संसद खुलाउन कांग्रेस सकारात्मक, संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । दलको बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिको बैठक राखेका छन् ।

संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे सिंहदरवारस्थित दलको कार्यालयमा बस्न लागेको हो । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान राख्दै आएको काँग्रेसले संसद्का दुवै सदनमा अवरोध गर्दै आएको छ ।

तर मंगलबार सरकारले आगामी आर्थिक वर्षालागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम भएकाले सोका लागि संसद्मा अवरोध गर्ने वा नगर्ने भन्ने विषयमा दलको बैठकले निर्णय लिनेछ । प्रमुख सचेतक रमेश लेखकले नीति तथा कार्यक्रममा काँग्रेसले अवरोध गर्ने वा नगर्ने भन्ने विषयमा बैठकले निर्णय लिने बताए ।

छानबिन समिति गठन गर्नुपर्ने मागमा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक भएपनि त्यसबारे सत्तारुढ दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भने अडान राखेका छन् । नेपाली कांग्रेसले संसद अवरुद्ध खुलाउने विषयमा संसदीय दलको बैठकपछि निस्कर्षमा पुग्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर कांग्रेसले सदन खुलाउन सकारात्मक भएको बताइन्छ । 

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री दाहालसँगकाे भेटमा प्रधानमन्त्रीले आज संघीय संसदकाे दुबै सदनमा राष्ट्रपति रामचन्द्र पाैडेलले सम्बाेधन गर्ने भएकाले संसद  अवराेध नगरिदिन अनुराेध गरेका थिए ।  प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा समस्या समाधानकाे लागि पहल गरिरहेकाे आश्वासन दिएपछि   कांग्रेस  अवरुद्ध सदन खुलाउन सकारात्मक भएकाे  प्रमुख सचेतक रमेश लेखकले बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ८ : ५७ बजे