महामन्त्री थापा सहितलाई  लिएर देउवा बालुवाटारमा 

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको  टोलीबीच   छलफल जारी छ। प्रधानमन्त्रीले नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाउनुभएको थियो  ।

काँग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु अहिले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल थालेका छन् । छलफल जारी रहेको बताइएको छ। देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र कृष्णप्रसाद सिटौलालाई लिएर बालुवाटार जानु भएको हो । काँग्रेस भित्र प्रतिपक्षको भूमिका  निर्वाह  गर्दै आएका महामन्त्री  थापालाई समेत साथ लिएर जानुले काँग्रेस भित्रको राजनीतिमा महत्त्वपूर्ण अर्थ राख्ने बताएको छ। 

सदनमा देखिएको अवरोध, काँग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्ने लगायतका विषयमा कुराकानी गर्न काँग्रेस नेताहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै सङ्घीय संसद्का दुवै सदन अवरुद्ध पारेको छ। संसद्को हिउँदे अधिवेशनमै विरोध सुरु गरेको काँग्रेसले शुक्रवार सुरु भएको बर्खे अधिवेशनको पहिलो दिन नै दुवै सदन अवरुद्ध पारेको थियो। 

हिजो बसेको काँग्रेसको कार्य सम्पादन समिति बैठकले संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने निर्णय गरेको थियो। काँग्रेस कडा रूपमा प्रस्तुत हुन थालेपछि प्रधानमन्त्री प्रचण्डले आज निवासमा बोलाएर छलफल गर्नुभएको बताइएको छ।  

सरकारले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ। जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण लगायत पेस गर्नुपर्ने भएकाले बजेटको तालिका प्रभावित नबनाउन प्रधानमन्त्रीले काँग्रेसलाई अनुरोध गर्नु भएको बुझिएको छ। 

 

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ९ : ५९ बजे