साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पारदर्शिता र सुशासन एक अर्काको पूरकः  राष्ट्रपति

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक भएको बताउनुभएको छ । उहाँले न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका महालेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा समेत व्यक्त गर्नुभयो ।

नेपाल चार्टर एकाउण्टेण्ट्स सङ्घ (एक्यान) द्वारा आयोजित कार्यक्रमको विहिबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । “ मुलुकभर सक्रिय महालेखापरीक्षकै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोको रूपमा पनि लिन सकेका छौँ, हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु गराउनु नै लेखा परीक्षकको उच्चतम धर्म हो, आफ्नो कर्ममा धर्म नबिर्सनु नै न्याय हो, तसर्थ, न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका महालेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

महालेखापरीक्षक सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरूमा पारदर्शिता कायम गर्न योगदान पुगेको विश्वास व्यक्त गर्दै उहाँले सम्बन्धित निकायलाई पारदर्शी र जबाफदेही बनाउन चार्टर एकाउण्टेण्टको विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्त्वपूर्ण हुन्छ भन्नुभयो । “कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाब प्रणालीको पारदर्शिता हो, देशको आर्थिक विकास र राजस्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुन्छ, विकास निर्माणका ठुलो खर्चमा प्रयोग हुन सक्ने फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव हुन सक्दछ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ११ : ३६ बजे