्भिक, औचित्यपूर्ण प्रसंगतिर ध्यान नदिएर कमजोर, अनावश्यक, असान्दर्भिक, यतिबेला औचित्य नभएका प्रसंगहरू टिपेर दन्तबझान गर्न थाल्दछौँ । समाजमा जातजाति रहेपछि राम्रो वा नराम्रो कर्ममा संलग्नता पनि जातजातिकै रहन्छ । व्यवस्था जोगाउनमा होस् वा व्यवस्था फेर्नेमा होस् जातजातिकै भूमिका हुन्छ । दुर्घटना भए पनि जातजातिकै मानिस मर्ने हो । मूल विषय जातिगत आधारमा विभेद, आक्रमण, हत्याजस्ता विषय घृणित हुन् । यससँगै हामीले मानवअधिकारका हिसाबले, नागरिक अधिकारका हिसाबले पनि हेर्नुपर्ने हुन्छ । मैले कुनै जातिको पक्ष नलिईकन विचार गर्दा मानव अधिकार र नागरिक अधिकारका हिसाबले वर्तमान घटनामा कसैले ध्यान पु¥याएको पाइनँ । दुई वयस्क÷बालिगको जीवनसाथी छान्ने स्वतन्त्रता हनन् हुनु सामाजिक मुद्दा होइन र ? समाजमा घट्ने कुनै पनि घटना अकस्मात् घट्दैन । सामाजिक सचेतना र अभियानमा यी विषयमा पनि ध्यान दिनुपर्ने होला नि ? घटनाकै मात्र कुरा गर्ने हो भने कहिलेकाहीँ यस्ता घटनाको सिकार दलितबाट गैरदलित पनि भएका छन् ।
समाजका अधिकांशतः मानिसहरूले जात—थर हेरेर, राजनीतिक संलग्नता हेरेर, पेसागत नाफा—नोक्सान हेरेर विषयवस्तु हेर्ने र धारणा बनाउने गरेको पाइन्छ । यसो गर्दा सही निष्कर्षमा पुग्न साह्रै गाह्रो पर्दछ । चिन्ता कसले के भन्ने होइन, चिन्ता त सहज सामाजिक व्यवस्थापन, मैत्रीपूर्ण सहजीवन, विभेद रहित समाज बनाउन कसरी भन्ने हो । हामी आफूलाई २१ औँ शताब्दीको सभ्य मानिस भन्न रुचाउँछौँ । सभ्य हुनु भनेको के हो ? सभ्य हुनु भनेको अरुसँग मिल्न सक्नु हो, अरुसँग मिलेर हिँड्न सक्नु हो । समूह, समुदायलाई अस्पृश्य बनाउनु सभ्यता हुनै सक्दैन । खास अवस्था, कारण र स्थितिमा छुने वा नछुने हुन सक्दछ, तर कुनै पेसाजीवी वा पेसाजीवीका सन्तान—दरसन्तानलाई अछूत बनाउने विषय सभ्यताको विषय हुन सक्दैन, यस्तो असभ्यता हो ।
सकारात्मक होस् वा नकारात्मक, विषयका दुवै पक्ष वा बहुआयामिकतामा ध्यान दिन आवश्यक ठान्दछु । मन परेजति सही, मन नपरेजति गलत भन्ने पनि हुँदैन । विषयलाई देश, काल, परिस्थिति सापेक्ष बुझ्नुपर्छ । यसरी बुझ्नुपर्छ, तर किन त ? किनभने संसारको परिवर्तनशीलताको परिक्षेत्र विद्यमान अवस्था बुझ्नुमा मात्र सीमित राख्नु हुँदैन, देश, काल, परिस्थितिसापेक्ष नीति, विधि, प्रक्रियामा सुधार वा परिवर्तन गर्नु आवश्यक हुन्छ । यसका तीन वटा अवस्था देखिन्छ : जोगाउनुपर्ने, हटाउनुपर्ने र नयाँ बनाउनुपर्ने । देश, काल, परिस्थितिले सबै जस्ताको तस्तै जोगाउन, पूरै हटाउन र सबै नयाँ बनाउने अनुमति दिँदैन । केही जोगाउने, केही हटाउने र केही नयाँ बनाउने गरी अघि बढ्न उचित हुन्छ । यसो