सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

‘अस्पतालमा एकै दिन देखिएका कोभिडले गिजोलेका परिवारका दृष्य’

संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदीले कोरोना महामारीका बेला आफुहरुले भोगेका तथ्यलाई सामाजिक सञ्जालमा राखेका छन् । बिरामीको उपचारमा खटिइरहदा आफन्तको छटपटी र कतिपय बचाउन सकिने बिरामीलाई पनि बचाउन नसकेको पिडा उनले यहाँ पोखेका छन् । पीडित परिवारलाई सान्त्वना दिनेसमेत नसक्दा आफू निरीह भएको बताएका छन् ।  
सामाजिक सन्जालमा डा. सुवेदीले लेखेको भावुक तथ्य यस्तो छ

१. हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ। वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा।अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा. साब भन्नुहुन्छ।

२. अर्का बा विस्तारै तङ्ग्रिंदै हुनुहुन्छ। उहाँलाई पनि भाइको भर्खर मृत्यु भएको सुनाइएको छैन।  

३. अर्का बा–आमा दुवैजनालाई कोभिड। एकजना कान पटक्कै नसुन्ने, अर्कोले बुझाइ दिनुपर्ने। छोराको अर्को अस्पतालको आइसियुमा मृत्यु भएको खबर कान सुन्ने चाहिंलाई सुनाइयो। उहाँले जीवनसाथीलाई बताउन सक्नुभएन। २ दिनदेखि आँसु लुकाउँदै रोइरहनुभएको छ।

४. ५/६ दिनअघि डिस्चार्ज भएर जानुभएकी आमा ओपिडीमा फलोअपमा। रातभरि सुत्नुहुन्न भनेर छोरीले भन्छिन्। अरू लक्षण छैनन्। जाँच्दा सबै राम्रै छ। म उल्लू ‘आमा’ , अझै रोगदेखि डराइरहनुभएको छ कि ?  अब त डराउनुपर्दैन, अब बाँचियो है भन्छु।आमाले खै आफू मात्र बाँचेर के गर्नु बाबु, उहाँले छोडेर गइहाल्नु भयो भन्दै बरर्र आँसु झार्नुहुन्छ। बा उहाँ अस्पतालमै हुँदै बित्नुभएको रहेछ।

महामारीको अघिल्लो उभारको बेलाको एउटा अनुभवः

५. दाइ उमेरका उहाँ। खासमा झन सिकिस्त उहाँकी श्रीमतीलाई पनि हाम्रै ईमर्जेन्सीमा ल्याइएको रहेछ। तर आइसियुमा बेड नभएकोले भाउजूलाई चाहिं अर्को अस्पतालमा रेफर गरिएको रहेछ। हरेक दिन राउन्डमा उहाँ मलाई लौन मेरी श्रीमतीलाई पनि यहीं आइसियुमा सार्न बेड मिलाइदिनोस् न भन्नुहुन्थ्यो। अन्यत्र बेडै नपाएका अरू सिकिस्त बिरामी पनि धेरै आइरहेका छन्, तिनलाई आइसियुमा प्राथमिकता दिनु परिहाल्छ, उता पनि तपाईंकी श्रीमतीको उपचार गर्ने राम्रो टिम होला, चिन्ता नलिनुहोस् भन्थें। निको भएर डिस्चार्ज हुने दिन दाइले भर्खर भाउजूको मृत्युको खबर पाउनुभएको रहेछ। रुँदै भन्नुभोः डा साब,तपाईंले उसलाई यहाँ आइसियुमा सारिदिनुभएको भए ऊ पक्कै बाँच्थी।

यस्ता बेलामा ती अथाह वेदनामा रहेकालाई के भन्ने ? समवेदना– जुन ‘सम’ कसैगरी हुनै सक्दैन– पनि कसरी दिने ? यस्तो बेलामा कसरी सान्त्वना दिने केही भेउ नपाएको, पूरै निरीह मजस्ताले कहिलेसम्म यस्तो सधैं फेल भइने, सधैं भाग्न मन लाग्ने जाँचमा परिरहनुपर्ने होला ?  महामारीमा मेरा बिरामीका जस्ता कथा कति होलान् ? स्वास्थ्यकर्मीहरूका फुकाउन मिल्ने नमिल्ने मनका गुजुल्टा कति होलान् ? मैले त्यस बेला त्यसो गरेको भए पो बचाउन सकिन्थ्यो कि भन्ने कति कति थान ‘गिल्ट’ सँगालिनेछन् होला महामारी सकिंदासम्म ? अन्त गर्न नजानेर प्रश्नमै टुङ्ग्याएँ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १ : १२ बजे