मदनको रहस्यमय जिप दुर्घटना र हामीले गुमाएको ‘नेपालरत्न’

जवज जनताको जीवन पद्धति हो, यसको आलोकमा नेपाल समृद्ध बन्दछ र नेपालीहरू सुखी हुन सक्दछन्। 

 

२०५० साल जेष्ठ ३ गते अर्थात् आजभन्दा ३० वर्ष अगाडी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको जीव दुर्घटनामा रहस्यमय मृत्यु भएको दिन । सम्पूर्ण नेपालीहरूले नेपाली कम्युनिष्ट आन्दोलनका चम्किला नक्षत्र गुमाएको दिन अर्थात् सम्पूर्ण नेपालीहरुकालागि कालो दिन ।

एक चितवनवासीको नाताले जेठ ३ को सन्दर्भलाई म यहाँ यसरी जोडन चाहन्छु । जननेता मदन भण्डारीले चितवनमा एउटा कार्यक्रममा सम्बोधन गर्ने सेड्युल तयार थियो र उहाँ त्यही कार्यक्रममा सहभागी हुन पोखराबाट चितवन आउँदै हुनुहुन्थ्यो । आउँदा आउँदै आँवु खैरेनीमा गोरखाका पार्टी संस्थापक समेत रहेका मेरो दाइ ध्रुव खड्का लगायत गोरखकाली रबर उद्योगका मजदुर साथीहरूले उहाँलाई भव्य स्वागत गरेका थिए । पोखराबाट मदनसँगै आउनु भएका ऋषि कट्टेल त्यही आँवु खैरेनीमा ओर्लिनु भएको थियो । त्यसदिन आँवु खैरेनीका कमरेडहरूले मदन भण्डारीलाई त्यही बस्न अनुरोध गर्नु भएको थियो । तर चितवनको कार्यक्रमका कारण उहाँले फेरी आउने बाचा सहित बिदाइको हात हल्लाएर चितवनतर्फ प्रस्थान गर्नु भएको थियो ।

 

मदन भण्डारी चितवन आउने कार्यक्रम थाहा पाएपछि म सहित युवा सङ्घ लगायत सप्तगण्डकी र वीरेन्द्र क्याम्पसका साथीहरू मदन भण्डारीको स्वागत गर्न नारायणगढको पीया मेडिकल हल नजिक जम्मा भएका थियो । हाम्रा आँखाहरू, मनहरू कतिबेला मदन कमरेड आउनुहुन्छ होला भनेर बाटोभरि विछिरहेका थिए । हामी उहाँलाई पर्खिरहेका थियौ, तर नारायणगढमा मदन भण्डारी आउनु भएन । मदन भण्डारीको हत्या रहस्यमय बन्नुका धेरै कारणहरू छन् । चितवनवासी हुनुको कारण पनि म यो घटनाको एक प्रत्यक्षदर्शी थिए । एक्कासि एउटा अधबैँसे मान्छे स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै नारायणगढको पीया मेडिकल हलमा प्रवेश गर्छ । उसले प्यान्टको गोजीमा गाडीको चाबी झुन्ड्याएको थियो । उसका दाहिने हातको गोली गाँठादेखि कुहिनासम्म केही दरारिएका चोटहरू थिए । तर त्यो मान्छे को हो ? भन्ने हामीलाई थाहा थिएन । जब पीया मेडिकल कलेजका चिकित्सकहरूले उसको दरारिएको घाउँमा डिटेल लगाइदिए । त्यसपछि उसले कुनै अज्ञात व्यक्तिलाई फोन ग¥यो र भन्यो, काम फत्ते भयो । हामी छक्क प¥यौ । के भएको होला ? त्यो मान्छे को होला ? हामीलाई एक खालको छटपटाहट बढिरहेकै थियो । हाम्रो मन उकुसमुकुस भइरहेकै थियो । तर त्यसको केही मिनेट नबित्दै हामीलाई थाहा भइहाल्यो । जननेता मदन भण्डारी चढेको जिप दासढुङगामा दुर्घटना भैसकेको रहेछ र त्यो मान्छे मदन भण्डारीको चालक अमर लामा पो रहेछ । यति कुरा बुझेपछि हामी केही सोच्न नसक्ने अवस्थामा थियौँ । यो घटना सुनेपछि मलाई मेरो पैतालाहरू जमिनमुनि भासिएँ जस्तो र टाउकोमाथि आकाश खसेजस्तो अनुभूति भइरहेको थियो । त्यहाँ हुनै नसक्ने कल्पना नै गर्न नसक्ने कुरा भइसकेकाे थियो । मनमा एक खालको छटपटाहट थियो । तर हाम्रो अगाडी केही विकल्प थिएन । त्यसपछि हामी आँखाभरि आँसु र मनभरी पीडा बोकेर साथीहरूसहित दासढुङगातर्फ लागेका थियौँ ।