गर्न यस सम्बन्धी पुराना प्रावधानहरू अध्ययन गर्नुपर्ने हुन्छ । पुराना पनि सधै एकनास छैन । तिनीहरुमा पनि निरन्तर परिवर्तन छ । त्यस्ता परिवर्तन कहिले न्यायिक रहे भने कहिले अन्यायी भए । वेदमा पनि सबै उस्तै छैन । सबैभन्दा प्राचीन मानिएको ऋग्वेदमा उच्चता प्राप्तिको विषय छ । हरेकलाई यथास्थितिबाट माथि उठ्ने अधिकार छ । त्यस्तो प्रयत्न गरेको देखिन्छ ।
सामान्यतया धर्मको अर्थ धारण गर्नु वा धारणा बनाउनु, कुनै धारणामा सहमत हुनु, धारणालाई अवलम्बन गर्नु भन्ने हुन्छ । अर्को, धर्म भनेको कुनै वस्तुको गुण वा स्वभाव हो । अझ अर्को, निर्वाह गर्नैपर्ने दायित्व वा पूरा गर्नैपर्ने कर्तव्य हो । अझै अर्को ईश्वरप्रतिको निष्ठा वा भक्ति हो । यी कुनै पनि अर्थमा धर्म विभेदकारी देखिँदैन । जातीय शोषण र थिचोमिचो, अमानवीय विभेद यही धर्म मान्नेहरुले गरिरहेका होलान्, तर धर्मले जातपात, थिचोमिचो, विभेद गर्न अह्राएको छैन । पहिले यस्तो अपराध गर्नेहरुलाई अपराध अनुसारको प्रायश्चित्त, दण्ड—सजाय र नर्कवासको प्रावधान रहेको पढ्न पाइन्छ । तर, अहिले कुनै व्यक्ति, समाज, समुदायलाई अपराध गर्नबाट रोक्ने, अपराध गर्नेलाई दण्ड—सजाय गर्ने काम राज्यको हो । परम्परा र संस्कृति साझा हुन्, धर्म आस्था—निष्ठा, विश्वास, मान्यता र भक्तिको विषय भएकोले समाजका धेरैले माने पनि यो व्यक्तिगत विषय हो । कुनै एउटा हिन्दुले गरेको वा गर्ने व्यवहारका आधारमा सिंगो हिन्दु धर्मलाई लाञ्छित र निन्दा गर्नु अर्को असंगत बिडम्बना हुन्छ ।
यो समय मानिसहरूले परम्परागत पेसा, पुख्र्यौली वासस्थान, वंशगत उत्तराधिकारको सम्पत्तिभन्दा माथि उठेर विकास गरिरहेको समय हो । हरेक देश, क्षेत्र, जाति, समुदायका मानिसहरू नयाँ परिवेशको खोजीमा रुची राखेर अघि बढेको देखिँदैछ । यसलाई नराम्रो भन्न मिल्दैन, हुँदैन । तर, यस्तो स्थितिले मौलिकताका केही जोगाउनु पर्ने विषयहरू विलुप्त हुने, सबै विषयमा परनिर्भर वा परमुखापेक्षी भइने, आफ्ना सम्पूर्ण चिनारी गुम्ने र अरुको दास भइने हुन सक्छ । त्यसैले, हाम्रो जीवन व्यवस्थापन र विकासमा जगेर्ना गनुपर्ने पक्षहरू पत्तो लगाई संरक्षण गर्ने, सुधार वा परिमार्जन गर्ने र आफ्नै मौलिकतामा टेकेर फड्को मार्ने काम गर्नु बुद्धिमानी हुनेछ । हाम्रो परम्परा, धर्म र संस्कृतिका सबै त्याज्य छैनन् र जस्ताको तस्तै अन्धानुकरण गर्नु त हुँदैन नै ।
वेद एकै जनाले एकै आसनमा बसेर लेखिएको होइन । यसलाई संसारभरिका मानिसहरूको महाधिवेशन गरेर पारित गरिएको पनि होइन । त्यसमा सबैले एउटै विषयमा बोलेका पनि छैनन् । फरक—फरकका फरक—फरक राय छन्, विरोधाभाष छन् । तर आधारभूत रूपमा सृष्टि, प्रकृति, कर्म, विकास, परिवार, अनुशासनका विषय त्यहाँ छन् । मानिस जातिले, मानिस जातिका लागि बहुआयामिक प्रवन्धका रूपरेखा कोरेका छन् । हामीले तिनीहरूबाट सिक्न सकिने र सिक्नपर्ने धेरै विषय छन् । कहीँबाट सिक्नु भनेको अन्धानुकरण गर्नु होइन ।
