कठमाडौं । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले डोटीमा मट्टीतेल खन्याई जलाइएकी लक्ष्मी भाटको अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
एक साता अगाडि श्रीमानद्वारा जलाईएकी भाट र उहाँकी छोेरीको कीर्र्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ ।
आयोगका अध्यक्षसँग अस्पतालमा भएको भेटमा पीडित लक्ष्मीले आफु र नाबालक छोरीलाई आगो लगाई ज्यान मार्ने प्रयास गर्ने आरोपित पति सन्तोष भाटलाई जन्मकैदको सजायको माग गर्नुभएको छ । डोटी जिल्ला आदर्श गाउँपालिका वडा– ४ बस्ने वर्ष २८ की लक्ष्मी भाटलाई दुई वर्षको छोरी अञ्जु भाट समेतलाई आफ्नै श्रीमान सन्तोष पन्तले ढोका बन्द गरी मट्टीतेल खन्याएर जलाएर सख्त घाइते बनाएका थिए । स्थानिय अस्पतालमा भाटको उपचार हुन नसकेपछि गृह मन्त्रालय र सम्बन्धित क्षेत्रका जनप्रतिनिधि समेतको समन्वय र पहलमा घाइते लक्ष्मी र उनकी छोरीलाई हेलिकप्टरमार्फत उपचारको लागि सोमवार काठमाडौँ ल्याई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो ।
आयोगका अध्यक्ष पराजुलीले यस सम्वन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग वार्ता गरी दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन यस अघि नै आग्रह गरिसकेको बताउनुभएको छ ।
उहाँले यस घटनाले महिला घरभित्रै आफ्नै परिवारबाट सुरक्षित नभएको अवस्था देखाएको भन्दै पीडकले हदैसम्मको सजायँ पाउनुपर्नेमा जोड दिनुभयो ।
साथै निषेधाज्ञाका कारण धेरै महिला घरभित्रै बस्नुपर्ने, रोजगारी गुमेको कारण आफ्नै नजिकका नातेदार, श्रीमान परिवारबाट हिंसामा परिरहेको जानकारी दिनुभयो ।
आयोगद्वारा सञ्चालित हेल्पलाइन ११४५ पनि हरेक दिन लैङ्गिक हिंसाको गुनासो, उजुरी बढिरहेको भन्दै अध्यक्ष पराजुलीले लैङ्गिक हिंसामा संलग्न हुनेलाई आयोगले कानुनको दायरामा ल्याउन र हिंसा हुन नदिन भर्चुअल माध्यमबाट विविध कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार १ : ०७ बजे
प्रतिक्रिया