अखिल नेपाल महिला सङ्घ, नेपाली महिला आन्दोलनको एउटा प्रमुख तथा तुलनात्मक धेरै लोकप्रिय आन्दोलन हो । संघ देश,जनता र जनजीविका लगायत महिला हक हित र उत्थानका कामहरु विगत वर्ष देखि गर्दै आएको छ । कहिले सुस्त, शिथिल कहिले चुस्त र दुरुस्त हुँदै क्रियाशील अनेमसंघ अहिले कोभिट कोरोना कालमा भर्चुअल कार्यक्रमामार्फत् लगातार क्रियाशील भएको देखिन्छ । यति क्रियाशील कि एकै दिन तीन तीनवटा विषय समावेश गरेर जुम कार्यक्रम गरेको छ । यही जेठ १६, १७ र १८ गते लगातार कार्यक्रम गर्दा आफूले देखेको सुनेको आधारमा केही कमीकमजोरी पनि देखेकाले समीक्षा र सुझाव लेख मार्फत् प्रस्तुत गरेकी छु ।
पहिलो दिन नागरिकता प्रकरण,महिला हिंसा र कोभिड वा कोरोना विषयको कार्यक्रम भयो । दोस्रो दिन जबज र महिला आन्दोलन र तेस्रो दिन कोरोनाका कारण उत्पन्न मानसिक समस्या जस्ता विषयमा कार्यक्रम भयो । प्रा.डा. शशि अधिकारीले नागरिकता र कानुन, उपप्राध्यापक विष्णुमाया भुसालले महिला हिंसा र विद्यमान कानुन, विषयमा प्रशिक्षण दिनु भएको थियो ।
पहिलो दिनको कार्यक्रममा नेपालका जन्मसिद्ध नागरिक आमा बाबुआमाको नागरिकता रहेको तर विभिन्न कारणले भन्दा पनि बाबु बेपत्ता भएकाले सावालिग सन्तानले आमाका नामबाट नागरिकता नपाएर बिल्लीबाठ भएको, जवर्जस्ती करणीबाट जन्मिएका, अनाथ आश्रममा रहेका, अवैध गर्भबाट जन्मिएका जस्ता सन्तानका नागरिकताका समस्या हिमाल, पहाड र तराइ मधेसमा व्याप्त रहेको विषय विज्ञ महिला वक्ताबाट थाहा भयो । उहाँका अनुसार अहिले नै हेर्दा यस्ता नागकिता नपाएकाहरु को संख्या आठ लाख नब्बे हज्जार रहेको थाहा भयो ।
सरकारले अध्यादेश मार्फत् यो जायज समस्या समाधान गर्न तयार हुनु राम्रो काम हो तर यसलाई नै आधार बनाएर प्रधानमन्त्री ओलीले उहिल्यै भनेझैँ चकलेट सरह नागरिकता बाँड्ने कामबाट बच्न अत्यन्तै होसियार हुनुपर्छ । यस सबालमा धेरै महिलाहरुले यस्तै सही पनि दिनुभएको थियो । पहिलो दिनको कार्यक्रममा नै लगभग चार सय देशै भरिका अगुवा महिलाको सक्रिय सहभागिता रहेको कार्यक्रम उपलब्धिमूलक रहेको थियो ।
दोस्रो दिन चार सयको सहभागितामा जबज र महिला विषयक सैद्धान्तिक वैचारिक गहन कार्यक्रम भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलको विशिष्ट महत्वपूर्ण मन्तव्य, सुन्न पाइयो । यसलाई लिपिबद्ध गरेर प्रकाशन गर्दा जाती हुने लागेको छ । पोखरेलले भात पकाउने, भात डढ्ने, तामा, फलाम र सुन पगाल्ने र त्यसका लागि चाहिने तापक्रम आदि उदाहरण दिएर स्पष्ट बुझ्ने गरी प्रशिक्षण दिनु भएको थियो तर उहाँले भनेका गहिरा विषय हामी सुनेका भरमा धेरै बुझ्न अलि सक्तैनौ कि जस्तो लाग्छ । उहाँले महिलाहरुमा व्याप्त धार्मिक रुढीवादको प्रसंग पनि उठाउनु भएको थियो । कार्यकर्ता र जनताको स्तर हेरेर बुझेर त्यही खालको सरल