प्राचीन कालमा कामका आधारमा वर्ण विभाजन गर्दा पनि उँचोनीचो गरिएको थिएन । आपूm प्रतिबद्ध भएको वा तोकिएको काम गर्नु स्वाभाविक हो । यो वर्ण व्यवस्था जन्मको आधारमा निर्धारित गरिएको पनि होइन । सिल्पी, सेवी, पराक्रमी, वणिक र विद्वान यी पाँच वेदमा देखिने कार्यविभाजन हो । यी सबै एउटै परिवारमा पनि हुन्थे । यिनका पुर्खालाई ‘गोत्र प्रवर्तक ऋषि’ मानिन्न्छ । एउटै कुल—गोत्रमा बहुव्यवसायी त्यतिबेला पनि थिए । उनीहरू जात र थरमा नभएर गोत्रको परिचयमा थिए । हामीकहाँ पनि ‘दलित’ र ‘गैरदलित’ सगोत्री छौँ । सगोत्री हुनु भनेको एकै कुल—वंशका हुनु हो । एकै कुल—वंशमा कोही छुत र कोही अछुत भन्न मिल्छ ? मिल्दैन । बरु अब हामीले पनि थरका ठाउँमा गोत्रको प्रचलन चलाउने कि ?
मेरो विचारमा त दलनलाई अनिवार्य बनाएको, स्थायित्व दिइएको यो शब्द हटाउनुपर्छ । यस शब्दका ठाउँमा कुन—कुन पेसाजीवीलाई यो शब्द प्रयुक्त छ, ती पेसा नै उल्लेख हुनु पर्दछ । थर, जाति उँचनीच हुनुहुँदैन; पेसा, कर्म नकारात्मक विभेदका माध्यम बन्न हुँदैन । तर यो रहिरह्यो र यही नै विभेदको माध्यम र कारण बनिरह्यो । समाजमा पनि अब गोत्र प्रणाली चलाउनु उपयुुक्त हुन्छ, मौद्गल्य, आत्रेय, भरद्वाज, उपमन्यु, काश्यप, धनञ्जय, कौडिन्य, गर्ग, गौतम, अत्रि, घृतकौशिक, माण्डव्य, पाराशर, शाण्डिल्य, अगस्ति, अङ्गिरस, वत्स, वसिष्ठ, कपिल…. आदि ४९ वटा छन्।् । यसबाट सबैको पुख्र्यौली, वंश परम्पराले समानता बोध गराउने छ र प्राचीन मूल मान्यताले पनि समर्थन गर्दछ । सिल्पी, पराक्रमी, सेवी, विद्वान र वणिक पाँचै वर्णका पुर्खा समान मानिएका छन् ।
जतिबेला औद्योगिक विकास थिएन, त्यति बेलादेखि अहिले ‘दलित’ भनिएका सिल्पी समुदायले गरेका खेतीपाती र घर प्रयोगका औजार, शस्त्रास्त्र, मूर्ति, परिधान, वाद्यवादन आदि अनेकौँ महत्वपूर्ण विषयमा पु¥याएको र पु¥याउँदै आएको योगदानलाई कम आँकिनु हुँदैन । परम्परादेखि त्यस्तो पेसा अपनाउँदै आएकाहरूलाई क्षतिपूर्ति दिने वैज्ञानिक व्यवस्था गरिनु पर्दछ । ती समुदायलाई शिक्षाबाट वञ्चित पारिएको क्षतिपूर्तिको व्यवस्था पनि हुनु पर्दछ । वेद—शास्त्रका प्रमाणकै आधारमा जाति उत्कर्ष गर्नु पर्दछ । केही वर्ष अघिसम्म नेपालमा प्रचलित ‘छत्तीस वर्ण’को विषय पनि हिन्दु धर्म शास्त्रीय विषय होइन नि ! अब थर सुनेर विभेद गर्ने होइन, गोत्र थाहा पाएर अँगाल्ने परिपाटी बसाल्नु पर्दछ ।
