आधा शताब्दी वामपन्थी राजनीति गरेका र प्रायः धेरै समय मुख्य नेतृत्वमा बसेका केही पात्रहरूले पार्टीको दस्ताबेजले नै वामपन्थी आन्दोलनको मुख्य बाधक शक्ति देखेको नेपाली काङ्ग्रेसलाई राज्य सत्ताको केन्द्रमा पुनः स्थापित गर्न नेका सभापति शेरबहादुर देउवालाई प्रम बनाउन वैचारिक आदर्श, दलीय मूल्यमान्यता र संसदीय अभ्यासको विरुद्ध हुनेगरी गतिविधि गर्दैछन्। माधव नेपालको जबजप्रतिको निष्ठा, झलनाथ खनालको भद्र आदर्श र पुष्पकमल दाहाल (प्रचण्ड) को क्रान्तिकारी गतिशीलतासँगै मोहनविक्रम सिंहको लगभग सात दशक लामो कम्न्युनिष्ट राजनीतिले अब पतनको बाटो लिंदैछ। यो नेपालको वामपन्थी आन्दोलनमा नेतृत्व तहबाट भएको सबैभन्दा ठूलो गद्दारी हो।
यतिखेर शेरबहादुर देउवाले प्रमका विरुद्धमा माधव, झलनाथ र प्रचण्ड (माझण्ड) हरूको उपयोग नेकपा (एमाले) लाई कमजोर बनाउन गरेका हुन् नकि माझण्डहरूको राजनीति सुरक्षित र बलियो बनाउन। तर माझण्डहरूको रणनीति भने प्रम तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीलाई कमजोर बनाउँदै नेकाको साहारामा आफ्नो राजनीति बलियो र भोलि हुने निर्वाचनमा आफ्नो क्षेत्र सुनिश्चित बनाउनु हो। तर यहाँ न नेपाली काङ्ग्रेसले न त माझण्डहरूले नै राजनीतिक सुदूर भविष्यलाई हेर्न सकेको देखियो। तिनले बुझ्नुपर्थ्यो, “राजनीतिमा सुदूर भविष्य नहेरी जसरी धेरै स्वार्थहरूको माझण्ड र देउवा (माझण्डवा) मोर्चा बनाए, त्यो मोर्चा केही समयपछि स्वार्थहरू नमिलेर एक आपसमा बाझिएर स्वतः भत्कनेछ।” अहिले सत्ताका लागि माझण्डवाहरूको साझा तारो केपी ओलीलाई प्रमबाट हटाउने हो। यसका लागि उनीहरूले वैचारिक आदर्श, दलीय मूल्यमान्यता र संसदीय अभ्यासलाई कुल्चन पनि तयार भए। तर राजनीतिमा यो खालको गद्दार प्रवृत्ति र निर्दलीय चरित्र टिकाउ हुँदैन। किनभने आजको जनचेतनाले स्थापित दलीय प्रणालीभन्दा बाहिरबाट गरिने सबैखाले राजनीतिलाई तिरस्कार गर्छ।
नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापाको राष्ट्रियसभाको निर्वाचनमा भएको पराजयले नेपालको राजनीतिमा तीन वटा सङ्केतहरू गरेको छ;
१) माधव-झलनाथ (माझ) हरू एमालेका रूपमा रहने भएनन्
२) माझण्डहरूले दक्षिणपन्थीको त एमालेले वामपन्थी शक्तिको प्रतिनिधित्व गर्ने भो र
३) अबको राजनीतिक प्रतिस्पर्धा एमाले र माझण्डवा मोर्चाबीच हुने देखियो
