साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ आज हुने

काठमाडौ ।  क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ  मंगलबार हुने भएको छ । उच्च अदालत पाटनमा आजका लागि मुद्दाको पेशी तोकिएको हो । 

यसअघि गत वैशाख २३ गतेको पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेको थियो ।

काठमाडौं जिल्ला अदालतले सन्दीपले जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए । काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई बालिग ठहर गरेको तथा सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ ।

दुवै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ सुरु भइसकेको छ । उच्च अदातलले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनलाई १२ वर्षभन्दा बढी जेल सजाय हुनेछ । उनले लिएको मागदाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोगमुक्त हुनेछन् ।

तर, उच्च अदालतले जिल्ला अदालतको फैसला जस्ताको तस्तै सदर गरिदिएमा सन्दीपले आठ वर्ष पुर्पक्षको अवधि कटाएर पूरा समय जेल बस्नुपर्नेछ । जिल्ला अदालतको आदेश सदर भएमा सन्दीपले सर्वोच्चमा पुनरावेदन गर्दा समेत थुनामा बसेरै गर्नुपर्नेछ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ९ : ०६ बजे