मन्दिरमा रहेको समस्याको समाधान चर्चमा खोजेर पाइन्छ र ? पाइँदैन । नेपालमा रहेको सामाजिक समस्या समाधान गर्न अमेरिका, चीन, जापान, युरोपीय समाजको अध्ययन गरेर हुँदैन । अध्ययन गर्नु, जान्नु बुझ्नुको अर्थ होला, तर समाधान हुँदैन । जरामा समस्या छ भने टुप्पा काटछाँट गरेर हुँदैन । समस्या जहाँ छ, समाधान त्यहीँ खोजिनु पर्दछ । भनिन्छ नि— समस्या एक्लै आउँदैन, समाधान सहित आउँछ । नेपाली समाजमा जातीय विभेद छ । जातजाति धेरै हुनु राम्रो हो, जातीय विभेद हुनु राम्रो होइन । हाम्रो समाज जातिपातिमा आधारित समाज हो । हाम्रो संविधानमा नै हामीले यो कुरा स्वीकारेका छौँ र संविधानमा नै ‘बहुजातीय’ लेखिएको छ । तर के यसको तात्पर्य जातीय विभेद उचित भनिएको हो त ? होइन ।
हामी जुनसुकै जाति, धर्म, संस्कृतिका अनुयायी भए पनि यतिबेला नेपाल रहेको भूगोलका धर्म, जाति, संस्कृति नै हाम्रा संस्कृति हुन् । यहाँका धर्म यहीँको प्रकृतिसापेक्ष छ । यहाँ संस्कृति यहाँको समाजसापेक्ष हुनुपर्छ । यहाँको सभ्यता यहीँको चेतनाको सापेक्ष हुन्छ । यी सबैले प्रकृतिको अनिवार्यता, मानवजीवनको सहजता, निरन्तर परिष्कारको अन्तर्वस्तु वहन गर्नु पर्दछ । सुरुमा हाम्रा पुर्खाले यसै गरेका हुन् ।
सामाजिक अवस्था जस्तोसुकै रहेको होस्, सबैले एकै प्रकारको काम गर्दा जनशक्तिको दुरुपयोग हुन्थ्यो । काम बाँडेर गर्दा काममा विविध आउँथ्यो, परिमाण र परिणाम दुबैमा वृद्धि हुनसक्थ्यो । त्यसैले कामका क्षेत्र बढाउँदै, कार्यविभाजन गर्दै धेरै क्षेत्रको विकासमा आपूmलाई विस्तार गरे । खोज—अनुसन्धान—ज्ञानको क्षेत्र, समूह÷समुदाय र उपलब्धिहरूको सुरक्षाको क्षेत्र, उत्पादन र वितरणको क्षेत्र, शिल्पकलाको क्षेत्र, सेवाको क्षेत्र गरी पाँच प्रकारका क्षेत्र विभाजन गरे । यी सबै विभाजनलाई सानो—ठूलो भनिएन । सबैलाई व्यवसायको दर्जा दिइयो । अहिले केही विरोधाभास सुनिन्छ, एकातिर वेदादि रचना वाहियात र काल्पनिक हुन् भन्ने र अर्कोतिर जातीय विभेदका लागि वेदादि रचनाहरूलाई नै दोषारोपण गर्ने । यदि वेदादि नै विभेदका जरा हुन् भने त्यही बुझेर छलफल गरौँ र विभेदमुक्त समाज बनाउन लागौँ । यसको लागि वेदलाई तिरष्कार गर्न भएन । यसलाई हामी सबैको साझा निधिको रूपमा स्वीकार गरौँ ।
पहिले जात बनाएर कार्यविभाजन भएको होइन, आवश्यकताको आधारमा काम विभाजन गरिएको हो भन्ने यथेष्ट प्रमाण फेला पर्दछन् । केही उदाहरण यस प्रकार छन् —
यस्यामन्नं व्रीहियवौ यस्या इमाः पञ्चकृष्टयः ।