दासढुङगा, जहाँ मदन भण्डारी चढ्नु भएको जिप दुर्घटना भएको थियो, त्यहाँ लगभग ३० बटा जति मोटरसाइकल र ४-५ वटा गाडीहरू थिए । ट्याटु खोपेका गुन्डाजस्ता ३०÷४० जना मानिसहरू थिए । हामी एक खालको अलमलको र डरको अवस्थामा थियौँ । हाम्रा अगाडी रुनुको विकल्प थिएन । किनकि हामीले हाम्रा प्रिय नेताहरू गुमाइसकेका थियौ। त्यतिवेला दासढुङगा वरपर रहेका सबै छाप्राका ढोकाहरू बन्द थिए । कोही पनि मानिसहरू बोल्न चाहँदैनथे । बिस्तारै दासढुङगामा मानिसहरू सङ्ख्या बाक्लिन थालिसकेको थियो । आँवु खैरैनीस्थिति गोरखकाली रबर उद्योगमा कार्यरत मेरो दाइ ध्रुव खड्का लगायत अन्य मजदुरहरू, चितवन र गोरखा जिल्लाबाट जिल्ला कमिटीका जिम्मेवार नेताहरू पनि घटनास्थल आइपुग्नु भएको थियो । त्यतिवेला प्रायशः सबै मानिसहरू रोई रहेका थिए । प्रिय नेताहरू गुमाउँदाको पीडामा त्रिशूलीको तीरमा अर्को आँसुको समुन्द्र बगेको थियो । तर हाम्रा आँसुहरूले मदन र आश्रितको जीवन फर्काउन सकेन ।

हामी लगायत केही कमरेडहरूले त्यहाँका स्थानीयहरूसँग सोधपुछ गरेर घटनाको विवरण लिन चाह्यौ । तर कोही बोल्न तयार थिएनन् । एक जना वृद्ध दम्पती (जो अहिले नहुन पनि सक्नुहुन्छ) उहाँहरूको भनाई अनुसार मदन भण्डारी पौडिएर बाहिर निस्कन खोज्नु भएको तर अरूले फेरी कुटपिट गरेर मारेर पानीमै खसाई दिएको जस्ता अभिव्यक्ति दिनु भयो । उहाँहरूका अनुसार, घटनामा परेको मान्छे को हो ? उहाँहरूले थाहा नपाएको भए पनि मान्छेहरूको अहिलेको उपस्थितिले ठुलै मान्छेको यसरी यहाँ हत्या गरियो भन्ने खालको अभिव्यक्ति ती बुडाबुढीको थियो ।

जीवराज आश्रितको शव गाडीभित्रै फेलापरेपनि मदन भण्डारीको केही पत्तो थिएन । मानिसहरू मदनलाई जीउदैँ भेट्न सकिने अपेक्षामा थिए । मानिसहरूको चाहना उनी पौडिँदै पौडिँदै त्रिशूलीको कुनै किनारमा टुक्रुक्क बसिरहेको अवस्थामा हुन सक्नुहुन्छ भन्ने अपेक्षा गरिरहेका थिए । उहाँलाई जिउँदै पाउने आशामा मानिसहरू दासढुङगादेखि त्रिशूलीका दुवै किनारामा मदनलाई खोज्न लामबद्ध भए । तर हामीले मदनलाई पाउन सकिनौ ।

त्यसपछि दासढुङगामा काठमाण्डौ लगायत देशका विभिन्न भागबाट मानिसहरूको ओइरो लागेको थियो । जीवराज आश्रितको सब गाडीभित्रै फेलापरेपनि मदन भण्डारीको केही पत्तो थिएन । घटनाको भोलीपल्ट मात्रै नारायणगढभन्दा तल घोप्टो अवस्थामा सुतिरहेको मदनको सब फेला प¥र्यो । त्यो अप्रत्याशित घटना असत्य होस भन्ने हाम्रो चाहना थियो तर आँखै अगाडीको घटना पत्याउनुको पनि हामीसँग विकल्प थिएन ।

