नयाँ समीकरणको साइड इफेक्टः एस र जसपा घरको न घाटको 

काठमाडौँ। कुनै बेला एसका अध्यक्ष माधव नेपाल एमालेका  प्रभावशाली महासचिव हुनुहुन्थ्यो। एमालेको सशक्त उपस्थितिको कारण त्यसलाई नेतृत्व गर्नुभएका नेपाल  प्रभावशाली नेता मानिनु हुन्थ्यो। त्यसैले उहाँको व्यक्तित्वले  एमाले बनेको थिएन । एमालेले उहाँको व्यक्तित्व बनाई दिएको थियो।  जसरी  सङ्ख्या  र हतियार धेरै भएको सेनाको सेनापति प्रभावशाली हुन्छ     पार्टीमा नेतृत्व पनि त्यस्तै हो भन्ने उदाहरण धेरै पटक नेपाली जनताले भोगी सकेका छन् । 

 अहिले माधव नेपाल काँग्रेस र माओवादीले जिताई दिएका १० सांसदको  पार्टीको विवादित नेता बन्नु परेको छ। त्यो अरु कसैले होइन आफ्नै बुद्धिले गर्दा हो । 

 नेकपा एस अहिले घरको न घाटको अवस्थामा पुग्ने अवस्थामा छ।   सत्ता पक्षमा बस्न सक्ने अवस्था छैन। त्यसै गरी प्रतिपक्षमा पनि ठाउँ छैन। संसद्मा  नेमकिपा र जनमोर्चाका लाइनमा बस्नु पर्ने छ। संभावत केही दिनमा एसले सरकार छोड्ने छ।  सो पार्टीको स्थायी समितिको बैठक जारी छ। बैठकले एमालेलाई तहस नहस अवस्थामा पुगेको विश्लेषण गरेको छ। यो विश्लेषणले सो पार्टीका अध्यक्ष माधवकुमार नेपालको वैचारिक स्तर सार्बजनिक गरेको छ। एसले आफू सत्तामा बस्ने अवस्था नहुनु र प्रतिपक्षमा पुग्दा भूमिकाहीन हुने कुरालाई  समेत ख्याल नगरेर एमाले तहस नहस भएको भन्दै कुण्ठा पोखेको छ। अब एसले केन्द्रमा मात्र होइन, प्रदेशमा समेत हात धुनुपर्ने अवस्था उत्पन्न भएको छ। 

सोमबार  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदै हुनुहुन्छ। एसले कार्कीलाई विश्वासको मत नदिने निर्णय  गरेको छ। एसले विश्वासको मत नदिए पनि कार्कीलाई सुविधाजनक बहुमत पुग्न कुनै कठिनाइ छैन। 

 एसको भागमा परेको सुदूरपश्चिम  प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले पनि जेठ ३ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ। कोशीमा एसले जे कारण देखाएर सोमबार विश्वासको मत नदिने निर्णय ग¥यो , सुदूरपश्चिममा एमालेले पनि सोही कारण देखाएर विश्वासको मत नदिने तयारी गरेको स्रोतले बतायो। 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि नेपालको राजनीतिमा ठुलो प्रभाव पार्न सक्ने नेता हुनुहुन्थ्यो। कुनै बेला मधेसी जनअधिकार फोरमका अध्यक्ष रहँदा यादवको नेतृत्वमा ५२  जना संविधान सभा सदस्य थिए। तर यस बेला आएर सो पार्टी पनि घरको न घाटको हुने अवस्थामा रहेको छ।   १२ सिटबाट घटेर ५ सिट भएको जसपा नेपालको संभावत आज दिनभरिमा बिदाइ हुने  सम्भावना रहेको एक नेताले जानकारी दिए। 

जसपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने र अशोक राईले पार्टी फुटाएको विषयमा अदालतमा मुद्दा दायर गर्ने लगायतका एजेन्डामा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको छ। 

आइतबार जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो। सो बैठकले सरकारबाट बाहिरिने विषयमा छलफल गरे पनि निर्णय भने केन्द्रीय समितिबाट गराउन लागिएको एक नेताले बताए।  

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १० : २८ बजे