‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मण्डनदेउपुर १० दिन सिल, बनेपा र पनौतीमा थप

काभ्रेपलाञ्चोक । पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ । 

बनेपा र पनौती नगरले पनि आजदेखि नगरक्षेत्र थप पाँच दिन सिल गरेको जनाएका छन् ।

दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्न नगरले अत्यावश्यकबाहेकका सेवा १० दिनका लागि सिल गरेको जनाएको हो ।

 “औषधि र इन्धनबाहेकका सम्पूर्ण सेवा १० दिनलाई बन्द गरेका हौँ”, नगरप्रमुख टोकबहादुर तामाङले भन्नुभयो । नगरमा हाल ११८ पुरुषसहित १६९ सङ्क्रिय सङ्क्रमित रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी सक्रिय सङ्क्रमित रहेकाले बनेपाले यही जेठ ४ गतेबाट गरेको सिलको समयावधि आजदेखि दोस्रोपटक पाँच दिन थपेको हो । नगरपालिकाले मर्निङवाकसमेत गर्न दिएको छैन । बनेपा जिल्लाको प्रमुख शहर हो । जेठ ८ गतेबाट सिल गरेको पनौती नगरले पनि पहिलोपटक पाँच दिन सिलको समयावधि थपेको छ ।

सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै मण्डनदेउपुरसहित काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले हाल आफ्नो क्षेत्र सिल गरेका छन् । 
बनेपा, धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगर, मण्डनदेउपुर नगर, रोशी गाउँपालिका, बेथानचोक र भुम्लु गाउँपालिकाले आफ्ना क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाएका हुन् । 

पाँचखाल नगरले भने बन्दमा मदिराजन्य पसल सञ्चालन गरे छ महिना अनुमति खारेज गरी रु ५० हजार जरिवानासमेत गर्ने जनाएको छ । साथै सिल गरिएका स्थानीय तहले फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनसमेत निर्देशन दिएका छन् । 

सूचना विभागबाट जारी प्रेस पासबाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचना एवं प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लामा १० दिन निषेधाज्ञा थप गरेको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् । रासस

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ९ : ३० बजे