‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

गाउँबस्तीमा डुल्दै गीत सुनाउने न्यून दृष्टियुक्त दम्पत्ति

वेदकोट ।  ‘बैरागी काइला’ नामले चिनिने सर्जक धनबहादुर र उहाँकी पत्नी प्रमिला दुवै न्यून दृष्टियुक्त हुनुहुन्छ । यतिबेला उहाँहरु छिमेकीको सहारामा कञ्चनपुर र कैलालीका गाउँबस्ती चाहारी रहनुभएको छ । 

    बर्दियाको बडैयाताल गाउँपालिका–८ कण्ठपुरका उहाँहरु पारिवारको आर्थिक अवस्था नाजुक भएपछि आफूले सृजना गरेका गीत गाउँदै आर्थिक सङ्कलनमा जुट्नुभएको छ । बाँसुरी, सारङ्गी र मादलको धुनमा सुमधुर गीत गाउँदै गाउँ सहर डुलेर आर्थिक सङ्कलन गरेर परिवारको गुजारा चलिरहेको छ । 

    “घरमा कमाउने कोही छैन । भएकै खेतमा बाली लगाउन पनि खेतालाको भर पर्नुपर्छ । खान लाउन र छोराछोरीलाई पढाउन पैसा अभाव छ । त्यसकै लागि खर्च जोहो गर्न आर्थिक सङ्कलन गरिरहेका छौँ”, कञ्चनपुरको झलारीमा भेटिनुभएका धनबहादुरले भन्नुभयो, “दसैँँतिहार र छोराछोरीको विद्यालयको बिदाको समय गाउँ सहर डुल्छौँ ।”

    जन्मजातै न्यून दृष्टियुक्त धनबहादुरले केही गीत रेकर्ड पनि गराउनुभएको छ । थुप्रै गीत सृजना गरे पनि आर्थिक अभावले रेकर्ड गराउन नसकेको उहाँले सुनाउनुभयो । गीत रेकर्ड गर्न नसके पनि गाउँबस्तीमा आफूले सृजना गरेका गीत सुनाउने गरिरहनुभएको छ उहाँ । उहाँ कहिले माया पिरतीका गीत सुनाउनुहुन्छ त कहिले दुःख, सुख र व्यथाका । 

    “अहिले अडियो मात्रै निकालेर भएन । भिडिओ पनि बनाउनुपर्छ । खर्च धेरै लाग्ने भएकाले बनाउन सकिएको छैन”, उहाँ भन्नुहुन्छ, “आफूलाई खान लाउनलाई त धौ धौ छ । कसरी गीत रेकर्ड गराउने ?”

    गाउँबस्ती डुल्दै गीतमार्फत उहाँहरु आफ्नो कथाव्यथा सुनाउनुहुन्छ । धनबहादुरका चार सन्तान छन् । तीमध्ये दुई छोरीको बिहे भइसकेको छ । हाल साथमै रहेका एउटी छोरी कक्षा १० र छोरा ८ मा अध्ययनरत छन् । 

    “हामीहरुले आँखा देख्न सकेनौँ । छोराछोरी आँखा देख्छन् । शिक्षा दिएर उनीहरुलाई बाहिरी संसार देख्ने बनाउने सपना छ”, प्रमिलाले भन्नुभयो । परिवारको आर्थिक अवस्था नाजुक भएपछि डेढ दशकदेखि ठाउँठाउँ डुलेर सहयोग सङ्कलन गरिरहेको उहाँको भनाइ छ । झलारी भेटिनुभएका उहाँहरु धनगढी हुँदै घरतिर जाने बताउनुहुन्छ ।

    “छोराछोरीको विद्यालय पनि सुरु भइ सक्यो । अब घरतिर जान्छौँ”, धनबहादुरले भन्नुभयो, “गीत गाउँदै देशका विभिन्न ठाउँ पुगिन्छ । सबैतिर माया गरेर सहयोग पाउँदा निकै खुसी लाग्छ ।” बाँसुरी, सारङ्गी, किबोर्ड, हार्मोनियम, मादललगायत वाद्ययन्त्र बजाउने गरेको उहाँ बताउनुहुन्छ ।
 

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ७ : ३४ बजे