गोंगबुको होटलमा एक युवती मृत फेला

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक होटलमा एकजना युवती मृत फेला परेकी छन्।  मोरङको लेटाङ नगरपालिका-२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, शुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको भन्दै खबर आएपछि उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो ।

तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेका थिए । प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन । प्रहरीसमक्ष कार्कीले दिएको बयानअनुसार, लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए । त्यसक्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि उनले पासो निकालेका थिए । काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, भण्डारीको परिवारलाई पनि तत्कालै खबर गरिएको थियो ।

परिवारले अहिले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ । भण्डारीको दायाँ आँखा सुन्निएको जस्तो देखिएको छ भने शरीरका अन्य भागमा पनि झगडा भएजस्तो देखिने चोट रहेको प्रहरी स्रोत बताउँछ । घटनास्थलमा सुसाइड नोट वा अन्य कुनै संकेत फेला परेको छैन । भण्डारीका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ३ : १२ बजे