देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बुद्ध : हिन्दु—बौद्ध समन्वयका प्रतीक

गौतम बुद्ध अन्तर्राष्ट्रिय व्यक्तित्व र नेपालका राष्ट्रिय विभूति हुन् । बुद्धलाई हिन्दुहरूले भगवान् विष्णुको अवतार र बुद्ध धर्मका संस्थापक मान्ने गर्दछन् । 

बुद्धका विषयमा संसारमा धेरैथरि अध्ययन भएको छ । धार्मिक हिसाबले पनि संसारको निकै ठुलो जनसङ्ख्या बौद्ध मतावलम्बी रहेको छ । ई.पूर्व ५६३ मा अर्थात् आजभन्दा २५६५ वर्षअघि नेपालको लुम्बिनीमा उनको जन्म भएको हो । 

बुद्धलाई गौतम बुद्ध, सिद्धार्थ गौतम, शाक्यमुनि बुद्ध आदि अनेकौँ नामले सम्बोधन गरेको पाइन्छ । इतिहास प्रमाणका आधारमा भन्नुपर्दा बुद्ध कपिलवस्तुका शाक्य वंशीय राजा शुद्धोदन र महारानी मायादेवीका सन्तान हुन । 

राजकुमार सिद्धार्थ गौतमबाट शाक्यमुनि बुद्ध, महात्मा बुद्ध, महामानव, शान्तिका अग्रदूत, भगवान् बन्न उनले प्राण नै सङ्कटमा पर्ने गरी कठोर तप गरेको प्रसङ्ग छ । 

कठोरताबाट नभई जीवन र लक्ष्यका बीच सन्तुलनको मध्य मार्ग अपनाएर सफलता प्राप्त हुने व्यावहारिक निष्कर्षको अवलम्बनबाट बुद्धले शान्तिको मार्ग पहिल्याएका थिए । 

यसबीच उनको तपस्याबाट प्रभावितहरूले उनको व्यावहारिक तथा सन्तुलित जीवनचर्याको आलोचना र निन्दा समेत गरेका थिए । निन्दा र आलोचनाबाट विचलित नभई, आदर्शबाट च्युत नभई, सन्तुलित साधनाबाट सिद्धि प्राप्त गर्नुभएका बुद्धको गृह त्यागदेखि बुद्धत्व प्राप्ति सम्मको विषय मनन गर्दा बुद्धलाई चिन्न गाह्रो पर्दैन । 

बुद्धलाई कहिलेकाहीँ विवादको विषय बनाइन्छ । बुद्ध विवाद होइनन्, बुद्ध त समाधान हुन् । बुद्ध खोजी मात्र होइनन्, उपलब्धि हुन् । बुद्ध खोजीका अन्त्य होइनन्, खोजिरहन सकिने व्यक्तित्व हुन् । 

नाक—नस्लमा देखिने आर्य—अनार्यमा बुद्ध भेटिँदैनन् । बुद्धको खोजी जात, धर्म र नस्लमा खोज्नु र निष्कर्ष निकाल्नु बुद्धप्रतिको अन्याय ठहर्छ । महान् व्यक्तित्वहरू जात, धर्म, नस्ल आदिभन्दा माथि हुन्छन् । बुद्धलाई कसैको स्वीकारोक्तिको चुलीमा र स्वीकारोक्ति खाडलमा खोजिनु, तोकिनु र सीमित पारिनुहुँदैन । बुद्धलाई सबै देश, सबै जाति समुदाय, सबै नस्ल, सबै धार्मिक मान्यता भएका मानिसहरूले मानुन् भन्ने सोच्नुपर्दछ । 

