संविधानको धारा ७६(३) अन्तरगतको सरकारमा जसपा तटस्थ रहने हुँदा बहुमतको सम्भावना नरहने स्थितिमा प्रधानमन्त्रीले विश्वासको मत लिन आवश्यक नठानी मार्ग प्रशस्त गर्नु भएको अवस्थामा सम्माननीय राष्ट्रपतिबाट धारा ७६(५) अन्तरगतको सरकार गठनका लागि प्रस्ताव माग भएको, धारा ७६(५) अन्तरगतको सरकार वस्तुतः चुनावी सरकार हुने भएका कारण जसपा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा सहभागी हुन तयार भई पार्टीको प्रथम अध्यक्ष र संसदीय दलको नेताबाट संयुक्तरुपमा समर्थनको पत्र प्राप्त भएको, दलको प्रतिनिधित्व दलको नेताबाट हुने संसदीय परम्परा अनुसार नेकपा(एमाले)को १२१ र जसपाको ३२ प्रतिनिधिसभाका सदस्य रहेको र उक्त सङ्ख्या प्रतिनिधिसभाको स्पष्ट बहुमत पुग्ने हुँदा सम्माननीय प्रधानमन्त्रीबाट सरकारको पुनः नेतृत्वको दाबी भएको, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पार्टी औपचारिक रूपमा विभाजन नभएको र वैधानिक रूपमा विभाजन हुनसक्ने अवस्था समेत नरहेको स्पष्ट हुँदाहुँदै नेकपा(एमाले)का २६ र जसपाका १२ प्रतिनिधिसभा सदस्यको हस्ताक्षर प्रयोग गरी प्रधानमन्त्रीमा दाबी गर्नु भएको, दुवै पक्षबाट धारा ७६(५)को प्रक्रिया स्वीकार गरी प्रस्ताव प्रस्तुत भएको,दलीय हिसाबले केपी शर्मा ओलीको दाबी बलियो रहेको, तर उक्त प्रस्ताव अन्तरगतका केही सदस्यहरूको समर्थन देउवाजीको प्रस्तावको पक्षमा देखिएको ।
देउवाजीको प्रस्तावमा हस्ताक्षर गर्ने मध्येका कतिपयले अर्कै प्रयोजनका लागि हस्ताक्षर गरिएको भनेर सार्वजनिक गरेको, साथै विश्वासको मतको प्रयोजनमा उक्त सबै सङ्ख्या प्रयोग हुने वैधानिक सुनिश्चितता नरहेको स्थिति, नेकपा(एमाले) र जसपाका तर्फबाट देउवाजीको समर्थनमा रहेका प्रतिनिधिसभाका सदस्यहरूलाई कारबाही गरिने जानकारी राष्ट्रपतिलाई गराइएको अवस्थामा के कति सङ्ख्यामा कारबाही हुने हो भन्ने कुरा यकिन नभएको स्थितिमा सम्माननीय राष्ट्रपतिबाट दुवै प्रस्ताव बहुमत पाउने सुनिश्चितता नरहेको महसुस गरी अस्वीकृत भएको, सम्माननीय राष्ट्रपतिबाट धारा७६(५) अन्तरगतको सरकार गठनका सन्दर्भमा प्रस्तुत भएका प्रस्तावहरू अस्वीकृत भएको स्थितिमा धारा ७६(७) अन्तरगतको परिस्थिति स्वतः उत्पन्न भएको, यस्तो स्थितिमा यस पटकको प्रतिनिधिसभा विघटन सम्माननीय केपी शर्मा ओलीका कारणले नभई धारा ७६(७)को वाध्यात्मक परिस्थितिका कारणले हुन गएको, प्रतिनिधिसभा पुन स्थापित हुने संवैधानिक र कानुनी आधार नभएको अवस्थामा विघटित प्रतिनिधिसभाका जिम्मेवार सदस्यहरूका तर्फबाट सर्वोच्च अदालतमा गएर दलीय व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफूलाई उभ्याउने काम भएको,प्रतिनिधिसभा पुन स्थापित हुँदाको अवस्थामा नेकपा(एमाले) र जसपाले देउवाजीका पक्षमा उभिएका सांसदहरूलाई कारबाही गर्दा देउवाजीको पक्षमा बहुमत नपुग्ने अवस्था रहेको, नेपालको संविधान दलीय प्रणालीमा आधारित रहेको र कानुनतः जन निर्वाचित प्रतिनिधिहरू पार्टी र दलको अनुशासनमा रहनुपर्ने बाध्यकारी व्यवस्था गरिएको ।
दल विभाजन गर्दा पार्टी र दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने वाध्यात्मक कानुनी प्रबन्ध विद्यमान रहेकोमा स्थितिमा विद्रोहले कानुनी वैधता पाउने स्थिति नरहेको, यस्तो स्थितिमा प्रतिनिधिसभाको विघटन संवैधानिक र कानुनी रूपमा स्वाभाविक देखिन्छ ।
राजनीतिक रूपमा त एउटै चुनावी घोषणापत्रबाट चुनाव लडेका र समय क्रममा पार्टी एकता गरेका शक्तिहरूको विभाजनबाट नै नयाँ जनादेश आवश्यक भइसकेको हो ।
मध्यावधि निर्वाचनको अपरिहार्यतालाई प्रमुख प्रतिपक्षी दलका नेताहरूले समेत पटक पटक स्वीकार गरेको देखिन्छ । कसको नेतृत्वमा चुनाव गर्ने भन्ने कुरा आग्रहका आधारमा होइन संवैधानिक र कानुनी व्यवस्थाका आधारमा हुने हो । जुन कुरा केपी शर्मा ओलीको नेतृत्वको पक्षमा नै देखिन्छ ।
जहाँसम्म जिम्मेवार नेताहरूको विद्रोहको कुरा छ त्यो वैधानिक रूपमा स्थापित हुन सक्ने अवस्था होइन । राजनीतिक रूपमा त त्यो आत्मघाती कदम नै हो ।
नेपाली काँग्रेस जस्तो संसदीय प्रणालीको पैरवी गर्ने पार्टीले दलीय व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफूलाई उभ्याउने कुरा उसकै लागि पनि लज्जाको विषय हुनुपर्ने हो ।
तर नेपाली राजनीति सत्ता विरोधी मानसिकताबाट ग्रस्त भएका कारणले विरोधको प्रवृत्ति बढ्दो क्रममा छ । विगतमा गिरिजाप्रसाद कोइराला नेतृत्वमा रहँदाको समयमा पनि यस्तै परिस्थिति उत्पन्न गराइएको थियो ।तर त्यसबाट नेपाली राजनीति नै वह आयामिक द्वन्द्वको शिकार बन्नुपर्यो । अहिले पनि त्यस्तै परिस्थिति सिर्जना गर्ने कोसिस भइरहेको छ ।
जनआन्दोलनको जगमा ऐतिहासिक संविधानसभाबाट स्थापित संविधानको रक्षाका लागि ताजा जनादेशमा जानुको विकल्प देखिँदैन । म लोकतन्त्रका लागि लडेका सबै नेताहरूलाई यस विषम परिस्थितिमा गम्भीर र जिम्मेवार बन्न आग्रह गर्दछु ।
प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार १२ : ०९ बजे
प्रतिक्रिया