दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

समाज कल्याण परिषद्लाई डिजिटाइजेसनमा लैजान मन्त्री चौधरीको निर्देशन

काठमाडौँ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेसनको प्रक्रियामा लैजान कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण कार्यक्रममा कर्मचारीलाई निर्देशन दिनुहुँदै उहाँले डिजिटाइजेसन अहिलेको आवश्यकता रहेको बताउनुभएको हो । 

उहाँले आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउन परिषद्का पदाधिकारी तथा कर्मचारीलाई आग्रह गर्नुभयो । “परिषद्लाई अझ राम्रो बनाउन मैले केही काम गर्न खोजेको छु, यहाँहरूले त्यसमा साथ दिनुपर्छ”, मन्त्री चौधरीले भन्नुभयो, “हामीले परिषद्लाई डिजिटाइजेसनमा लैजाने भनेका छौँ । त्यसका निम्ति भेण्डर आह्वान गर्ने निर्णय गरेका छौँ, त्यसलाई अगाडि बढाउनुस् ।”

समाज कल्याण परिषद्लाई प्रादेशिक संरचनामा लैजान जरुरी रहेको उहाँले बताउनुभयो । कर्मचारीको वृत्तिविकास तथा कार्यसम्पादन मूल्याङ्कनमा ध्यान दिन जरुरी रहेको उहाँको भनाइ थियो । कर्मचारीको वृत्तिविकास, कार्य सम्पादन मूल्याङ्कन गरी बढुवाका लागि प्रक्रिया अगाडि बढाउनसमेत उहाँले निर्देशन दिनुभयो । 

“कर्मचारीको वृत्तिविकास, कार्यसम्पादन मूल्याङ्कन गरी बढुवाका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुस्”, उहाँले भन्नुभयो, “कर्मचारीबीच विभेद नगर्नुस् । नयाँले पुरानालाई काम सिकाउनुपर्छ । उनीहरूलाई तालिमको व्यवस्थापन, वृत्तिविकास, कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्छ ।” 

पदीय जिम्मेवारी निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिनुहुँदै उहाँले अरूले के गरे भनेर खोतल्दा आफ्नो काम, कर्तव्य र दायित्व नबिर्सन आग्रह गर्नुभयो । 

यसैगरी समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले संस्थाप्रति विश्वासको वातावरण तयार गर्नुपर्ने धारणा राख्नुभयो ।  परिषद्का सदस्य सचिव मनोज भट्टले परिषद्ले गर्ने कामहरू निकै संवेदनशील भएकाले हाम्रो देशका निम्ति कुन उद्देश्यले कसरी पैसा आइरहेको छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बताउनुभयो । 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ७ : १९ बजे