संसारले हरेक वर्ष वैशाख पूर्णिका दिन बुद्धको जन्मदिन मनाउँछ, हामी पनि मनाउँछौँ । बुद्धको जन्म, वंश, त्याग र उपदेशको चर्चा हुने गर्दछ । बुद्धलाई धर्म, वर्ण, अवतारसँग जोडेर पनि चर्चा गरिएकै हुन्छ । तर, के हामी बुद्धको जन्मभूमिका मानिसहरूले बुद्धलाई आफ्नो निजी, सामाजिक र राष्ट्रिय (राजकीय) जीवनमा अनुवाद गरेका छौँ ? के बुद्ध चर्चाका मात्र विषय हुन् ? के यिनी धार्मिक मत—मान्यताका विवादका विषय हुन् ? के बुद्धको खोजबाट हामी वर्तमान र भविष्यका लागि लाभान्वित हुन सक्ने मौलिक मार्गदर्शन फेला पार्न र त्यसलाई अवलम्बन गर्न सक्दैनौँ ? बुद्धको सङ्केतलाई हामीले हाम्रा समस्या समाधान र अवसर विकासको माध्यम बनाउन सक्दैनौँ ? यस्ता प्रश्नहरूप्रति इमानदार भयौँ भने बुद्धको सार संरक्षण गर्न र त्यसबाट लाभान्वित भइरहन सकिने छ, अन्यथा बौद्धलाई खोक्रा आदर्शवादी कथा र उनको जन्मस्थलको सारहीन भग्नावशेषको कथामा सीमित पारेका हुनेछौँ ।  

बौद्ध साहित्यहरू अध्ययन गर्दा उनी राजदरबारमा रहँदैदेखि केही विशिष्ट गुणहरूको वर्णन पाइन्छ । बुद्धमा प्राणीहरूप्रतिको करुणा थियो । बुद्धमा सहनशीलताको गुण थियो । बुद्धमा त्यागको भावना थियो । बुद्धमा दृढ सङ्कल्प थियो । बुद्ध संयमित र धैर्य थिए । बुद्धमा जिज्ञासु र अन्वेषक प्रवृत्ति थियो । उनी अन्तर्मुखी थिए । यी विषयलाई पुष्टि गर्ने अनेकौँ घटनाहरू कथाका रूपमा पढ्न पाइन्छ । 

आफ्नै दरबार बाहिर उनले वृद्ध मानिस देखे, बिरामी देखे र मृतक देखे र यस विषयमा आफ्ना सहयोगी सेवक (सारथि)सँग क्रमशः जिज्ञासा राख्दै गए र उनको उत्तरबाट जीवनको यथार्थ अवस्थाबारे जानकारी पाएर सिद्धार्थ गृह त्याग गरेको कथा पनि सुन्दछौँ । 

जीवनको २८—२९ वर्षसम्म बुद्धले यी विषयमा बुझ्दै नबुझेको अर्थ लाग्ने कथामा जस्ताको तस्तै सहमत हुन सकिँदैन । बरु, सिद्धार्थले सारथिलाई जीवनको वास्तविकताबारे प्रस्ट्याएको हुनुपर्दछ । यस अन्तर्क्रियाबाट आफ्नो अन्तर्मनको जिज्ञासालाई निर्णायक रूपमा मूर्तता दिएको सङ्केत हुन सक्दछ । सिद्धार्थमा बुद्ध बन्ने आन्तरिक गुणहरू पहिलेदेखि नै विद्यमान थिए । त्यसैलाई परिपक्व बनाउन, मानसिक अलमल वा दुबिधाबाट मुक्त हुन, वास्तविक शान्तिको मार्ग तथा उपायको खोजी गर्न उनले राजपाट, घर—गृहस्थी छोडेको देखिन्छ । 

हामीले प्रायः चर्चा गरिने र यहाँ चर्चा गरिएका बुद्ध गौतम बुद्ध हुन्, शाक्यमुनि बुद्ध हुन् । यसअघि पनि बुद्ध थिए । उनीहरूको यति चर्चा र स्वीकारोक्ति सीमित छ । बौद्ध दृष्टिमा यसअघि र पछिका को हो हुन् त ? जानी राखौँ । 

हिन्दु धर्म शास्त्रीय दृष्टिले हेर्दा बुद्ध भगवान् विष्णुका नवौँ अवतारको रूपमा देखिएजस्तै बौद्ध दृष्टिले हेर्दा उहाँ एउटा खास अवतार हुनुहुन्छ । बुद्ध परम्पराका दृष्टिले सिद्धार्थ गौतम, गौतम बुद्ध, शाक्यमुनि बुद्ध २८औँ बुद्ध हुनुहुन्छ । सबै बुद्धका नाम यस प्रकार छन् :

