मन्त्री नियुक्ति नभई मन्त्रालय पुगेर निर्देशन

 काठमाडौँ।  २ महिना पहिले मधेशमा गृह तथा आन्तरिक मामला मन्त्रीबाट हटेका  मोहम्मद   समिमले सोमबार गज्जबको रमिता देखाउनु भएको छ। मधेशमा जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन एमाले र माओवादीले फिर्ता लिएपछि अब कसको नेतृत्वमा सरकार बन्छ भन्नेमा अन्योल छ। तर यो अन्योलबीचमा उहाँ  सोमबार गृह तथा आन्तारिक मन्त्रालय गएर अब आफू नै  यो मन्त्रालयमा आउने भन्दै कर्मचारी राखेर निर्देशन दिनुभएको थियो। मन्त्री नभई  पूर्व मन्त्री समिमद्धारा कर्मचारीहरू सँग मन्त्री जस्तो व्यवहार गरेको भन्दै उनीहरूले गुनासो गरेका छन् । 

मधेस प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जसपा नेपाल संसदीय दलका नेता सरोज यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री यादवले एकातिर आफ्नो नेतृत्वको सरकार जोगाउनमा लागेका छन् भने अर्को तर्फ नेकपा एमाले,नेकपा माओवादी केन्द्र जनमत पार्टी र लोसपा सहितका दलले नयाँ सरकार गठनको तयारीमा जुटेका छन् । मुख्यमन्त्री यादवलाई नेपाली काँग्रेस , लोसपा र नेकपा समाजवादी पार्टीले समर्थन दिएमा मात्रै यादव नेतृत्वको सरकार जोगिन सक्छ । 

मधेस प्रदेशमा कसको नेतृत्वमा सरकार गठन हुने हो भने कुराको अन्योल  रहेकै समय नेपाली काङ्ग्रेसबाट विगतमा मन्त्री भएकाहरू सरकारकै मन्त्री जस्तो मधेस प्रदेशका मन्त्रालयहरूमा गएर कर्मचारीहरूलाई निर्देशन दिन थालेको सोमबार  देखियो । 

काँग्रेस सँगको गठबन्धनमा विगतमा मुख्यमन्त्री बनेका यादव नेतृत्वको सरकारमा नेपाली काँग्रेस वाट गृह,सञ्चार तथा कानुन मन्त्री बनेका सप्तरीका मोहम्मद समिमले बुधवार गृह,सञ्चार तथा कानुन मन्त्रालयको मन्त्री बस्ने कार्यकक्षमा गएर कर्मचारीहरूलाई बोलाई योजनाहरूको सम्झौता गर्न निर्देशन दिन थालेपछि कर्मचारीहरूले असहज महसुस गरेको नाम नखोल्ने सर्तमा एक कर्मचारीले जानकारी दिए । 

पूर्व मन्त्री समिमले आफ्नो पालामा केही कर्मचारी भर्ना गरेको र सो कर्मचारीहरूलाई मन्त्रालयमा गई मन्त्रीको कार्यकक्षमा बोलाएर विभिन्न खालका निर्देशन दिन थाले पछि पूर्व मन्त्रीले आफ्नो माननीय पदको दुरुपयोग गर्न खोजेको त्यहाँका अन्य कर्मचारीहरूले महसुस गरेका थिए । नेकपा एमाले ले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिए पछि निर्वतमान गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सोमबार बाट मन्त्रालय जान छाड्नुभएको छ।  सोमबार बाट गृह,सञ्चार तथा कानुन मन्त्रालयमा मन्त्री विहीन रहेको अवस्थामा पूर्व मन्त्री समिमले मन्त्रालयमा गएर पदको दुरुपयोग गरेको नाम नखोल्ने सर्तमा मन्त्रालयका कर्मचारीले बताएका छन् ।

 समिम गएको बेलामा मन्त्रालका सचिव भने मुख्य सचिवकोमा रहेका थिए। त्यस बेला २ इन्जिनियर, एक कम्प्युटर अधिकृत र २ कार्यालय सहयोगी  मन्त्रालयमा उपस्थित रहेको बताइएको छ। 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ११ : ४५ बजे