भाषाशैली उदाहरण दिएर बोल्ने नेताको अभाव पाइन्छ । भाषणका नाममा भाषण गर्ने, सुन्नेले बुझ्यो बुझेन भन्न्ने कुनै ख्याल नगर्ने, प्रश्न नसुन्ने र सुझाव र आलोचना सुन्नै नचाहने स्वभाव राम्रो होइन । शंकर पोखरेलले माक्र्सवादी विचार दर्शनका आधारमा महत्वपूर्ण विषय सरल रुपमा प्रस्तुत गर्नु भयो । यसपछि नेतृ बिन्दा पाण्डेले जबज र महिला आन्दोलनका विषयमा विस्तार पूर्वक विचार व्यक्त गर्नु भयो । उहाँले बुँदा उपबुँदा सहित विषयलाई स्पष्ट रुपमा विचार राख्नु भयो । तर उहाँले माक्र्सवादसित जोडेर महिलावाद भनेको अलि बेठीक हो कि भन्ने कुरा हाम्रा घरमा भयो । डा. पोखरेलले यसरी माक्र्सवादकै लहरमा महिलावाद भन्नु सु्हाउने कुृरा होइन यस्तै गर्दा अर्कोवाद पनि आउन सक्ला पुरुषवाद वा उभय लिङ्वाद आदि आदि भन्दै जाने हो भने वाद नै ठूलो विवादमा पर्न सक्छ भनेर चर्चा गर्नु भयो ।
स्वास्थ सम्बन्धी कार्यक्रम पनि उपयोगी नै लाग्यो तर कार्यक्रममा केही कमजोरी देखियो । जस्तै नेपाली बोल्दा बीच बीचमा अंगे्रजी शब्दहरु प्रयोग गर्ने मोह देखियो विशेष गरेर महिला बिन्दा पाण्डे लगायत नेतृहरुमा यो समस्या देखियो । कुनै कुनै शब्द त नेपालीमा के भन्छन् अरे भन्ने जस्ता कुरा पनि सुनियो । यो कुनै पनि हालतमा राम्रो भएन । विदेशी भाषाप्रति अत्यन्त मोह राखेर हामी हाम्रो भाषा र संंस्कृति कसरी जोगाउँछौँ होला । अंग्रेजी शब्द प्रयोग गरेर बोल्दा ठूलो मानिस हुने वा देखिने संस्कारले पनि काम गरेको होला । एकजना महिला नेतृले नेपाली बोल्दा बारबार एच्छिक भन्नु भयो तर ए मा एकलख लगाए पछि मात्र ऐच्छिक शब्द बन्छ । यस्ता कमजोरी आगामी दिनमा हुनु भएन ।
नेपाली महिलाहरु अनेक कारणले र आफ्नै कारणले पनि अझै पछिपरेका वा पारिएका छन् । अनेमसंघको आन्दोलन र अभियानबाट अहिले प्राप्त उपलब्धिको जोगाउने र यसलाई सफलताका साथ पूरा गर्ने अनि अरु उपलब्धि प्राप्त गर्न ध्यान दिने काम गर्नु पर्छ । अहिले नै उपप्रमुख मात्र महिलालाई दिइयो प्रमुख दिइएन भनेर रोइलो गरेर बस्ने काम छैन । उपप्रम्ख सफलताका साथ पूरा गर्न विशेष ध्यान दिनु अहिलेको पहिलो काम,कर्तव्य र दायित्व हो ।
अहिले पनि महिलाहरुमा बौद्धिक वैचारिक विकास हुनसकेको छैन । यही चालामाला रह्यो भने पाएकै उपलब्धि पनि हामी जोगाउन सक्तैनौँ । मैले लेखेको चेलीको चीरहरण नामक कितावका बारेमा पुरुषले त छाडौँ कोही पनि महिलाले प्रोत्साहनको एक शब्द भनेको पाइँन अझ उक्त कितावका बारेमा समीक्षा लेखिदिने अगाडि बढ्न प्रेरणा दिने महिला मैलै आज सम्म पाइँन । यो एउटा उदाहरण मात्र हो । पढ्ने, लेख्ने ,विचार विमर्श गर्ने कुरामा हामी मध्ये धेरैको ध्यान अझै गएको देखिन्न दुई चार महिला भेला हुँदा उहाँहरु के के कुरा चाहिँ एक आपसमा जोडबल लगाएर गर्नु हुन्छ त्यही बुझ्दा थाहा हुन्छ । त्यो