साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कोरोना महामारी, कम्युनिष्ट सत्ता र राष्ट्रपतिको सक्रियता

जनताको अभिमतबाट राष्ट्रपति, प्रधानमन्त्री, संघीय सरकारहरु बहुमत स्थानीय तह प्राप्त गर्ने नेपालको कम्युनिष्ट आन्दोलन एउटा सानो कोठाबाट शुरू भएको थियो । तृणमूल तहसम्म कम्युनिष्ट पार्टीको उपस्थिति  र नेतृत्व  गरिरहेको नेपाल कम्युनिष्ट पार्टीको मूल प्रवाह अहिले उसका विरुद्ध देशमा बन्न लागेको दक्षिणपन्थी गठबन्धनसंग प्रतिस्पर्धा गर्न सक्ने तागत बोकेर बसेको छ । 

नेपालको कम्युनिष्ट आन्दोलनले नेपालको राणा शासन हटाउन सानो पैमानाको आन्दोलन गर्यो, पञ्चायत फाल्न नेतृत्वदायी  भूमिका अदाह गर्यो, राजतन्त्रको उच्छेद गर्ने आन्दोलनमा सबभन्दा प्रमुख भूमिका खेल्यो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा युगीन भूमिका निर्वाह गर्यो । लोकतान्त्रिक एवं समाजवादउन्मुख संविधानको निर्माण गर्यो । संविधान निर्माणलगत्तै भएका स्थानीय निर्वाचन र आम निर्वाचनमार्फत् नेपालका कम्युनिष्टहरू सत्ता प्राप्त गर्न सफल भए । 

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको आरोह(अवरोहलाई दृष्टिगत गर्दा सात दशकको अवधिमा नेपालको कम्युनिष्ट आन्दोलनले हासिल गरेका यी उपलब्धि असाधारण उपलब्धि हुन् । सर्वहारा श्रमजीवी वर्गको हित रक्षाको लागि कम्युनिष्टहरूले सत्ता प्राप्त नगरी संभव नहुनेबारे नेपालको प्रमुख दुई धार नेकपा (एमाले) र नेकपा (माओवादी) बीच मतैक्य भएकै कारण संविधान निर्माणपछिको आम निर्वाचनमा उनीहरूको गठबन्धन संभव भएको हो । 

नेपालमा अझै विभिन्न विचारधारा बोक्ने स–साना कम्युनिष्ट पार्टीहरू अस्तित्वमा रहे पनि समग्रमा वर्तमान कम्युनिष्ट आन्दोलनको नेतृत्व के पी शर्मा ओली, ईश्वर पोखरेल,माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य किरणर मोहनविक्रम सिंहले गरिरहनु भएको छ । वहाँहरूको एकता र सहकार्यले नै नेपालको कम्युनिष्ट आन्दोलनको भविष्य निर्धारण गर्दछ । त्योभन्दा पनि मुख्य कुरा देशको प्रमुख कम्युनिष्ट शक्ति नेकपा (एमाले) को आन्तरिक एकता र सबलीकरणले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी निरन्तरताको फैसला गर्छ । 