भूम्यै पर्जन्यपत्न्यै नमोऽस्तुवर्षमेदसे ।। अर्थात्, जसमा धान, गहुँ, जौ आदि अन्न प्रशस्त हुन्छ, जहाँ पाँच किसिमका (विद्वान्, वीर, व्यापारी, शिल्पी र सेवक) मानिस आनन्दले रहन्छन्, जुन भूमिमा निश्चित समयमा झरी परेर अन्न फल्छ, जसलाई झरीले पोसेको छ, त्यस मातृभूमिलाई हाम्रो नमस्कार छ । (अथर्ववेद)
अर्को विरोधाभासको कारण हो, जाति र वर्ण बीचको भेद थाहा नहुनु । वेद—पुराणहरूमा ठाउँ ठाउँमा ब्रह्माको सृष्टिका अपरिवर्तनीय चार जातको प्रसंग आउँछ । सामाजिक वर्णभेद कामका आधारमा गरिएको व्यवस्था हो । यसलाई कहीँ ब्राह्मण, क्ष्त्रि, वैश्य, शूद्र भनिएको छ भने माथि नै उल्लेख गरिसकिएको छ कि पेसा—व्यवसायका क्षेत्र पाँच थिए । यी चार या पाँच जति भए पनि सामाजिक वर्णभेद वा वर्णविभाजन हो । सृष्टिका अपरिवर्तनीय जात त चारवटा नै छन्— अण्डज (अण्डाबाट जन्मने), उद्भिज (उम्रने), स्वेदज (फोहर÷पसिना आदिबाट हुने) र जरायुज (सालनाल सहित जन्मने) । यही चार ‘जात’लाई टपक्क टिपेर ब्राह्मण, क्षेत्रि, वैश्य, शूद्रका रूपमा प्रचार गरियो । यति मात्र होइन, श्रेणी बनाएर सधैका लागि ‘जन्मजात’ तल्लो—माथिल्लो, उँचो—नीचो बनाइयो ।
यसरी हाम्रा पुर्खाले कामका काम बाँडेर उनीहरूलाई काम अनुसार पद—पहिचान दिए । तल्लो—माथिल्लो नभनीकन आफूहरूभित्रैबाट कार्यविभाजन भएको स्पष्ट छ । पछि पछि टाठा—बाठाहरूले कुन काम सानो, कुन काम ठूलो बनाएर यो वर्णविभाजनलाई स्थायी बनाए, यसको जिम्मा हाम्रा ऋषिपुर्खाहरूलाई दिनु उचित हुँदैन । जब जब धर्म—संस्कृतिमा राजनीति घुस्छ, मिसिन्छ, तब तब यसले शक्तिको सेवा गर्दछ । त्यसैले हामीले राज्यलाई धर्मनिरपेक्ष बनाउन परेको हो ।
न शूद्रो न च वै म्लेच्छो भेदिता गुणकर्मभिः । ब्रह्मणास्तु समुत्पन्नाः सर्वे ते किं नु ब्राह्मणाः ? ।।
अर्थात्, जन्मका आधारमा कोही पनि ब्राह्मण, क्षत्री, वैश्य, शूद्र वा म्लेच्छ हुँदैन । मानिसका गुण र कर्मद्वारा जातिको भेद छुट्याउन सकिन्छ । सबै प्राणी ब्रह्माबाटै उत्पन्न भएका हुन् भन्दैमा सबैलाई ब्राह्मण भन्न सकिन्छ र ? (शुक्रनीति)
यसरी जन्मको आधारमा भेद गर्ने वा सानो—ठूलो बनाउने विषयलाई शास्त्रले पनि नकारेको छ । यस विषयमा श्रीमद्भगवद्गीताको यो प्रसंग निकै चर्चित रहँदैआएको छ — चातुर्वण्र्यं मया सृष्टं गुणकर्मविभागशः । मैले गुण र कर्मको विभाजनको आधारमा चारवर्ण बनाएको हुँ । वर्णविभाजनमा गुण र कर्मलाई आधार बनाइएको यो पनि गतिलो प्रमाण हो ।
वेद, पुराण, अन्य शास्त्रहरू महत्वपूर्ण हुन्, हाम्रा धर्म, संस्कृति, मूल्य—मान्यता, परम्परा, पुर्खाका खोजहरू झनै महत्वपूर्ण छन् । तथापि, अहिले हामीलाई शासन गर्ने, निर्देशित गर्ने, व्यवस्थापन गर्ने त मुलुकको संविधान र प्रचलित कानुनहरूको माध्यमबाट राज्यले नै हो । हामीले हाम्रा अधिकार उपभोग गर्न र दायित्व पूरा गर्ने अवसरहरूको खोजी यहीँ नै गर्नुपर्दछ ।
