साफ यू–१७ च्याम्पियनसिप आजदेखि

माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति स्थापना गरिँदै

काठमाडौँ । श्रीरामनवमीका अवसरमा आज चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारमको मूर्ति प्रतिस्थापन गरिने भएको छ । 

प्रतिस्थापनका लागि राम–सीताको मूर्ति  रथयात्रासहित मंगलबार काठमाडौंबाट चितवन पुगिसकेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गर्नुभएको थियो । 

बिदाइपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै देवघाटतर्फ पठाइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा गएको रथयात्रा समूह बेलुकी देवघाट पुगेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । 

श्रीरामनवमीका दिन आज बिहान गण्डकीमा स्नानसहित पूजा आराधना गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ यात्रा अघि बढ्ने छ । आज मध्याह्न १२ः३० बजे मूर्ति प्रतिस्थापन साइत रहेको उहाँले सुनाउनुभयो । प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत राखिएको जनाइएको छ ।
 
यात्रामा संस्कृति मन्त्रालयका सचिव यादव कोइराला, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलगायत कोषका पदाधिकारी सहभागी हुनुभएको जनाइएको छ । 

गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गर्नुभएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ८ : १४ बजे