‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय,चित्त नबुझे आज पनि निहु खोज्ने

काठमाडौं । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस सहित अन्य विपक्षी दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको नेपाली काग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो छानबिनका लागि बनेको समितिको कार्यदेश तय भएपछि त्यसमा चित्त बुझे सरकारी काममा प्रबेश गर्न कुनै अबरोध नहुने बताउनु भयो । विपक्षी दहरुको बैठकले गृहमन्त्री लामिछानेले सहकारी प्रकरणका सम्बन्धमा चित्तबुझ्दो जवाफ दिए मात्र संसद चल्न दिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पाटीका प्रवक्ता ज्ञान बहादुर शाहीले जानकारी दिनुभयो ।

विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए ।गतिरोध अन्त्यको प्रयासमा शनिबार बसेको सत्ता पक्ष र प्रतिपक्ष दलहरुको संयुक्त बैठकमा संसदीय समिति गठन गर्ने सहमति भएको थियो । समितिको कार्यादेश (टीओआर) टुंगो लागेको छैन । कार्यादेश टुंगो लगाउन एमाले नेता एवम् कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहनु भएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ११ : ५३ बजे