१. तण्हकर बुद्ध, २. मेघंकर बुद्ध, ३. सरणंकर बुद्ध, ४. दीपंकर बुद्ध, ५. कोण्डञ्ञ बुद्ध, ६. मङ्गल बुद्ध, ७. सुमन बुद्ध, ८. रेवत बुद्ध, ९. शोभित बुद्ध, १०. अनोमदस्सी बुद्ध, ११. पदुम बुद्ध, १२. नारद बुद्ध, १३. पदुमुत्तर बुद्ध, १४. सुमेध बुद्ध, १५. सुजात बुद्ध, १६. पियदस्सी बुद्ध, १७. अत्थदस्सी बुद्ध, १८. धम्मदस्सी बुद्ध, १९. सिद्धत्थ बुद्ध, २०. तिस्स बुद्ध, २१. फुस्स बुद्ध, २२. विपस्सी बुद्ध, २३. सिखी बुद्ध, २४. वेस्भू बुद्ध, २५. ककुसंघ बुद्ध, २६. कोणागमन बुद्ध, २७. कस्सप बुद्ध, २८. गौतम बुद्ध हुन् भने अब हुने बुद्ध २९औँ हुन् र उनको मैत्रेय बुद्ध हुनेछ । (यी नामहरू प्राकृत भाषामा छन् ।) 

हिन्दु धर्म शास्त्रअनुसार बुद्ध भगवान् विष्णुको कलियुगका अवतार हुन् । शास्त्रअनुसार भगवान् विष्णुका २४ अवतार छन् । यीमध्ये १० मुख्य अवतार छन् । यी १० मध्ये बुद्धलाई कलियुगको पहिलो र जम्मा जम्मीमा नवौँ अवतार हुन् ।
 
सिङ्गो युगका ‘प्रधान पुरुष’ मानिएका बुद्धबारे धार्मिक हिसाबले अन्यथा अर्थ लगाउनु सही हुँदैन । युग भनेको समयको ठुलो विभाजन हो । यस सम्बन्धमा विभिन्न मान्यताहरू रहेका छन् । 

हिन्दु शास्त्रहरूमा समयको विभाजन ठुलोबाट अतिसुक्ष्म सम्म गरिएको पाइन्छ । वर्ष, ऋतु, महिना, पक्ष, सप्ताह, दिन, घडी, पला आदि त प्रायः सबैले सुने—जानेकै विषय हो । यहाँ समयको ठुलो विभाजन मन्वन्तर, कल्प र युगमा गरिएको हुन्छ ।  कल्प ः ब्रह्माको एक वर्षलाई कल्प मानिन्छ । कल्पको ३० खण्ड हुन्छ । अहिलेको कल्पलाई श्वेत वाराह कल्प भनिएको छ । एक कल्पमा चौध मन्वन्तर हुन्छ । मन्वन्तर भनेको एउटा मनुको कार्यकाल हो । मनु १४ वटा हुने बताइएको छ । युग सत्य, त्रेता, द्वापर र कलि गरी चार वटा हुन्छ । हरेक युगमा भगवान् विष्णुको अवतार फेरिन्छ भन्ने मान्यता पुराणहरूमा पढ्न पाइन्छ । यस मान्यता अनुसार सत्ययुगमा मत्स्य, कूर्म, वराह, नृसिंह, वामन अवतार भएको थियो । दोस्रो युग त्रेता हो । यस युगमा दुई अवतार भयो भयो — राम र परशुराम । तेस्रो युग द्वापर हो । यस युगमा कृष्णको अवतार भयो । चौथो युग कलि हो । कलि युगमा दुई वटा अवतार हुने उल्लेख छ । ती दुई अवतार हुन् — बुद्ध र कल्कि । यस हिसाबले हिन्दु धर्मावलम्बीहरू बुद्धलाई यस युगका विष्णु हुन् भनेर स्वीकार गर्दछन् भन्ने पुष्टि हुन्छ ।    

