दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले न्यायपूर्ण¸ सभ्य¸ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो रहेको बताउनुभएको छ  । 

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आज एक शुभकामना जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले समग्र समाजको सांस्कृतिक रूपान्तरणका लागि सबै पक्षको एकताबद्ध र निरन्तर प्रयासको आवश्यकता रहेको बाउनुभएको छ ।

जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो । त्यसैले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन म सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछु । सामाजिक जागरणबाट सबैमा समभावको विकास गर्न तथा सबै जात(जाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन समेत आजको दिवसले सबैलाई अभिप्रेरित गर्नेछ भन्ने मलाई विश्वास छ, उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । 

उहाँले  जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसबाट सामाजिक तथा रूढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता¸ सद्‌भाव र सहिष्णुता अभिवृद्धि भई छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभएको छ । 

नेपालको संविधान तथा यस अन्तर्गत भएका कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, बञ्चितीकरण र हिंसालाई अपराधको रूपमा लिँदै त्यसलाई निषेध गरेको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन नसकेको बताउनुभयो । 

वि.सं. २०६३ साल जेठ २१ गते मुलुकलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको अवसर स्मरण गर्दै हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ ।

​​​​​​​

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ८ : ५० बजे