सबै महिलाले देखे भोगेकै कुरा हो । मैलै नै केही महिला नेतृहरु मिलेर एउटा किताव निकार्लौँ भन्दा ठाडा कान कसैले नलाएको अवस्था छ । मैले मेरो कितावको प्रकाशक अनेम संघ, केन्द्रीय कार्यालय रहेपछि प्रकाशकीय लेख्ने कामका लागि धेरै पटक केन्द्रीय कार्यालयमा सम्पर्क गरेँ तर प्रकाशकीय कस्तो हुन्छ भनेर केन्द्र लामो समय अलमलिएको महसुस भयो । भने पछि माथिल्लै तहका हामी महिलाहरु बौद्धिक र लेखन सम्बन्धमा केही बाहेक धेरै जसो कमजोर रहेका छौँ । आफ्ना कमजोरी लुकाएर अगाडि बढ्न सकिन्न,कमजोरी पर्गेलेर त्यसलाई हटाउन प्रयत्न गर्नुपर्छ । हामीलाई लेख, कार्यपत्र र विषय पत्र लेख्न र टिप्पणी गर्न पनि तालिम र अभ्यासको खाँचो देखिन्छ । यस्ता कुराहरुमा खासै ध्यान पुगेको छैन । सदस्यता, वितरण, नवीकरण, भेला, सम्मेलन, गठन पुनर्गठन गर्दैमा समय बितेको छ । पुरुष सरहको समानताका लागि हामी आफैँ सबै क्षेत्रमा टक्कर लिने र दिने गरी अगाडि आउनु पर्छ । ३३ प्रतिशत भनेको आधारभूत तहमा पाउने अधिकार हो र यसलाई प्रतिस्पर्धाका आधारमा बृद्धि गर्दै लैजान प्रयत्न गर्ने हो । यो जहाँत्यहाँ पाउने हुने र गर्ने क्ुरा होइन भन्ने कुरा आयो र यो हो । सबैले मोर्चा संगठनले पार्टी स्थायी समितिमा आरक्षण खोज्ने हो भने पार्टी पार्टी रहँदैन ।
शंकर पोखरेलले भनेझैँ महिलाहरु हामी आर्फैँ सक्रिय हुनुपर्छ कुरा साँचो हो पार्टी चाहिँ यस्ता विषयमा मौन रहेन भन्ने कुरा हुँदैन । मैले त महिला कर्मचारी, शिक्षिका ,प्राध्यापक पत्रकार र पढेलेखेका नयाँ पुस्ताका पनि महिलाहरु संघमा आवद्ध गर्ने कुरा उहिल्यैदेखि गरेको हो तर सक्षम आयो भने आफू पछि पर्छु भनेर बेवास्ता गर्ने परिपाटी हामीमा व्याप्त देखिन्छ र यो पक्ष अहिले पनि छ र पाइन्छ । प्रतिभाको फूलवारी बनाउन ध्यान पुगेको छैन । आफू भन्दा अलि सक्षमलाई अगाडि बढनै नदिने प्रवृत्ति अहिले पनि छ, नत्र एउटै महिलालाई चारचार वटा जिम्मेदारी किन दिनु् पर्ने र कसैलाई एउटा पनि छैन कसैलाई खाताका खात जिम्मेवारी । अनि त्यसमा पनि इन्चार्ज भनेर ताकेको छ तर इन्चार्ज मातहतमा उत्पन्न समस्याहरु छिमल्न सक्तैन जान्दैन । यस बारे कुनै प्रशिक्षण पनि दिइँदैन । कार्यक्रममा जबजकै बारेमा पनि एक अमुक नेताबाट एकोहारो भाषण वा प्रवचन सुनेर मात्र हुँदैन । महिलाहरुलाई नै पनि जबजका विभिन्न विषयमा लेख्न पढ्न बाध्य वनाउनु र लगाउनु पर्छ,सिकाउनु पर्छ । विद्यालय संचालक समितिमा हुँदा थाहा पाएको आधारमा विद्यालयमा शिक्षकले विद्यार्थी केन्द्रित पठन पाठन गराए जस्तै पार्टी र उपल्लो तहको प्रशिक्षकले एकोहोरो पट्यार लाग्दो भाषण मात्र गर्नुभन्दा कार्यकर्ता र नेताहरुले कितावका पाना आफैँ पल्टाउने, आफैँ पढ्ने र लेख्ने वातावरण पनि निर्माण गर्नुपर्छ । यसो गरेपछि माथिल्लो तहका नेताले दिएको प्रशिक्षण