‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पाँचथरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाँचथर । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा चिकित्सकले मृत घोषित गरेका थिए । 

दुर्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । 

टाउको, हात तथा छातीमा चोट लागेका घाइतेहरूको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ । मृतक तथा घाइतेहरू उपचारका लागि झापा गई उपचारपश्चात् घर फर्कँदै थिए । 

दुर्घटनापछि प्रहरीले उक्त एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । उक्त एम्बुलेन्समा चालकसहित चार जना सवार थिए । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ८ : २६ बजे