मदन भण्डारी बितेको पनि अहिले लगभग ३० वर्ष बितिसकेको छ । आजभन्दा ३० वर्ष अगाडी देशको राजधानी टुँडिखेलबाट मदन भण्डारीको मृत्युको शोकलाई शक्तिमा बदल्ने कसम खाएका हामी नेकपा एमालेका कार्यकर्ताहरू अहिले उहाँले विकास गरेको जनताको बहुदलीय जनवादको आलोकमा हुर्किरहेका छौ । यो ३० वर्षमा देशमा धेरै राजनीतिक आर्थिक र सामाजिक परिवर्तनहरू भएका छन् । अहिले नेपाली माटो र मौलिकतामा उहाँको विचारले उचाइ प्राप्त गरेको छ र यसलाई थप समृद्ध बनाउने जिम्मा अहिले नेकपा एमालेका नेता कार्यकर्ताहरूको जिम्मामा आएको छ । यो दिनमा हामीले मदन भण्डारीलाई यसरी सम्झन सक्छौ की उहाँको भौतिक शरीर हाम्रो वीचमा नभएपनि हाम्रो मन मस्तिष्कमा हाम्रो वैचारिक आदर्श नेताकोरुमा, जनताका प्रिय नेताकोरुपमा, नेपाली माटोमा जवजको विकास गर्ने एक सिद्धान्तकारकोरुपमा मदन भण्डारी सदैव जीवित रहनु हुनेछ ।

आजभन्दा ३० वर्ष अगाडी दासढुङ्गामा हामीले हाम्रा नेताहरू गुमाए पनि, उहाँहरूलाई गुमाउनु पर्दाको पीडामा त्रिशूलीमा हाम्रा आँसुहरू सागर बनेर पोखिए पनि आज उहाँले विकास गरेको जवजको आलोकमा नेकपा एमालेले जुन हैसियत प्राप्त गरेको छ,  मुलुकमा जुन आर्थिक सामाजिक र राजनीतिक परिवर्तन भएको छ, त्यसमा सबै नेपालीहरूले र अझै नेकपा एमालेका कार्यकर्ताहरूले त थप गौरव गर्न सक्नुपर्दछ । मदनको भौतिक शरीर हाम्रो वीचमा नभएपनि हाम्रो मन मस्तिष्कमा हाम्रो वैचारिक आदर्श नेताकोरुमा, जनताका प्रिय नेताकोरुपमा, नेपाली माटोमा जवजको विकास गर्ने एक सिद्धान्तकारकोरुपमा मदन भण्डारी सदैव जीवित रहनु हुनेछ । म मदनलाई यसरी नै सम्झन चाहन्छु । 

मदन भण्डारीको विचार, जनताको बहुदलीय जनवाद नेकपा एमाले मात्रैको विचार नभएर सिङ्गो कम्युनिष्ट आन्दोलनको साझा विचार वनेको छ । १० वर्ष बन्दुकको भरमा सत्ता प्राप्तिको आन्दोलनमा रमाएको माओवादी समेत अहिले भन्न र स्विकार्न नचाहे पनि जवजको सिद्धान्तलाई स्वीकार गरेको अवस्था छ । मदन भण्डारीको जवजको विचारको आलोकमा देशमा ठुलठुला राजनीतिक परिवर्तनहरू भएका छन् । यो विचारको जगमा धेरै मानिसहरूले राजनीतिक हैसियत समेत प्राप्त गरेको अवस्था छ । तर हामीले अझै जवजको आत्मालाई यसको मूल मर्मलाई नेपाली समाजको आर्थिक सामाजिक रूपान्तरणसँग जोडन सकिरहेका छैनौ । यसलाई जनताको जीवन पद्धतिसँग जोडन सकिरहेका छैनौ । त्यसैले मदनको त्यो शोकलाई शक्तिमा बदल्ने हिजोको नारा र परिभाषा आज बदलिनु पर्दछ । जवज हरेक मानिसहरूको जीवन पद्धतिसँग जोडिनु पर्दछ । जवज, मानिसहरूको ओठमा खुसीको बहार र देशको विकाससँग जोडिनु पर्दछ र यो दर्शनले सुखी नेपाली र समृद्ध नेपालको नारालाई सार्थक बनाउने कुरामा हामीले काम गर्नु पर्दछ । त्यसपछिमात्रै, रहस्यमय जिप दुर्घटनामा मदनले छट्पटिदै सम्झिएको देश बनाउने सपनालाई हामी बिपनामा रूपान्तरण गर्न सक्दछौ । अन्तमा, जननेता कमरेड मदन, तपाईँको त्रिशूलीको किनारको त्यो अन्तिम चित्कार कस्तो थियो, त्यो छटपटिमा परिवार र देशप्रति तपाईँको माया मोह कस्तो थियो ? एकपल्ट गहिरिएर यो मर्मलाई सोच्यौ भने हामी मदनका सपनालाई यथार्थमा अनुवाद गर्न सक्छौ । अन्त्यमा, श्रद्धेय नेताहरू जननेता कमरेड मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दछु ।   

 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ४ : ३१ बजे