‘नेशनल डे कन्सर्ट’ सम्पन्न

माछा सम्बन्धी रोमाञ्चक र आश्चर्यजनक कुराहरू

पृथ्वीमा करोडौं करोड प्राणीहरू पाइन्छन्। बासस्थान र रहनसहनका आधारमा प्राणीहरूमा जलचर, स्थलचर, उभयचर र नभचर गरि चार प्रकारका हुन्छन्। तर यहाँ जलचर प्राणी मध्ये माछाको मात्र चर्चा गरिन्छ। माछाका अनेक रोमान्चक र भयानक विशेषताहरू हुन्छन्। जलीय जीवहरू मध्ये माछा सबैभन्दा उत्कृष्ट र रोमाञ्चक प्राणी हो। हिन्दू र बौद्ध शास्त्रका अनुसार माछालाई मत्स्य अवतार मानिएको छ।  यसलाई मानिसको पुर्खा पनि भन्ने गरिएको छ। माछाको बारेमा संसारमा अनेक मिथकहरू रहेका छन्। कतिपय त्यस्ता मिथकहरू विज्ञानसम्मत र कल्पनामा आधारित पनि छन्।  यहाँ माछाका अनेक रोमान्चक र भयानक गुणहरूको चर्चा  गरिन्छ। 

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संगठन र विश्व खाद्य संगठनका अनुसार पृथ्वीका जलाशयहरूमा तीस हजारदेखि चौंतीस हजार प्रकारका माछाहरू पाइन्छन्। ती मध्ये एक हजार एकसय त्रिहत्तर प्रजातिका माछाहरू लोप हुने खतरामा छन्।  महत्वपूर्ण कुरा के छ भने यस धरतिमा रहने सबैभन्दा बढी प्राणीको सङ्ख्या माछाकै रहेको कुरा वैज्ञानिकहरूले पुष्टि गरेका छन्। 

पानीभित्र रहने सबै प्राणीहरू माछा हैनन्। प्रचलित विश्वब्यापी मान्यता अनुसार माछाका विशेषता नभएका जलीय जीव र प्राणीलाई पनि माछा नै भनिन्छ। ह्वेल, डल्फिन र सार्कका केही प्रजातिलाई माछा नमाने पनि चलनचल्तिमा माछा नै भनिन्छ। तसर्थ यहाँ उल्लेख गरिएका सबै जलीय प्राणीलाई माछाकै रूपमा चर्चा गरिएको छ। 

माछाका केही यस्ता प्रजाति पनि छन् जसलाई गाई, भैंसी, भेडाबाख्रा र कुखुरा जस्तै पालन गरेर आम्दानी गर्न सकिन्छ। कार्प, ट्राउट, क्याटफिस, सौन्दर्य माछा र अन्य धेरै प्रजातिका माछालाई पालन गर्न सकिन्छ। कतिपय देशको मुख्य आम्दानीको स्रोत नै माछा हो। नेपालमा पनि विक्रम सम्वत् २०१३ सालदेखि आधुनिक तरिकाले माछा पालनको शुरूआत गरिएको हो। 

अधिकांस माछाले कुखुराले जस्तै अण्डा पार्छन् र कोरलेर बच्चा निकाल्छन्। तर केही यस्ता माछा पनि हुन्छन् जस्ले सिधै बच्चा पैदा गर्छन्। मानिस जस्तै माछा पनि भुलक्कड र बुद्धिमान स्वभावका हुन्छन्। गोल्डफिस भुलक्कड हुन्छ भने डल्फिन सबैभन्दा बुद्धिमान मानिन्छ। सबै जसो माछा केवल एकै दिशातर्फ पौडिन्छन्। तर ट्रिगरफिस भने युद्धक विमान जस्तो अगाडि पछाडि र उल्टो सुल्टो पनि पौडिन्छ। समुद्रमा पाइने पाइलटफिसले अन्य माछालाई बाटो देखाउने काम गर्छ। यसले आफ्नो समूहबाट छुटेर बाटो बिराएका माछालाई सैयौं किलोमिटरसम्म यात्रा गरेर उसकै समूहसँग मीलन गराउछ। यो एउटा परोपकारी माछा हो। अर्को लडाकु माछा पनि समुद्रमा पाइन्छ। जसले अरू सँगको युद्धमा गुमाएको अङ्ग तत्काल सिर्जना गरि हाल्छ, जसलाई स्टार फिस भनिन्छ। 
गोलियाथ टाइगर धेरै डरलाग्दो हुन्छ। उसले सिङ्गै गोहीलाई पनि निल्न सक्छ। अमेजन नदीमा पाइने लेसइटर्स माछाले मान्छेलाई सिङ्गै निल्न सक्छ। अमेजनमै पाइने असासिंस माछाको जिब्रो हड्डीले बनेको हुन्छ। उसको जिब्रोले चपाउने काम गर्छ। क्यान्डुरीफिस निकै विषालु हुन्छ र आफ्नो विषद्वारा शिकार गर्छ। एलिगेटरगार माछा सार्क जस्तै खतरनाक हुन्छ। जसले सबैभन्दा बढी आक्रमण मानिसमाथि गर्छ। किलर क्याट फिसले पनि मानिसलाई आक्रमण गर्ने भएकोले यसलाई नरभक्षी माछा भनिन्छ। कङ्गो नदीमा पाइने डेमनफिस झन् बढी खतरनाक माछा हो। जसले ठूला ठूला प्राणीलाई शिकार गरेर निल्न सक्छ। पत्थर माछा अर्थात् स्टोनफिस सबैभन्दा विषालु माछा हो। यदि यो माछा खाएमा केही समयभित्रै मानिसको मृत्यु हुन्छ। पेरू, कोलम्बिया, ब्राजिल र भेनेजुएलाका जलाशयमा पाइने इलेक्ट्रोनिक इल माछाले चारदेखि पाँचसय भोल्टसम्मको विद्युतीय तरङ्ग पैदा गरि आफू नजिकका प्राणीलाई मार्न सक्छ। बिजुलीमाछाले घोडा समानको कुनै पनि प्राणीलाई सजिलै मार्न सक्छ। समुद्रीघोडा माछाले आखालाई जुनसुकै दिशातर्फ पनि घुमाएर हेर्न सक्छ। यसले पानीको वातावरण अनुसार आफ्नो शरीरको रङ पनि बदल्न सक्छ। यो माछाको पौडिने गति अरू माछाको भन्दा कम हुन्छ। नीलो ह्वैल माछा पाँच सात महिनासम्म भोकै पनि बाँच्न सक्छ। समुद्रमा पाइने एक प्रकारको फ्रिल्ड सार्कको प्रजनन र बच्चा पैदा गर्ने अवधि तीनदेखि पाँच वर्षसम्मको हुन्छ। धेरै जसो सार्क माछाको करिव तीसहजार वटा दाँत हुन्छन्। सैलफिस माछा सबैभन्दा तिब्र गतिमा पौडिन सक्छ र डल्फिनले सबैभन्दा टाढासम्मको आवाज सुन्न सक्छ। यसले पानीभित्र चौबीस किलोमिटर परसम्म सुन्न सक्छ। साथै यसले निद्राको बेलामा पनि आधा दिमागले काम गरि रहेको हुन्छ।

