एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

महिला अधिकार र छुकी आमा

स्वर्गीय कलाकार खुसीराम पाख्रिनले एउटा गीत गाएका छन्– 
‘कालो वनको बीचैमा खेतालाको गाउँ 
हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाउँ ।’

पछिल्लो पटक हामीलाई टेलिभिजनका पर्दा र अखबारका पानाबाट देशको अवस्था हेर्ने बानी परेको छ । राजधानीबासी एक नागरिकको हिसावले आम नागरिक झैं मैले पनि सञ्चार माध्यमहरुमा आएका रिपोर्टहरुका आधारमा देशको अवस्थामाथि विवेचना गर्ने गरेकी छु । तर, सञ्चार माध्यमको व्यवसायिक निष्पक्षतामा निकै ठूला प्रश्नहरु छन् । उनीहरुले देशको अवस्था जस्ताकोतस्तै प्रस्तुत गर्छन् कि आफ्नो सञ्चार प्रतिष्ठानको स्वार्थ घोलेर त्यसै आधारमा आफूलाई मन लागेको कुरा प्रस्तुत गर्छन् ? यो बहसको विषय छ । 

गाउँ हेर्ने, गाउँलेलाई बुझ्ने, उनीहरुको जीवनमा आएको बदलावलाई छाम्ने अवसर उनीहरुसँगको प्रत्यक्ष भेट र अनुभूतिहरु साटासाटबाट मात्रै मिल्दो रहेछ भन्ने निश्कर्षमा म पुगेको छु । पुनर्निर्माण प्रधिकरणको एक कर्मचारीका हिसावमा काममा गाउँ जाँदा उनीहरुको जीवनमा आएका परिवर्तन र उनीहरुका अनुभूतिहरुलाई मैले प्रत्यक्ष देख्न पाएँ । देशको राजनीति र विकास बुझ्न गाउँ नै जानु पर्ने रहेछ भन्ने यसबाट मैले पाएको छु । कामका दौरानमा केही प्रतिनिधि पात्रहरुसँगको अन्तरक्रियाका आधारमा प्राप्त अनुभवलाई यहाँ मैले समेट्ने कोसिस गरेको छु । मैले भेटेका पात्र संयोगले महिला नै छन् र आज राष्ट्रिय महिला अधिकार दिवस पनि हो । उनीहरुको जीवनका केही अनुभवहरुलाई यहाँ उतार्ने प्रयास गरेको छु ।   

पात्र १  छुकी आमा– 
छुकी आमाको कलिलो उमेरमा बिहे भयो । जिन्दगीमा सुख र दुःख कहाँ आफ्नो योजना अनुसार आउँछन् र ? छुकी आमा सुख नै सुख, खुसी नै खुसी चाहन्थिन् । तर, त्यस्तो भइदिएन । २०५५ सालमा एकैपटक पारिवारिक वियोगको ठूलो चोट बेहोर्नु प¥यो । सासु ससुरा कालगतिले विते । त्यतिबेलै मुलुकमा सशस्त्र द्वन्द्वको डंढेलो सल्केको थियो । त्यो द्वन्द्वले छुकी आमाका श्रीमान र जेठो छोरालाई चुँडेर लग्यो । घर पूरै खण्डहर भयो । त्यसको वेदना खप्न नसकेर कान्छो छोरा घर छोडेर बेपत्ता भइदियो । यति ठूलो पारिवारिक बज्रपात उनी एक्लै भोग्दै आएकी थिइन् । परिवार नभए पनि जीउ बिसाउने एउटा घर थियो, त्यो पनि २०७२ सालको भूकम्पले ढलेर जमिनमै मिल्यो । छुकी आमा कहाँ जाउन्, के खाउन्, कोसँग बसुन् ? 
तर, केही समयको अन्तरालमा भेट हुँदा उनी नयाँ घरको आँगनमा उभिएकी थिइन् । दाँत झरेर दुबै ओठ भित्र पसेको उनको मुखमा बेग्लै मुस्कान प्रकट भयो । दुःखको पहाडले थिचेर घाइते भएकी उनै छुकी आमासँग यस्तो संक्षिप्त संवाद भयो– 
‘आमा सञ्चै हुनुहुन्छ ?’
‘बाँचेकी छु नानी ।’ 
आँगनमा उभिएकी उनले सेतै फूलेको कपाल सुम्सुम्याउँदै घरतिर इसारा गरिन् र भनिन्– ‘मेरो घर हुन्छ जस्तो लागेको थिएन नानी । कोही नहुने असहायको सहाय सरकार हुँदो रहेछ । सरकारले मेरो घर बनाइदियो ।’ 
पुनर्निर्माण प्रधिकरणको सहयोगमा बनेको उनको घरमा बस्ने उनी फगत एक्लै छिन् । ज्येष्ठ नागरिक र असहाय भत्ता पाउन थालेको धेरै भयो । सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गरेकाले केही समयअघि बिरामी पर्दा उनको निःशुल्क उपचार भयो । 
‘बुढेसकालमा कसरी पो बाँच्न सक्थेँ होला र भन्ने लागेको थियो । तर, नानी मेरो त घर पनि सरकारले बनाइदियो, बृद्धाभत्ता सरकारले नै दिन्छ, बिरामी परेको बेला उपचार गर्न पनि पैसा लागेन’ छुकी आमाले आफ्नो खुसीको कारण यसरी बयान गरिन् । 
पारिवारिक वियोगले दुःखित् उनले आफ्नो नाम छुकी राखेको प्रसंङ्ग कोट्याइन्– ‘म भर्खरै बिहे गरेर बाल्यकालमा घर आएकी थिएँ, निकै छुकछुक गर्थेँ रे । हँसिली देखेर मेरी सासुले मेरो नाम छुकी राखिदिनु भयो । परिवारमा त्यत्रो बज्रपात भयो, म कहिल्यै खुसी हुन सकेकी थिइनँ । तर, केपी ओली सरकारमा आएपछि मेरो खुसी फर्काइदियो । म फेरि छुकी भएँ नानी ।’ 
यति भनिसकेर उनी भित्रैदेखि सुसाएर हाँसिन् । हाँस्दा उनका सबै गिँजा देखिए । बिदा हुँदै म उनको घर निरीक्षण गरेर त्यहाँबाट हिँडेँ ।     