कम्युनिष्ट आन्दोलनलाई पछिल्लो चरणमा एकताबद्ध बनाउन एमालेका अध्यक्ष के पी शर्मा ओलीले सबभन्दा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । देशलाई समृद्ध बनाउन सकिन्छ भने, कम्युनिष्टहरूको रणनीतिक लक्ष समाजवादमा मुलुकलाई डोहोर्याउन सकिन्छ भने, जननेता मदन भण्डारीले भने बमोजिमको  सामन्तवाद र साम्राज्यवादविरोधी राज्यसत्ताु कायम गर्न सकिन्छ भने र दशकौंदेखि टुट फुटमा रहेको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन सकिन्छ भने हदैसम्मको लचिलो भएर एमाले–माओवादी एकतापछि पार्टीमा बन्न सक्ने शक्ति सन्तुलनलाई समेत नजर अन्दाज गरी पार्टी एकताको लागि तयार हुनुभएको थियो । जनपरिचालन र जनअनुमोदित हुदै आएको एमालेको नेतृत्व पङ्क्ति र जनयुद्धको भट्टिबाट खारिएर आएको माओवादी केन्द्रको नेतृत्च पङ्क्तिलाई सङ्घर्ष–एकता– सङ्घर्षको माध्यमद्वारा नवगठित पार्टीलाई अगाडि बढाउन सकिन्छ भन्ने उच्च मनोबलका साथ के पी ओली अगाडि बढेको देखिन्छ । उहाँले नेपाली जनता सुखी हुन्छन् त देश समृद्ध हुन्छन् भने कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन हदैसम्मको लचकता प्रदर्शन गर्नु भएको थियो ।  

त्यस्तै एमाले महासचिव ईश्वर पोखरेलले एक वैचारिक नेता हुनुको नाताले एमाले–माओवादी पार्टी एकता गर्दा ग्रे एरिया राख्नु हुदैन, विचारमा प्रष्ट भएरमात्र पार्टी एकतालाई सही र भावनात्मक उचाईमा पुर्याउन सकिन्छ भन्नु भए पनि पार्टी एकताको लागि देखिने गरी त्याग समेत गर्न तयार हुनुभएको थियो । तर वहाँको त्यो पुनित अवधारणालाई त्यतिबेला उल्टो खेलाईयो, वहाँलाई पार्टी एकताविरोधी ट्याग झुण्ड्याईयो । एमाले ब्युँझिएपछिको पछिल्लो अवस्थामा कमसेकम नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमालेलाई एकताबद्ध र झन मजबुत बनाएर लैजान अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओली र महासचिव ईश्वर पोखरेल अहोरात्र खट्नु भएको देखिन्छ । तर वहाँहरूलाई नै पार्टी एकताविरोधी भन्न छोडिएको छैन । हुर्मत काड्न छोडिएको छैन ।

नेपालको कम्युनिष्ट आन्दोलनमा मात्र होइन, नेपालकै राजनीतिक आन्दोलनमा नेकपा (एमाले) वैचारिक रुपले समृद्ध, सांगठानिक रुपले सबल र चरित्रको हिसाबले सबभन्दा लोकतान्त्रिक पार्टी थियो र छ । यो विषय एमाले पङ्क्तिले मात्र अनुभूत गरिएको होइन, अरू पार्टीभत्र पनि चर्चाको विषय बन्दै आएको छ । एमालेको एकमात्र दुःख त्यसभित्र झाङ्गिदै गएको गुटबन्दी थियो । आखिर एमालेभित्र झाङ्गिएको त्यही गुटबन्दीले एमाले–माओवादी एकतालाई निष्कर्षमा पुग्नै नदिई अवसान गराईदियो । एमालेभित्रको गुटबन्दीलाई तन्काएर एमालेको अजेय शक्तिलाई झण्डै तहस–नहस बनाइदियो । यसको ह्याङओभरस्वरुप एमाले ब्युँझिएपछि पनि यसले आफ्नो सामान्य जीवनमा फर्कन दिएको छैन । 