जातीय विभेदको परम्पराले भ्रमलाई पनि सत्य जत्तिकै स्थापित गरेको छ । यहाँसम्म कि प्रकृतिका चराचर र जनजीवनको हित तथा कल्याणका लागि साधक ऋषि पुर्खाहरुद्वारा रचना एवं सञ्चय गरिएका वेदका कालजयी वचन तथा पुराणका प्रेरणादायी आख्यानहरूको समेत अनर्थ र दुरुपयोग गरिएको छ । अब बेला आइसकेको छ, हामीले मुलुकको संवैधानिक व्यवस्था, ऐन—कानुनका आधारमा आपूmलाई सच्चा नागरिकका रूपमा उभ्याउनुपर्दछ । समाजमा जातीय विभेद रहनु, आपसमा छुवाछूतको व्यवहार गर्नु मुलुकको कानुनसम्मत त छैन नै, यो समाज विकासको समेत बाधकको रूपमा रहेको छ । यहाँसम्म कि यस्तो प्रचलन धर्मसम्मत पनि छैन । यसको दीर्घकालीन समाधान अवसरहरूमा दिइने आरक्षण मात्र होइन । वास्तविकतामा आधारित आमसामाजिक मनोविज्ञान र आत्मोत्कर्षको चेतनाको विकासको माध्यमबाट मात्र यसको दीर्घकालीन समाधान सम्भव छ ।
अब विभेदको अवस्थाका चित्रावलीको ृब्दिबmे प्रदर्शन गरेर होइन, आवश्यक ठाने वेद—शास्त्रका पाना पल्टाएर अघि बढ्न आवश्यक छ । यसका लागि सहभोज आदि सामाजिक सम्मिलनका भाषण तथा केही झिनो सहभागिताले होइन, व्यापक जनचेतना विस्तारको माध्यमबाट दीर्घकालीन समाधान खोज्न स्थानीय तहहरूमा ‘जाति उत्कर्ष’ कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।
समाजका दलित अगुवाहरू, जनप्रतिनिधिहरू, शिक्षकहरू, विद्यालयका किशोर—किशोरीहरूका बीचमा ‘जाति उत्कर्ष’ कार्यक्रमहरू गर्न आवश्यक छ । हामी काम र जिम्मेवारीका सन्दर्भमा विभाजित रहेर पनि शत्रुका विरुद्ध एकजुट हुन आवश्यक छ । जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि कानुन बनाएर र घटना घटेपछि डण्डा वर्षाएर मात्र समस्याको समाधान हुँदैन । शास्त्र, साहित्य र संस्कृतिका विभेद विरुद्धका प्रावधानहरूसँगै यससम्बन्धी राज्यका कानुनी प्रावधान समेटिएको शिक्षा आजको आवश्यकता हो । प्राचीन प्रवन्धहरूमा रहेका विभेदकारी विषय उठाएर गरिएको शोषणका विरुद्ध त्यहीँ रहेको विभेद विरुद्धको प्रावधानको उल्लेख गरेर जस्तालाई तस्तै जवाफ दिन सकिन्छ ।
अन्त्यमा अथर्ववेदको यो मन्त्र मनन् गरौँ :
ये बाहवो या इषवो धन्वनां वीर्याणि च । असीन् परशूनायुधं चित्ताकूतं च यद्धृदि ।
सर्वं तदर्बुदे त्वममित्रेभ्यो दृशे कुरूदारांश्च प्र दर्शय ।।
अर्थात्, शत्रुले कमजोर देखेकै बेला आक्रमण गर्दछ । हामी शक्तिशाली हुँदा शत्रु मर्यादित रहन्छ । त्यसैले, सज्जनले सताइनु नपरोस् र कसैमाथि आक्रमण गर्नु पनि नपरोस् ! विभेद र विभाजन समाज र राष्ट्रका लागि घातक छ ।
प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार २ : ०४ बजे
प्रतिक्रिया