कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले मागे विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्नुभएकाे छ ।  केहीबेरअघि सुरु भएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले विश्वासको मत माग्नुभएकाे हाे। 

एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्की वैशाख २७ मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाएको बैठकमा नेपाली कांग्रेस भने अनुपस्थित रहेको छ ।

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा विचराधीन रहेको मुद्दाको फैसलालाई सबैले मान्ने बताउनुभयाे ।

कोशीमा बहुमत पुर्याउन ४७ प्रदेश सभा सदस्यको आवश्यकता पर्दछ ।  प्रदेशसभामा एमालेका उप सभामुख सहित ४०, काँग्रेसका २९, माओवादीका १३, सभामुख सहित राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपा नेपालको १ सांसद रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  २ : २० बजे