पात्र २ सान्दिदी– 
सान्दिदी गाउँमा सबैले बोलाउने उनको नाम । उनी चार बर्षको अन्तरालमा यसपटक माइतीगाउँ गएकी रहिछन् । धेरै समयको अन्तरालमा माइती गाउँ नै नचिनिने भएको रहेछ । गाउँ जाने बाटोमा तुइन हटाएर बनेको झोलुङ्गे पुल उनले पहिलोचोटी चढिन् । अर्काे ठाउँमा मोटर जाने पुल । गाउँभरी तरकारी खेती । बिहान उठाएर शहर लगेको तरकारी र फलफूल साँझ पैसा बनाएर फर्काउँदा रहेछन् माइती गाउँलेहरु । 
‘ओहो विकास त गाउँमा पो गएछ, शहरमा के बस्नुजस्तो’ यसपाली पहिलो पटक गाडी चढेर माइतीघरको आँगनमै ओर्लिएको घटना विवरण उनले सुनाइन्, ‘गाउँ नै नचिनिने भएछ, खरले छाएका घरका छानामा जस्तापाता टल्केका दन्तलहर जस्ता घरहरु लहरै, विजुली बत्ती पनि यसपाली नै बलेछ । कति रमाइलो भएछ ।’ शहरमा भएको विकास पनि उनलाई राम्रारी थाहा छ । ‘विकास कहाँ पो भएको छैन र ? दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदैछन्, अरु विमानस्थलहरु सुधार भएका छन्, काठमाडौंका काकाकूल जनताका घरघरमा मेलम्चीको पानी आउन थालेको छ’ उनले शहरमा भएको विकास सम्झिइन्, ‘मैले त पाइपलाइनबाट प्रेट्रोलियम पदार्थ अउन थालेको सुनेकी छु, मध्यपहाडी लोकमार्ग हुलाकी राजमार्ग बनिरहेको छ, यसले सुख ल्याउला नि बैनी ।’ देशभरीका सडकहरु द्रूत गतिमा बनिरहेको, सुरुङ मार्ग बनिरहेको, भूकम्प पीडितका आठलाख निजी आवास बनेको, सात हजार पाँचसय स्कुलहरु र हज्जारौं सरकारी भवन र स्वास्थ्य चौंकीहरु पुनर्निर्माण भएको,  हावाहुरीले घरविहीन भएका बारा र पर्साका जनतालाई ८७९ घर बनाएर दिएको , करिव दुईसय हेक्टर भन्दा बढी सरकारी जग्गा व्यक्तिका नामबाट सरकारले फिर्ता ल्याएको, धरहरा, रानीपोखरी, रंगशाला र पुरातात्विक संरचनाहरुको पुनर्निर्माण भएको सबै सम्झना रहेछ सान्दिदीलाई । 