राष्ट्रियसभाको निर्वाचनमा माझण्डवा गठबन्धनले नेकपा (एमाले) लाई हराउन सकेपछि नेका सभापति शेरबहादुर देउवा उत्साहित भएका छन्। त्यही उत्साहका कारणले आफ्नो दलको मुख्य मान्यता विपरीत हुनेगरी प्रम बन्नका लागि बहुदलभित्र निर्दलको अभ्यास गर्न खोज्दैछन्। केही संविधानविद्हरू पनि ७६ (५) मा प्रम छान्न सांसदहरू स्वतन्त्र हुन्छन् भन्दै निर्दलीय अभ्यासका पक्षमा पैरवी गर्दैछन्। त्यसैले शेरबहादुर देउवाको पक्षमा बहुमत देखाउन सर्वोच्च अदालतमा मुद्दा हाल्न माझण्डवाहरूलाई उक्साए। माधव नेपालले पनि म नै प्रम हुँदैछु भनेर खाली कागजमा सांसदहरूको हस्ताक्षरसम्म गराएको कुरा सोमप्रसाद पाण्डेको अभिव्यक्ति बुझ्न सकिन्छ।
पार्टी अध्यक्ष तथा प्रम केपी ओलीसँग माधव नेपालका मतभेद र असहमति हुन सक्छन्, त्यो अस्वाभाविक होइन। उनलाई केपी ओलीका विरुद्धमा पार्टीभित्र विद्रोहको आवाज उठाउने अधिकार पनि हुन्छ तर विपक्षी दलको नेतालाई नै प्रम बनाउनका लागि आफू साक्षी बस्ने र आफ्ना सांसदहरूलाई म नै प्रम हुँदैछु भनेर झुकाएर हस्ताक्षर गराएर त्यसको दुरुपयोग गर्न हुँदैनथ्यो। यति गर्दा पनि माधव नेपाललाई नेता मानेर पछि लाग्छन् र आफ्नो राजनीतिक भविष्य दाउमा लगाउँछन् भने तिनीहरू दास मनोविज्ञानबाट माथि उठ्न सकेका रहेनछन् भनेर बुझ्नुपर्छ। जबसम्म वैचारिक आदर्शलाई आत्मसात् गरेर राजनीति गरिदैन् त्यसले जन्माउने पात्रहरू माझण्डहरू जस्ता नै हुन्छन्। स्पष्ट रूपमा भन्नु पर्दा माझण्डहरू वामपन्थी आन्दोलनका विरुद्ध प्रयोग गरिएका पात्र अर्थात् खलनायकहरू रहेछन्।
यदि अहिले शेरबहादुर देउवालाई प्रम बनाउनु थियोभने त हिजै अर्थात् २०७४ मङ्सिरमा नै माझण्डहरूले देउवालाई नेता मानेर र रूख चिन्ह बोकेर चुनावमा जानु पर्थ्यो। अब त्यो विगत भो, २०७८ ले माझण्डहरूलाई त्यो अवसर जुराइ दिएको छ। के माझण्डहरू रूख चिन्ह बोकेर देउवालाई प्रम बनाउन खटिन्छन् त जसरी ०७ जेठमा रातदिन खटेका थिए। अब माझण्डहरूलाई आदर्शवान नेता मानेर वामपन्थी आन्दोलनलाई माथि उठाउन सकिंदैन् भन्ने बुझेकाहरूले तिनलाई छोड्दै जान्छन्, अरू अलमलिइरहन्छन्। जेठ ०७ देखि केही नेता तथा कार्यकर्ताहरू भ्रमबाट मुक्त भएभने केही अझै अलमल मै देखिन्छन्। किनभने विवेक प्रयोग गर्नेले स्वतन्त्र भएर सोच्न र व्यवहार गर्न सक्छन् भने दास मनोवृत्ति भएकाहरूले विवेक प्रयोग गर्ने क्षमता राख्दैनन्।
एउटै मुद्दामा पनि व्यक्ति-व्यक्तिको धारणा फरक हुन सक्छ। सहमति तथा असहमतिहरू हुन सक्छन्। त्यो आ-आफ्नै मान्यता र विश्वासको कुरा हो। तर सत्य फरक छैनभने व्यक्तिको बुझाइमा समस्या छ भनेर बुझ्नुपर्छ किनभने त्यहाँ उसले सत्य खोजेन, निष्ठा हेरेन र पक्षधरता खोज्यो। आजको राजनीतिमा भएको यही हो, जसले सत्य हेरेन, खोजेन अनि अरूलाई लाञ्छना लगाई रह्यो, जसरी अहिले माझण्डवाहरूले प्रम केपी ओलीलाई दोष लगाइरहेका छन्।