पनि राम्ररी बुझ्नि सकिन्छ । नत्र विगतमा जस्तै केही नेताले मात्र सिद्धान्त राम्ररी बुझेर अब हुँदैन । सिद्धान्त राम्ररी बुझेको नेता र कार्यकर्ता दाहाल र नेपालको पुच्छर भएर हिड्दैन । महिला हक, हित, उत्थान राजनीतिक र राजकीय सहभागिता पाएकामा गर्व नगरी यो वा त्यो भएन भनेर गनगन मात्र गर्ने परिपाटी राम्रो होइन । गनगन पनि गर्ने तर काम पनि नछाड्ने सही सोच हो । अहिले जे जति र जस्ता पार्टीगत र राजकीय पद महिलाहरुले पाएका छन् त्यसलाई राम्ररी सदुपयोग गर्न गराउन ध्यान दिए भोलिका दिनमा अझ माथिल्लो तह दावा गर्न सकिन्छ तर त्यसमा ध्यान मन देखिन्न । कतिपय स्थानीय निकायमा राम्रो छवि बनाएको पाइन्न ।
राष्ट्रपतिलाई गलत नियत राखेर बारबार आलोचना गर्दा कुनै पनि महिलाले लेख, रचना मार्फत् तथ्य र सत्य रुपमा प्रतिवाद गरेको आजका मितिसम्म देखिएको छैन । रामकुमारी झाँक्रीले मिडियामा तथानाम गरिरहँदा हामी मिडियामा जान सक्तैनौँ ती मिडियालाई राम्ररी भनेर एक तर्फी गालीगलौज नगर्न र नगराउन भन्न टेलफोन गर्न पनि सक्तैनाँै । यसको अर्थ हामी काठमाडौँ वा केन्द्रमा नै कमजोर छौँ । जस्तालाई तस्तै मुखले राम्ररी जवाफ दिन हामी नसक्ने अनि रोइलो गर्न सुहाउँछ ? विभिन्न मिडियामा अनेम संघ र पार्टीका महिला नेताहरु कहिल्यै समसायिक विषयमा बोलेको र अन्तर्वार्ता दिएको सुनिन्न । यस्ता कार्यक्रममा पनि महिला आयोगका अध्यक्षको उपस्थिति भए पनि पनि नाम सम्म किन उल्लेख गरिएन ?
प्रश्नकर्ता एक महिलाले माओको सांस्कृतिक क्रान्तिका चरणमा सशस्त्र क्रान्तिवाट चीनको समाजवाद बचेको भनेर जिज्ञासा राख्नु भएको थियो तर तङसियाओ पेङले आर्थिक सुधार कार्यक्रम गरेर चीन र चीनको समाजवाद सुरक्षित भएको हो भन्ने मैले बुझेकी छु । हामी महिलामा पनि उग्रवाद हाबी देखिन्छ । मोर्चा संगठनमा कमरेड शब्द प्रायोग गर्ने कि नगर्ने अनि पार्टी वा मोर्चा संगठनले आयोजना गरेको आमसभा र कार्यक्रममा कमरेड भन्ने कि आम जनसमुदाय भन्ने यस्ता कुरामा बेलैमा ख्याल गर्नुपर्छ । राजनीतिक रुपमा स्वतन्त्र रहेका धेरै जनता समाजमा छन् । आम सभामा आएको सहभागी त सामान्य साधारण जनता पनि अत्यधिक हुन्छन् नि । तिनलाई सम्ंबोधन गर्नु पर्दैन ? जुम कार्यक्रममा पनि आसन ग्रहणको ताँती अनि मन्तव्य व्यक्त गर्न तँछाड मछाड गर्नु भन्दा यसलाई संक्षिप्त गरेर विषय वस्तुमा प्रवेश गर्नु जाती हुन्छ । मूल विषय छाडेर बरालिनु हुँदैन । मन्तव्यका नाममा सतही भाषण धेरै गर्नु जाती हुँदैन । जुम कार्यक्रम बारे पहिले नै सिकाउँदा समय खेर जाँदैन । यसरी बेलाबेला कार्यक्रम गरेपछि समीक्षा गर्दा आगामी दिनमा गरिने कार्यक्रममा कमजोरी दोहोरिँदैन ।
(लेखक अनेम संघ,केन्द्रीय सदस्य हुन्)
प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार १० : ४२ बजे
प्रतिक्रिया