अचम्म त के छ भने प्रथम कम्युनिष्ट राष्ट्रपति (दोश्रो कार्यकाल) विद्या भण्डारीले संविधानबमोजिम सम्पादन गर्नु भएको कामलाई कुनै बेलाका सहकर्मीहरूले नै सबभन्दा विरोध गरेका छन् । संवैधानिक–आलङ्कारिक राष्ट्रपतिलाई तानाशाहको ट्याग झुण्ड्याईदिएका छन् । जनताको वलिदानबाट प्राप्त गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई हिलो छ्याप्ने काम गरिरहेका छन् । उहाँलाई संवैधानिक तवरले गरिएको सरकारको सिफारिसलाई स्वीकार गरिएको विषयलाई आलोचनाको विषय बनाइएको छ । कोराना महामारीबाट नेपाली जनतालाई बचाउन खोप सहयोग माग्दै खोप उत्पादन गरिरहेका देशका समकक्षीलाई राष्ट्रपतिबाट गरिएको पत्रचारलाई राष्ट्रपति सक्रिय हुन खोजेकोु भन्दै आलोचना गरिएको छ । महामारीबाट जनतालाई जोगाउन उहाँले गरेको औपचारिक पत्राचारले छोटो समयमै  झण्डै पौने करोड खोप देशले पाईसक्दा पनि राष्ट्रपतिको सक्रियतालाईलाई आलोचना गर्न छोडिएको छैन । जनताको ज्यानसंग जोडिएको र संविधानको परिधिभित्र रही राष्ट्रपतिबाट चालिएको यस्तो सकारात्मक पहलकदमीका आलोचकलाई जति भर्त्सना गरे पनि थोरै हुन्छ । 

 आफूलाई मात्र सक्कली कम्युनिष्ट भन्नेहरूले देशका कम्युनिष्ट मतदाताले जिताएर पठाएको कम्युनिष्ट सरकार ढाल्न दक्षीणपन्थी प्रतिक्रियावादीसंग खुलमखुल्ला साँठगाँठ गरेका छन् । नेता माधब नेपाल र प्रचण्डलाई के पी शर्मा ओली, विद्या भण्डारी र ईश्वर पोखरेलभन्दा देउबा र उपेन्द्र यादव नजिक लाग्न थालेको छ । खतरामा परेको नेपालको जोगाउन यस्तो साँठगाँठ गर्नु परेकोु लज्जास्पद स्पष्टीकरण फर्मान गरिरहेका छन् । चीनको जस्तो नौलो जनवादी व्यवस्था स्थापना लागू गर्ने लक्ष सहित राजनीतिमा होमिएर दशकौं पार गरेका कम्युनिष्ट नेताहरूको मुखारवृन्दबाट आएका यी बाणीहरू टीठलाग्दा छन् । 

यति उचाई कायम गरेर पनि, यति धेरै युगीन उपलब्धि हासिल गरेर पनि नेपालको कम्युनिष्ट आन्दोलन बाधा मुक्त छैन । समृद्दि र समाजवादलाई साझा लक्ष बनाउनु पर्नेमा, देशमा विद्यमान गरिबी र पछौटेपनलाई साझा शत्रु बनाउनु पर्नेमा कुर्सीमा हाताहाती पुगिहाल्न आतुर केही नेताहरूका कारण नेपालको कम्युनिष्ट सत्ता भित्री र बाहिरी घेराबन्दीमा परेको छ ।

देशको उत्तरी छिमेकी भीमकाय चीनलाई सत्तरी बर्षभन्दा बढी नेतृत्व गर्दा त्यहाँका कम्युनिष्टहरूले कायम गरेको आन्तरिक एकता, नेतृत्वको सोपान, अल्पकालीन दीर्घकालीन भिजनको अलिकति प्रभाव हाम्रो देशको कम्युनिष्ट आन्दोलनमा परेको भए, अरुको नेतृत्व निस्चित समयसम्म सहने धैर्य यस आन्दोलनभित्र भएको भए, कोरोना महामारीविरुद्ध जुध्न चिनिया  कम्युनिष्ट पार्टीले खेलेको भूमिका देख्न सकेको भए कोरोनाबाट नेपाल र नेपाली जनतालाई जोगाउन राष्ट्रपति र प्रधानमन्त्रीले अहोरात्र गरेको सतत् प्रयास अनुभूत हुँदो हो । देश भाँडमा जावोस् तर आलोचनाको लागि छिद्र खोज्न नछोड्ने प्रवृत्तिसंग त कसको के लाग्छ र !  

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ११ : ३५ बजे