हिन्दु शास्त्रका अनुसार भगवान् विष्णुका २४ मध्ये १० अवतार मुख्य छन् । ती १० अवतारको वर्णन यस प्रकार गरिएको छ ः 
‘मत्स्य कूर्मो वराहश्च नारसिंहोद्रथ वामनः । रामो रामश्च कृष्णश्च बुद्ध: कल्किश्च ते दशाः ।। अर्थात् मत्स्य (माछो), कूर्म (कच्छप÷कछुवा), वराह (बँदेल), नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि गरी दस अवतार छन् ।’ धर्मशास्त्र अनुसार अहिलेको युगको नेतृत्व बुद्धबाट भइरहेको छ । त्यसैले, हरेक हिन्दुले विवाह, व्रतबन्ध, देव कर्म, पितृ कर्म लगायतका कर्मकाण्डमा सङ्कल्प लिँदा ‘श्रीश्वेत वराह कल्पे, वैवस्वत मन्वन्तरे, कलियुगे, बौद्धावतारे ….’ आदि उच्चारण गर्दछन् । 

यति मात्र होइन, हिन्दु धर्मशास्त्रमा सृष्टिकर्ता भनिएका ब्रह्माका सन्तान क्रमको निरन्तरतामा समेत शाक्य, शुद्धोदनको उल्लेख हुनु र बुद्ध यही वंशका हुनु स्वीकार्यताको आधार हो । व्यासरचित १८ पुराण मध्येको विष्णु पुराणको चतुर्थ अंश, अध्याय २२ मा यस्तो उल्लेख छ ः  

‘श्री पराशर भन्दछन्…अब म भविष्यमा हुने इक्ष्वाकु वंशीय राजाहरूको वर्णन गर्दछु । बृहद्बलको छोरा बृहत् क्षण हुनेछन् । उनका छोरा उरुक्षय र उरुक्षयका वत्सव्यूह, वत्स व्यूहका प्रतिव्योम, प्रतिव्योमका दिवाकर, दिवाकरका सहदेव, सहदेवका बृहदश्व, बृहदश्वका भानु रथ, भानुरथका प्रतीतता, प्रतीताश्वका सु प्रतीक, सु प्रतीकका मरुदेव, मरुदेवका सु नक्षत्र, सु नक्षत्रका किन्नर, किन्नरका अन्तरिक्ष, अन्तरिक्षका सुपर्ण, सुपर्णका अमित्रजित, अमित्रजितका बृहद्राज, बृहद्राजका धर्मी, धर्मीका कृतञ्जय, कृतञ्जयका रणञ्जय, रणञ्जयका सञ्जय, सञ्जयका शाक्य, शाक्यका शुद्धोदन…’ उल्लेख छ । (विष्णुपुराण अंश ४, अध्याय २२, श्लोक १—८) यसरी राजा हुने क्रममा भने बुद्धको नाम नभई राहुलको नाम उल्लेख छ । यसरी गौतम बुद्धको वंश परम्परालाई सृष्टिकर्ता ब्रह्माको सन्तानको निरन्तरतामा राखिनु महत्वपूर्ण छ । यो वंश रघु, दशरथ, रामको वंश हो ।  

संस्कृत भाषाको सुप्रसिद्ध नामकोश ‘अमर कोष’ अनुसार बुद्धका २५ नाम छन् । ती नाम यस प्रकार छन् ः 
१. सर्वज्ञ, २. सुगत, ३. बुद्ध, ४. धर्मराज, ५. तथागत,  ६. समन्तभद्र, ७. भगवान्,  ८. मारजित्, ९. लोकजित्, १०. जिन, ११. षडभिज्ञ, १२. दशबल, १३. अद्वयवादी, १४. विनायक, १५. मुनीन्द्र, १६. श्री घन, १७. शास्ता, १८. मुनि, १९. शाक्यमुनि, २०. शाक्यसिंह, २१. सर्वार्थसिद्ध, २२. शौद्धोदनि, २३. गौतम, २४. अर्कबन्धु, २५. मायादेवी सुत । यी बुद्धका नाम हुन् । 
यी सबै नामका विशेष अर्थ छन् । अमर कोषमा कोषबद्ध गरिएका यी नामहरूकै कारण पनि बुद्धलाई हिन्दहरूद्वारा शक्तिशाली भगवान्को रूपमा स्वीकार गरिएको पुष्टि हुन्छ । यहाँ यो संक्षिप्त लेखमा यी सबै नामका गुह्यार्थ स्पष्ट पार्न सम्भव छैन, तथापि यिनले बुद्धका गुण, स्वभाव र सामर्थ्य वहन गर्दछन् भन्न हिचकिचाउन पर्दैन । 

