इस्लामावाद । पाकिस्तानमा आज बिहीबारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन नाम दर्ता शुरु गरिने भएको छ ।
कोरोना भाइरसको तेस्रो चरणको महामारीमा मानवीय क्षति न्यूनिकरण गर्ने उद्देश्यले खोप लगाउने अभियान शुरु गर्न लागिएको सरकारी उच्च अधिकारीले बताएका छन् ।
पाकिस्तानका केन्द्रीय योजना, विकास मन्त्री असद उमारले बिहीवारदेखि कोरोना विरुद्धको खोप लगाउनका लागि नामावली दर्ता गराउन थालिने बुधबार जानकारी दिनुभयो ।
सामाजिक सञ्जाल ट्वटरमार्फत उहाँले नेस्नल कमाण्ड तथा अपरेसन सेन्टर(एनसीओसी)ले नामावली दर्ता गराउने जानकारी दिनुभएको हो ।
“एनसीओसीको बुधबारको बैठकले आज बिहीबारदेखि नाम दर्ताशुरु गर्ने निर्णय गरेको छ,” उहाँले ट्वीटरमा लेख्नु भएको छ ।
खोप १९ वर्ष वा सोभन्दा माथिका सबैलाई लगाउने योजनाअनुसार सोही उमेर समूहका व्यक्तिको मात्रै नाम दर्ता गराइने उहाँले बताउनु भएको छ ।
खोप अभियानले कोरोना भाइरसबाट हुने क्षति न्यूनिकरण गर्न धेरै सहयोग गर्ने सरकारी अधिकारीले विश्वास व्यक्त गरेका छन् ।
प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार ६ : ५६ बजे
प्रतिक्रिया