कैलाली । सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेका सुदूरपश्चिम प्रदेश का तीन मन्त्रीलाई नेकपा एमाले सुदूरपश्चिम कमिटीले स्पष्टकीकरण सोधेको छ ।
बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो ।
पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ, “पटकपटक पार्टीका निर्णयहरू अवज्ञा, पार्टी एकता विरुद्ध र विखण्डनको पक्षपोषण गरेको देखिन आएकोले तपाईमाथि लागेका अभियोगहरूबारे २४ घण्टा भित्र लिखित जवाफ पेश गर्ने निर्देशित गरिन्छ।”
पत्रमा समयमा स्पष्टीकरण नबुझाएमा कारबाही गर्ने चेतावनी दिइएको छ। “अतः २४ घण्टाभित्र आफ्नो लिखित स्पष्टीकरण पार्टी प्रदेश कमिटीका अध्यक्ष समक्ष पेश गर्न निर्देशित गरिन्छ,” स्पष्टीकरण पत्रमा भनिएको छ, “अन्यथा पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (ख) बमोजिम तपाईमाथि कारबाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ।”
एमाले स्थायी कमिटीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। त्यस्तै, तीनै जना मन्त्रीलाई फिर्ता आउन निर्देशन दिएको थियो।
पत्रमा सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेको, मन्त्रालयलाई पार्टीविरोधी अखडा बनाएको भन्दै उनीहरूसँग जवाफ मागिएको छ ।
बुधबार दलको बैठकले भने केन्द्रको निर्देशनविपरीत माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहेको निर्णय गरेको थियो । पटक पटक पार्टी केन्द्रको निर्देशन नमानेपछि एमालेले स्पष्किरण सोध्दै उनीहरु माथि कार्वाही गर्ने तयारी थालेको हो ।
प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार ४ : ३८ बजे
प्रतिक्रिया