मुलुकलाई बाह्य हस्तक्षेपबाट मुक्त गराउन एमाले बलियो शक्ति बन्न जरुरी: ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाललाई बाह्य हस्तक्षेपबाट मुक्त गराउन पनि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताउनु भएको छ।

राष्ट्रिय युवा संघ नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

नेपाल बाह्य हस्तक्षेपको शिकार भइरहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले बाह्य शक्तिको हेपाइबाट जोगिन पनि एमाले बलियो शक्तिको रुपमा उदाउन जरुरी रहेको बताउनुभयो। उहाँले मुलुकलाई वाह्य हस्तक्षेप हुन नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व लिएको बेला काम गरेको समेत स्मरण गराउनुभयो।

नेता पोखरेलले कहिल्यै पराधिन नभएको मुलुकको राष्ट्रिय स्वाधीनतालाई बचाई राख्न पनि एमाले बलियो शक्ति हुनुपर्ने भएकाले पार्टीको सो अभियान चलाएको पनि स्पष्ट पार्नुभयो।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीलाई बलियो राष्ट्रिय शक्तिमा बदल्ने गरी अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ८ : ४० बजे