मान्छेहरू तर्क गर्छन्, पाँच वर्ष काम गर्न बनेको संसद् र सरकार तीन वर्ष पनि टिकाइएन। तर्कमा दम छ। तर त्यसका पछाडिका मूल कारणहरू नखोजी एकोहोरो एक पक्षलाई मात्र दोष लगाउनुको कुनै अर्थ छैन। सिक्काका दुई पाटा हुन्छन् भन्ने बुझेर आन्दोलनभित्रको घुसपैठलाई चिन्नुपर्छ। माझण्डहरूको षडयन्त्र र तिकडमहरूलाई असफल बनाउन खोज्दा नेपालको राजनीति यहाँसम्म आई पुग्यो। अहिले देउवालाई प्रम बनाउने प्रयास उहिले व्यक्त नभएको मात्र हो। माझण्डहरू वामपन्थी रूपी रातो बर्को ओढेर दक्षिणपन्थीहरूको राजनीतिक लाभका लागि गतिविधि गरेका रहेछन् भनेर अहिले पुष्टि हुँदै छ। कतिलाई लाग्न सक्छ, यो एकपक्षीय आरोप हो, यसमा सत्यता छैन। त्यो उनीहरूमा रहेको बुझाइको समस्या हो।
गुणदोषका आधारमा नेताहरूको पक्ष लिने र आलोचना गर्ने क्षमता हामीमा हुनुपर्छ। तर एउटाको रिसले आफैले किटान गरेको वर्गीय शत्रु पक्षधर वर्गको नेतालाई नै राज्य सत्ताको मुखिया बनाउन खोज्ने माझण्डहरूको ०७ जेठ २०७८ को प्रयासलाई स्वाभाविक मान्न सकिंदैन्। विवाद र असहमतिहरू होलान्, तर वामपन्थी आन्दोलनलाई नै कमजोर बनाउने गरी भइरहेका गतिविधिहरूको विरोध गर्न सक्नुपर्छ। समकालीन मुख्य नेताहरू मध्येमा तुलनात्मक रूपमा केपी ओली नै कम खराब वा ठिक छन् भन्न डराउनु पर्दैन। केपी ओली अरू नेताहरू भन्दा निर्णय क्षमता भएका र अडान लिन सक्ने नेता हुन्। भलै कहिलेकाहीँ उनका निर्णय र अडानहरू विवादमा परेका किन नहुन्? तर वामपन्थी आन्दोलनमा लागेका पछिल्लो पुस्ताका नेताहरूले यो वास्तविकतालाई बुझ्न सकिरहेका छैनन्। उनीहरूमा आलोचनात्मक चेत पनि देखिएन। बरु उनीहरू दास भएर पछि-पछि लाग्दा माझण्डहरू नेका सभापति शेरबहादुर देउवालाई प्रम प्रस्ताव गर्न सफल भए। त्यसैले दोष उनीहरूको मात्र होइन, हामीहरूको पनि छ भनेर नयाँ पुस्ताले बुझ्न सक्योभने न केपी ओली एकोहोरो हुन सक्छन् नत माझण्डहरू शेरबहादुर देउवाको दौराको फेरो समातेर दौड्ने हुन्छन्।
तर यहाँ लोकले नपत्याएका केही मान्छेहरू लोकतन्त्रको वकालत गर्दै माझण्डहरूलाई बुर्जुवा दक्षिणपन्थी शेरबहादुर देउवाको नेतृत्वमा कम्फर्टेबल सरकार बनाउन उक्साउँदै प्रगतिशील लोकतन्त्रको कुरा गर्दैछन्। अहिले देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन नसक्दा प्रतिगमन-२ भयो भन्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा विपक्षी गठबन्धन बनाएर दिनहुँ बैठक बस्दैछन्। जबसम्म यो खालको विकृत राजनैतिक सोच हाबी भइरहन्छ तबसम्म नेपालमा राजनैतिक र संवैधानिक स्थिरतासँगै यसले गतिशीलता पाउने अवस्था बन्दैन।
