देशकै ठुलो र पहिलो विद्यार्थी महोत्सव भोलिदेखि  

काठमाडौँ।  अनेरास्ववियुले भोलिदेखि हुने ‘विद्यार्थी महोत्सव’ को तयारी पुरा गरेको छ ।आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारी सबै पुरा भएको  अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिनुभयो । 

उहाँले विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर जानकारी गराउन महोत्सव गर्न थालिएको बताउनुभयो । काठमाडौँको भृकुटीमण्डपमा जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुने महोत्सवको पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुने छ । 

युवा विद्यार्थीलाई मातृभूमि प्रति प्रेम र स्नेह जगाउँदै ‘नेपालमै पढ्छु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गर्दै ‘विद्यार्थी महोत्सव’ का माध्यमबाट एउटा नयाँ जागरण ल्याउने प्रयत्न गर्ने उहाँले बताउनुभयो । अध्यक्ष बडालले विद्यार्थी महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीको बारेमा जानकारी गराउनुको साथै शिक्षा प्रणाली सुधार गर्न के के आवश्यक छ भनेर सुझाव दिने बताउनुभयो । 

उहाँले विद्यार्थी महोत्सवबाट बचेको पाँच प्रतिशत रकम गरिबी, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका लागि दिइने घोषणा गर्नुभयो ।नेपालको विद्यार्थी आन्दोलनको इतिहासमा यो कार्यक्रम सबैभन्दा ठुलो शैक्षिक महोत्सव हो ।

महोत्सवमा  प्रत्यक्ष परियोजनाहरू, .लाइभ म्युजिक, करियर काउन्सिलिङ्ग,  बहस र संवाद, सात वटै प्रदेश झल्कने खालका सांस्कृतिक कार्यक्रम, रक्तदान तथा स्वास्थ्य शिविर, .फुड स्टल, ई–गेमिङ्ग प्रतियोगिता,  रोवोटिक्स, पर्यटन भिजन,  विश्वविद्यालय जानकारी,  कानुनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता,.चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण कार्यक्रम गरिने छ । यस्तै विद्यार्थी महोत्सवमा सामूहिक छलफल समेत हुने छ । 

विद्यार्थी आन्दोलनको छ दशक र अबको कार्यभार, शिक्षा प्रणालीको पोलिटिकल इन्जिनियरिङ कस्तो ?, कसरी सम्भव छ राजनीतिक स्थायित्व ?, बदलिँदो भूराजनीति र नेपाल, विश्वविद्यालय सुधार किन र कसरी ?, युवा विद्यार्थी पलायनको अर्थ राजनीतिक आयाम लगायतका विषयमा नेपालका राजनीतिक दलका नेताबीच सामूहिक छलफल हुने छ । 

विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्न र नेपालको शैक्षिक प्रणाली तथा त्यसमा सुधार गर्नुपर्ने पक्षका बारेमा सामूहिक छलफल गरी आएका निष्कर्षलाई हामीले सरकार र सम्बन्धित निकायलाई सुझाव दिने उहाँले बताउनुभयो  । 

‘विद्यार्थी महोत्सव’ बाट विदेशमा होइन नेपालमै उत्कृष्ट गुणस्तरीय शिक्षा छ र नेपालको शिक्षाबाट नै केही गर्न सकिन्छ भन्ने सन्देश दिने खोजेका अध्यक्ष बडालले बताउनुभयो ।  विद्यार्थी महोत्सवका संयोजक धर्म गिरीका अनुसार महोत्सव’ मा १५० भन्दा बढी शैक्षिक स्टल राखिने छन् । 

‘विद्यार्थी महोत्सव’ विद्यार्थीलाई मनोरञ्जन प्रदान गर्नका लागि लाइभ म्युजिक कार्यक्रम समेत राखिएको छ । जोन एण्ड दि लोकल्स, द इलिमेन्ट र अनुप्रस्थ जस्ता चर्चित ब्याण्डका कलाकारहरुले प्रत्येक दिन दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सांगितिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गर्नुहुने छ । महोत्सवमा देशभरिबाट करिव एक लाख विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य लिएका राखिएको छ । 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : २९ बजे