साफ यू–१७ च्याम्पियनसिप आजदेखि

संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सुरु

काठमाडौं । सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल गर्न गठित कार्यदलको बैठक सुरू भएको छ ।

सिंहदरबारस्थित कानून मन्त्रालयमा बसेको बैठकमा कानूनमन्त्री पदम गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सहभागी हुनुहुन्छ ।

सोमबार नै कार्यदलको बैठक बसेर छलफल गर्ने तयारी भएपनि बैठक बस्न सकेको थिएन ।

मंगलबार बिहान फेरि बैठक बोलाइएका कारण आफूहरु छलफलमा सहभागी भएको र पुरानै अडान कायम रहेको कांग्रेस सहमहामन्त्री परियारले बताउनुभयो ।

‘हिजै बस्ने भनिएको थियो । तर हिजो उहाँहरुले नै बैठक स्थगित गर्नुभयो । फेरि आज बोलाउनुभयो,’ उहाँले भन्नुभयो, ‘हाम्रो अडान उही हो । उहाँहरुले भनेजस्तो सामान्य छानबिन समिति गठन गर्ने कुरा होइन । देशको गृहमन्त्रीले ठगी गरेको आरोप लागेको छ, त्यसकारण उहाँको नाम तोकेर नै छानबिन गर्ने हो ।’

सत्तापक्ष र प्रतिपक्षबीच संसदीय छानबित समिति गठन गर्ने सहमति भएपनि त्यो समितिको कार्यादेशमा गृहमन्त्रीको नाम समावेश गर्ने वा नगर्ने भन्ने विषयमा मतभेद छ ।

संसदीय समिति गठनका विषयमा सहमति नभए आज पनि कांग्रेसले संसद्का दुवै सदनको बैठकमा अवरोध गर्ने जनाएको छ । कांग्रेसले यही माग राखेर बजेट अधिवेशन सुरु भएयताका सबै बैठकहरुमा अवरोध गर्दै आएको छ । तर सोमबार भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षीको नाराबाजीकाबीच प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ११ : १८ बजे