वैज्ञानिकहरूले सार्क चालीस करोड र जेली फिस पैंसठ्ठी करोड वर्षदेखि अस्तित्वमा छन् भनेर पुष्टि गरेका छन्। सार्क माछा निद्राको समयमा पनि पौडिन सक्छ। सनफिस अर्थात् सूर्यमाछाको पोथीले एक वर्षमा कम्तिमा असी हजारदेखि तीन करोड वटासम्म अण्डा पार्छ। कतिपय देशमा यो माछा हाइब्रिडाइजेसन गरि पोखरीमा पालन पनि गरिंदै आएको पाइन्छ। बिरालो माछाले सत्ताइस हजार किसिमको स्वाद अनुभव गर्न सक्छ। जबकि मानिसले सात हजार किसिमको स्वादमात्र थाहा पाउनँ सक्छ। सार्क माछाले समुद्रभित्र आवश्यकता अनुसार उसको शरीरको तापक्रम घटबढ गर्न सक्छ। संसारमा सबैभन्दा ठूलो आकार र तौल भएको माछा दैत्य सार्क हो, जसलाई ब्लू ह्वेल पनि भनिन्छ। यसको तौल पच्चीसदेखि एकसय असी मेट्रिकटन हुन्छ। ब्याटफिस अर्थात् चमेरेमाछा कुनै खतराको महसुस गर्ने बित्तिकै आफूलाई मरेतुल्य बनाउछ र कुनै रूखको पात पानीमा तैरिएको जस्तै देखिन्छ। समुद्रमा उड्ने माछा पनि पाइन्छ जो पानीको सतहबाट करिव पाँच फीट बढीको उचाइमा पचासदेखि दुईसय मिटर टाढासम्म उड्छ। ऐनाबलिप्स माछाका चारवटा आखा हुन्छन्। यसले एकै समयमा तलमाथि र दायाँबायाँ हेर्न सक्छ। 

सालमन माछाले प्रजनन गरेर वंश बृद्धि गर्न हजारौं किलोमिटर लामो कष्टकर यात्रा गर्छन्। उनीहरू समुद्रबाट चीसो र सफा पानी हुने नदीको मुहानसम्म गएर अण्डा दिन्छन् र बच्चा कोरलेर बाँचेकाहरू फेरि समुद्रमा फर्कन्छन्। माछा पानीमा मात्र पाइने जीव भनिए पनि यस्तो माछा पनि पाइन्छ जो पानी बाहिर पनि रहनँ सक्दछ। मड स्किपर माछा उभयचर माछा हो। यो पानीभित्र र पानी बाहिर पनि रहन सक्छ। साथै मिलियाबिटा माछाले अण्डा नपारिकन सिधै बच्चा जन्माउछन्। नेपालमा पालिँदै आएको तिलापीया माछाको प्रजनन क्षमता धेरै उच्च छ। यसले तीसदेखि पचास ग्राम तौल भएपछि एक वर्षमा तीनदेखि पाँच पटकसम्म प्रजनन गरेर एकै पटकमा दुईसयदेखि दुईहजार वटासम्म अण्डा पार्छ। अष्ट्रेलियन लङफिस करिव नब्बे वर्षसम्म बाँच्न सक्छ।
र, अन्त्यमा संसारभरका महिलाहरूले आफूलाई सुन्दर देखाउन ओठमा लगाउने लिपिस्टिक माछाको बोसोबाट बनाइएको हुन्छ। त्यसैले होला नारीहरू माछाजस्तै गुणवान र राम्रा हुन्छन्।

(लेखक  मत्स्य विज्ञ हुनुहुन्छ ।) 

 

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  १२ : ५७ बजे