सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउनुभएकाे छ । नेपाली कांग्रेस र नाउपाका बहुमत सांसदहरुको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिनुभएका हाे ।

आजको विश्वासको मतको मतदानमा कांग्रेस र नाउपाका ५ सांसदले बहिष्कार गरेका थिए । उनीहरुले प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्ति गरेको भन्दै विरोध गरेका थिए ।

आजको मतदान प्रक्रियामा २८ सांसद सहभागी रहेका थिए । सबै २८ मत विश्वासको मतको पक्षमा परेको थियो ।  

एकीकृत समाजवादीका सोडारी एमाले र माओवादीको समर्थनमा यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाको १ र १ स्वतन्त्र सदस्य छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  १२ : ४३ बजे