हिन्दु धर्मशास्त्रसँग बुद्धलाई जोड्नुको तात्पर्य हिन्दूकरण गर्नु होइन, यसो गर्नु आवश्यक पनि छैन । संसारका सबैका लागि बुद्धको व्यक्तित्व र कृतित्व आफैमा महत्वपूर्ण छ । सनातन संस्कृतिका महत्त्व बढाउनकै लागि पनि बुद्धलाई हिन्दूकरण गरिरहन आवश्यक छैन । बुद्ध, केवल बुद्ध मात्र यस्ता मत प्रवर्तक हुन्, जसले आफ्ना पूर्ववर्ती व्यक्तित्वका कुनै विषयको आलोचना, विरोध र निन्दा गरेका छैनन् । अन्य मतका प्रवर्तकहरू खण्डन—मण्डन प्रवृत्तिबाट स्थापित भएका छन्, तर बुद्धबाट यस्तो भएको पाइँदैन । 

संसारमा फैलिएको बुद्धको प्रभावबाट केही पूर्ववर्ती मान्यताका पक्षधरहरूमाथि केही चोट परेको हुन सक्दछ र तिनको पुनः जागरणको प्रयास भएको सन्दर्भ पढ्न पाइन्छ । तर, परम शक्तिमान ईश्वर (भगवान् विष्णु) स्वयंको अवतार हुन्छ भन्ने पुष्टि गर्ने कृष्णको यो कथन — यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्यूत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् । अर्थात्, हे अर्जुन, जहिले जहिले धर्मको हानि र अधर्मको वृद्धि हुन्छ त्यति त्यति बेला म आफूm स्वयं प्रकट हुन्छु । (श्रीमद्भागवत गीता, अध्याय ४, श्लोक ७) मान्यता राख्नेहरूबाट बुद्धलाई त्यस रूपमा स्वीकार गरिएकै छ । यस विषयमा माथिल्लो परिच्छेदमा चर्चा भइसकेको छ । यति भएपछि बुद्धप्रतिको मान्यता र स्वीकारोक्तिको विषयमा अलमलिइरहन पर्ने देखिँदैन । बरु, बुद्धको अवतार हुन त्यति बेला धर्मको हानि भइरहेको, अधर्मको विस्तार भइरहेको विषयमा भने ध्यान दिन आवश्यक हुन्छ । बुद्धावतारको औचित्यको वस्तुगत अवस्थाको अध्ययन हुन आवश्यक छ । के थियो त्यस्तो कारण, भगवान् विष्णुले यति नै बेला यो अवतार लिन पर्‍यो ! 

यही कुरा अवतार नमान्नेहरूले पनि बुद्धको त्याग, तप(साधना÷खोज) र निष्कर्षहरूबाट शिक्षा लिन आवश्यक छ । खास गरी, बुद्धका यी निष्कर्षहरू — ‘बुद्ध शरणं गच्छामी अर्थात् ज्ञानको शरणमा जान्छु, ज्ञानलाई सर्वोपरि महत्त्व दिन्छु । धम्मं शरणं गच्छामी अर्थात् धर्मको शरणमा जान्छु, नीति—नियम, आचरण, कर्तव्य आदिलाई स्वीकार र सम्मान गर्दछु । संघं शरणं गच्छामी अर्थात् संघको शरणमा जान्छु, मेलजोलमा बस्दछु, अर्काको दुःखमा साथ सहयोग गर्न र आफ्नो असहजतामा सबैलाई सहभागी बनाउने व्यवहार आत्मसाथ गर्दछु ।’ यी निष्कर्षहरू मन्त्रका रूपमा स्वीकृत छन् । यति मात्र पर्याप्त छैन, यी निष्कर्षका पछाडि त्यतिबेलाको सामाजिक अवस्थाको सङ्केत गर्दछन् । ज्ञान, धर्म र सङ्घलाई सर्वोपरि स्वीकार गरी सम्मान गर्नुपर्ने आवश्यकताबारे सामाजिक अध्ययन गरेर नै बुद्ध यस निष्कर्षमा पुगेको सहज अनुमान गर्न सकिन्छ ।  हुन त बुद्धका यी निष्कर्ष कालजयी छन् र त बुद्ध कालजयी छन् । बुद्धको उपदेशमा रहेको अष्टाङ्ग मार्गको ‘१.सम्यक दृष्टि २. सम्यक सङ्कल्प ३. सम्यक वचन ४.सम्यक कर्म, ५. सम्यक आजीविका ६.सम्यक व्यायाम ७. सम्यक स्मृति ८. सम्यक समाधि’ लाई वैयक्तिक जीवनदेखि राष्ट्रिय स्तरका योजना तर्जुमा गर्न उपयोग गर्न सकिन्छ । दृष्टिकोण, दृढ सङ्कल्प, सन्तुलित र संयमित वचन, निरन्तर सत्कर्म, सदाचारमा आधारित आजीविका, स्वस्थ शरीर, स्मरणशीलता, सन्तुष्टिका विषयले गरेको स्पष्ट र सारभूत मार्गदर्शन हामीले ग्रहण गर्न सक्नुपर्ने होइन र ? 