शहरमा बसोवास गरेको फाइदा उनले अरु विषयको जानकारी राखेर लिएकी रहिछन् । ५८ वर्षपछि नेपालले आफ्नो मिचिएको जमिन समावेश गरेर विस्तृत नक्सा सार्वजनिक गरेको, सरकारी कामहरु विद्युतीय प्रणलीमा गएको, बिखण्डनको मुद्दा बोकेको सीके राउत र हिंसाको बाटो लिएको विप्लवलाई राजनीतिको मूलधारमा ल्याएको र गाउँ गाउँमा एकै पटक सातसय अस्पताल बन्न सुरु भएको पनि उनको जानकारीमा छन् ।  यी सबै कामको विरोधमा सधैं मिडिया र पत्रपत्रिकामा चर्चा हुने गरेको पनि उनलाई थाहा छ । जसले दशकौंसम्म केही काम गरेनन्, तिनीहरुले नै यी सबै कामको विरोध गर्ने अभियान चलाइरहेका छन् भन्ने उनलाई लागेको छ । सान्दिदीजस्ता मौन रहने गृहिणी महिलाले पनि राजनीति र विकास निर्माणका कामलाई यसरी बुझेको देख्दा मलाई भने अचम्म लाग्यो । 

पात्र ३ हसुली आमा–
हसुली आमा सानै छँदा खुब हाँसीहरने स्वाभावकी थिइन् रे । त्यसैले छरछिमेकीले उनको नाम नै हसुली राखिदिए । नाम र स्वाभाव उस्तैगरी कसको मिल्छ र ? त्यसैले उनी बाल्यकालमा जस्तो जीवनभर हाँस्न सकिनन् । तर, अहिले पनि उनी बोल्दा हाँसेको जस्तो लाग्ने रहेछ । यही हँसिलो स्वाभाव पहिला सज्जनको लागि बोल्ने माध्यम पनि हुन पुग्थ्यो । सानो छँदा बुवाको जागिरको सिलसिलामा उनी आमा वुबासँग कहिले शहर त कहिले गाउँमा बस्ने गर्थिन् । शहरमा बसे पनि बालविवाहका कारण पढाइलाई तिलाञ्जली दिनु परेको थियो । पढ्न नपाए पनि देशमा महिलाको अवस्थाका बारेमा भने समयले भ्याएसम्म सधै चासो राख्ने गर्थिन् । उनको अनुभवमा पहिला पहिला  महिलाको निक्कै सम्मान हुने गथ्र्याे, सानालाई माया र ठूलालाई आदर गर्नु पर्छ भनेर सानैमा संस्कार सिकाइन्थ्यो । सस्ंकार,संस्कृति, धर्म रीतिरिवाज, चाडपर्वको महत्व निक्कै थियो । अहिले त चाडपर्वहरु सबै औपचारिक मात्रै । 

उनको पुरानो स्मृति अनुसार मान्छेहरु जोकोही महिलाको पनि सम्मान र आदर गर्थे । जहाँ महिलाको सम्मान हुन्छ, त्यहाँमात्र भगवान खुसी हुन्छन् भन्ने गरिन्थ्यो । आजभोलि महिलामैत्री कानून त बनेका छन्, मान्छेको व्यवहार भने कानुनले धान्नै नसक्नेगरी अराजक बन्दै गएको छ । देशको राष्ट्रपति र प्रधानन्यायाधीश समेत महिला नै बन्न सके । तर, त्यस्तो सम्मानीत पदमा पुगेर पनि उनीहरुमाथि लैंगिक हिसावले होच्याएर प्रतिक्रिया दिने व्यवहार परिवर्तन भएन । ‘कानुनले मात्रै के हुन्छ र नानी’ हसुली आमाले आफ्नो जीवनको लामो अनुभवको सार प्रस्तुत गरिन् ‘नबुझेकालाई पो बुझाउन सकिन्छ, बुझिबुझी बुझ पचाउनेलाई इन्द्रको बाबु चन्द्रे आए पनि बुझाउन सकिन्न नि ।’ 

हसुली आमालाई पनि सरकारप्रति निकै ठूलो भरोसा रहेछ । उनले ज्येष्ठ नागरिक भत्ता र स्वास्थ्य बीमाका कारण कसैको आशामा बाँच्नु नपरेको र मर्दा पनि आनन्दले मर्ने निश्कर्ष सुनाइन् । उनीसँग भलाकुसारीका क्रममा गजवको भरोसा सुनाइन्– ‘नानी अब हामीले एक्लो, दुःखी र रोगी भएर बाँच्नु पर्ने दिन गएछन ।’ यी तीन प्रतिनिधि पात्रहरुसँगको अन्तरक्रियापछि मेरो निश्कर्ष रह्यो– विकास र परिवर्तन हेर्न सधैं अखबारका पाना, टेलिभिजनका पर्दा र विद्युतीय सञ्चार माध्यमहरुमा अल्मलिने होइन, गाउँगाउँमा बस्ने मानिसहरुसम्म पुग्नु पर्दाे रहेछ । सञ्चारका यी माध्यमहरुले आफ्नो पक्षपोषण अनुरुपका सामग्री मात्रै प्रस्तुत गर्दा रहेछन्, समाजको यथार्थ चित्र होइन । हाम्रो समाजको वदलाव हेर्न गाउँ जाउँ । 

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ८ : २२ बजे