कहिलेकाहीँ केही नराम्रा खबरहरू पनि राम्रो खबरमा परिणत हुन सक्छन् भन्ने तथ्यलाई स्विकारेर सकारात्मक सोचका साथ अघि बढ्नु पर्छ। त्यसैले भनिएको होला, खराब वा नकारात्मक भित्र पनि असल र सकारात्मक पक्ष लुकेको हुन्छ। त्यसलाई हेर्ने मान्छेको दृष्टिकोण कस्तो भन्ने कुराले महत्त्व राख्छ। त्यो हामीले बुझिरहेका छैनौँ। अहिले माझण्डहरूले केपी ओलीको विरोध गर्ने नाममा नकारात्मक नै रूपमा भएतापनि केपी ओलीको चर्चा व्यापक बनाएका छन्। त्यसले मिडियामा प्रशस्तै ठाउँ पनि पाएको छ। यसको मतलब राजनीतिक मुद्दा र प्रमको दृष्टिकोणका बारेमा जनताले अझ बढी बुझ्ने मौका पाएका छन्।
आजको आवश्यकता विभाजनमुखी क्रियाकलाप होइन एकता र वृहत् वामपन्थी मोर्चामार्फत विचारलाई परिष्कृत गर्दै व्यापक जनतालाई आन्दोलनमा गोलबन्द गर्नुपर्ने थियो। मुख्य नेतृत्वको नाताले केपी ओली र वरिष्ठ नेताका रूपमा माधव र झलनाथहरू बढी जिम्मेवार र संयमित हुनुपर्थ्यो। त्यसैगरी पछिल्लो पुस्ताले पक्षधरता नलिई नेकपा (एमाले) को एकता जोगाउन दास मनोविज्ञान त्यागेर हस्तक्षेपकारी भूमिका खेलेर भएपनि पार्टीलाई विभाजनमा जानबाट रोक्नु पर्थ्यो। तर दुर्भाग्य नै भन्नुपर्छ, एकातिर रातारात कार्यदलको बैठक बसेर सहमति खोज्ने प्रयास भइरहँदा अर्कोतिर जालसाजी गरेर केपी ओलीलाई प्रमबाट हटाउन २३ जनाले शेरबहादुर देउवा पक्षमा हस्ताक्षर गरे।
पछिल्लो एक वर्षदेखिको राजनीतिक घटनाक्रम र क्रियाकलापहरूलाई सूक्ष्म रूपमा विश्लेषण गर्ने हो भने नेकपा हुँदै नेकपा (एमाले) भित्रको समस्याहरू चिन्न र विग्रहका कारणहरू बुझ्न सक्छौँ। नेपालको वामपन्थी आन्दोलनलाई छिन्नभिन्न बनाउने रणनीतिबमोजिम २०५० जेठ ०३ गतेदेखि २०७८ जेठ ०७ गतेसम्म पार्टीभित्र संस्थापनको विरुद्धमा गुटबन्दी गर्ने र मुख्य नेतृत्वलाई सके सफाया नसके बदनाम गर्ने क्रियाकलापहरू भइरहे। त्यसलाई वैचारिक र राजनीतिक रूपमा प्रतिवाद नगरेर लेनदेनको सहाराबाट विवाद निरूपण गर्ने अभ्यासले गर्दा त्यसले मौलाउने मौका पायो। अर्थात् संसदीय दल र पार्टीको वैधानिक मञ्चभन्दा बाहिरबाट प्रम र पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाउन खोज्दा २०७७ पुस ०५ मा त्यो विस्फोटन भएको थियोभने अहिले त नेका सभापतिलाई प्रम बनाउन बुर्जुवा निर्दलीय चरित्र हाबी भयो।
माधव कुमार नेपालहरूले २०७४ मङ्सिरमा नेपाली काङ्ग्रेसको उम्मेदवारसँग प्रतिस्पर्धा गरेर सूर्य चिन्ह लिएर जित्ने। अहिले जेठ ०७ गते बहुदलीय व्यवस्थामा निर्दलीय चरित्र र आचरण देखाउने अनि शेरबहादुर देउवाको घोडा बनेर नेकपा (एमाले) का विरुद्धमा बोलेर कानुनी राज खोज्ने। अब त शङ्का लाग्न थाल्यो, २०५० जेठ ०३ देखि यताको अप्रिय घट्नामा यीनकै भूमिका त थिएन?
प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार ३ : २८ बजे
प्रतिक्रिया