यी विषय उपदेश र प्रवचनका मात्र विषय होइनन्, व्यावहारिक जीवनका उन्नतिका लागि वैज्ञानिक मार्गदर्शन हुन् । बुद्धको जाति, वर्ण, वंशको हिसाब गरेर, कसैसँग फरक देखाएर होइन, बुद्धको जीवनी र जन्मस्थल मात्र होइन; बुद्ध सनातन र वैशिष्ट्य दुवै दृष्टिले हाम्रा मार्गदर्शन हुन् । कम्तीमा बुद्ध हिन्दु र बौद्ध दुवैका बराबर हुन् । यस मान्यताले हामी हाम्रो संस्कृतिका आधारहरू एउटै रहेको पाउने छौँ । यसबाट हामी ठुलो अन्तर्विरोधबाट मुक्त हुन सक्दछौँ । 

बुद्धलाई हिन्दु धर्मग्रन्थमा भेटिनुलाई, विष्णुको अवतारको रूपमा ग्रहण गर्नुलाई ‘हिन्दूकरण’ गर्ने सन्दर्भमा नभई बौद्ध र हिन्दुको मिलन बिन्दुका रूपमा बुझ्नु सबैका लागि श्रेयस्कर होला !

यहाँ बुद्ध र हिन्दुका अवतारवादबारे बहस गर्न यी विषय उल्लेख गरिएको होइन । यहाँ बुद्धलाई अवतार मान्ने विषयको उल्लेख गर्नुको तात्पर्य बुद्धलाई अवतार प्रमाणित गर्नु होइन, यी मान्यता जे, छन् आआफ्ना मान्यतामा नै सुरक्षित छन् । अवतार शृङ्खलाको अध्ययनबाट जीव तथा समाज विकासको सिद्धान्तबाट हेर्दा जीवको उत्पत्तिदेखि वर्तमान अवस्थासम्मको र यसपछिको सम्भावना समेतको आङ्कलन गरिएको देखिन्छ । विषय के हो भने शाक्यमुनि बुद्ध—गौतम बुद्ध अघि पनि त्यति धेरै बुद्ध भए । तर, संसारले गौतम बुद्धलाई नै यति बढी महत्त्व दियो भन्ने हो । अवतारसँग जोड्नुको अर्थ पनि पौराणिक ग्रन्थका कथ्यलाई वैज्ञानिक तथ्यसँग जोड्नु हो ।  

समाज शास्त्रीय दृष्टिले विशिष्ट अर्थ छ । यसमा जीव विज्ञानको विषय पनि स्पष्ट छ । तर, यस विषयलाई पूजाको विषय मात्र बनाएर बुझ्दा यसको अन्य वैज्ञानिक पक्ष ओझेल परेको छ । त्यसैले दस अवतारको विषयलाई वैज्ञानिक दृष्टिले हेर्दा, बुझ्दा र विश्लेषण गर्दा भगवान् विष्णु र विष्णुका अवतारको अन्तर्य बुझ्न सकिन्छ । 

पानीबाट उत्पन्न जीवको प्रतिनिधित्व गर्ने माछोदेखि विशिष्ट अर्थ बहन गर्ने ज्ञान, धर्म र संघको माध्यमबाट पूर्ण सभ्य मानव समाजको उपदेश दिने बुद्धसम्मको मानव विकास क्रम बुझ्न सहयोग हुने विषय ‘अवतार’मा संश्लेलित रहेको तथ्य पुष्टि हुन्छ । 

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  २ : ५८ बजे