गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ: प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कैयौँ गुणाबढी विकास भएको बताउनुभएको छ । 

नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि प्रधानमन्त्री दाहालले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताउनुभयो । 

“राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ–२५० वर्षमाभन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युत्जस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारितालगायतका मानवीय विकासका क्षेत्रमा नेपालले राम्रो प्रगति गरिरहेको छ ।” 

अहिले सडक विभागअन्तर्गत काठमाडौँको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माण भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदीलगायतका नदीमाथि ‘सिग्नेचर’ पुल निर्माण भइरहेका प्रधानमन्त्रीको भनाइ छ । उहाँले पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । 
 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १२ : ०९ बजे