देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कतै सन्दीप लामिछाने नै बलात्कृत भएका पो हुन् कि !

सरसर्ती हेर्दा कतिलाई लाग्दो हो, सन्दीप लामिछाने बलात्कारी हो ! हाम्रै अगाडी उसलाई बलात्कारजन्य गम्भीर आरोप मात्रै लागें, काठमाण्डौ जिल्ला अदालतले उनको विपक्षमा फैसला समेत गर्‍यो l उनलाई आर्थिक दण्ड सहित आठ बर्षे जेल सजाय पनि तोकेको छ l भलै यो फैसला जनअपेक्षा अनुकूल भएजस्तो कमै मान्छेलाई लागेको छ l

हुन त अदालती प्रक्रिया र फैसलाको असम्मान गर्ने मनसाय यो लेखकमा रत्तीभर छैन l तैपनि अनुसन्धानको गहिराइमा पुग्नबाट सम्बन्धित निकाय कतै चुक्यो कि भन्ने मनको खुल्दुली अझै मेटिएको छैन l

हाम्रो नजरमा युवतीको म्यासेज वा फोनकल, सहयोगको याचना, नगरकोट घुम्न जाऊँ भन्ने आग्रह, हाउभाउ, होटेलमा बास बस्ने जिद्धि आदि तत्कालीन परिदृश्यलाई निरपेक्षरुपमा नियाल्दा स्वयं सन्दीप लामिछाने नै बलात्कृत भएका पो हुन् कि भन्ने पनि लाग्दछ l

पूर्वयुगहरुमा ठुलठुला ऋषिमुनीहरुको घोर तपस्या भङ्ग गर्ने नियतले इन्द्रले अप्सराहरूलाई प्रयोग गर्थे अरे भन्ने कथा धर्मग्रन्थहरूको श्रवणमा सुनिन्थ्यो, त्यसै गरी आधुनिककालमा नेपाली क्रिकेट जगतमा पनि त्यसैको अनुकरण गर्दै कतै सन्दीपको कुशलता, प्रगति, बढ्दो प्रभाव र एकाएक आकासिएको लोकप्रियता देखेर मुर्मुरिएका ईर्ष्याले जलेका अदृश्य राकसहरूले नवयुवतीको प्रयोग गरेर उनको हाइहाइ, प्रतिष्ठा र करिअर नामेट गराइदिन खोजेका त होइनन् ?

यदि त्यसो हो भने तिनीहरूले सन्दीपलाई सिद्ध्याउने खेलोमा नेपाली क्रिकेट जगतको उज्यालो भविष्यलाईसमेत नराम्ररी अँध्यारोमा धकेल्दिने अपराध गरे l राष्ट्रिय गहनाको रूपमा दुनियाँले शिरमा सिउरेको एउटा समर्पित क्रिकेटरको कोपिलामै कत्लेआम गरिदिए l त्यसैले तिनीहरू सजायका मुख्य पात्र हुन् l

हुन त, सबभन्दा पहिला उनी स्वयंले नै आफ्नो जिम्मेवारीको भार र प्रतिष्ठाको गरिमा बुझ्नु पर्दथ्यो l कलिलै उमेरमा सङ्घर्षको मसिनो धागोमा टेकेर प्राप्त गरेको प्रसिद्धि र भाग्यले जुराएको अवसरको सीमा र मर्यादाको कदर गर्नु पर्दथ्यो l जो पायो त्यही सँग जिस्करिएर जता पायो त्यतै डुल्न जिम्मेवारीको बोझले मलाई अनुमति दिँदैन भन्ने ज्ञान हुनु पर्दथ्यो l

अर्कोतिर, कतै आफ्नै मित्ररुपी टिममेट र सम्भावित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्त्वका वक्रदृष्टि पनि आँफु माथि मडारिएको हुन पनि सक्छ भन्ने हेक्का उनमा हुनै पर्दथ्यो l तर कलकलाउँदो जवानीको ढोटे बुद्धिले नै होला उनी त्यसमा बचकाना ठहरिए l खैर, नहुनु पर्ने कुरो भई नै सक्यो l फड्को मार्न सुरु गरेको नेपाली क्रिकेट फेरि बित्ता नाप्ने अवस्थामा झर्‍यो l

संविधान प्रदत्त ऐन कानुन लैंगिकरुपमा एकसर्के र नैतिकहरामहरुको लागि आय आर्जनको धारिलो हतियार बन्न नपुगोस् l  

हुन त कानुन सबै प्रति समान हुनु प्राकृतिक न्यायको सिद्धान्त हो l बलात्कार सम्बन्धी सवालमा अन्तर्य बोध नगरी भावनात्मक रूपले मात्रै देशको कानुन सधैँ महिला मैत्री मात्रै हुने हो भने यसले समाजमा भयावह विकृति र विसङ्गतिको बीउ उमार्न सक्दछ l एउटी साँच्चिकै पीडित वा देखावटी पीडित महिलाले अरूको उस्काहट वा आफ्नै मनोगत स्वार्थ सिद्ध गर्ने लहडले कुनै पनि दोषी वा निर्दोष पुरुष समेतलाई जे मन लाग्यो त्यही र जहिले मन लाग्यो तहिले आरोप लगाउने बित्तिकै पुरुष पीडक नै ठहरिई हाल्नु पर्ने तर महिला चाहिँ पानी माथि सधैँ ओभानो देखिने मान्यता किमार्थ न्यायसङ्गत हुनै सक्दैन l  यस अर्थमा पनि मौजुदा कानुन असाध्य एकतर्फी र पनपक्षी देखिन्छ l  

हप्तौं, महिनौँ वा वर्षौं पछि पनि बलात्कार जस्तो जघन्य आरोप जो कोहीलाई पनि लगाउन पाउने संवैधानिक प्रावधानलाई बेलैमा सच्याइएन भने क्रमिकरुपमा यसले समाजलाई विद्रूप बनाउँदै जाने छ l  बिस्तारै महिला अस्मिता संरक्षण सम्बन्धी कानुनी प्राथमिकता अत्यधिक मात्रामा दुरुपयोग हुन सक्दछ l बेलैमा कानुनबेत्ताहरुको घैँटामा घाम लागेन भने कुनै दिन प्राथमिकताजन्य अधिकार दुरुपयोगको अचुक सिकार जुनसुकै विवेकशील र प्रतिष्ठित महिलाका आफ्नै बाबु, काका, मामा, दाजुभाइ, श्रीमान्, देवर, जेठाजु आदि समेत नबन्लान् भन्न सकिन्न l कि आँफु र आफ्नै निकटस्थहरूलाई नै यस्ता खालका बासी आरोप नलागेसम्म आँखा नखुल्ने हो ? हुन त आफ्नै खुट्टाको बूढीऔंलामा ठेस नलागेसम्म त्यसको टन्को कसलाई अनुभूत हुन्छ र ! भरसक संविधान प्रदत्त ऐन कानुन लैंगिकरुपमा एकसर्के र नैतिकहरामहरुको लागि आय आर्जनको धारिलो हतियार बन्न नपुगोस् l  

लैंगिक समानता आजको आवश्यकता हो l न्यायको तराजु सानाठूला, धनी, गरिब, महिला, पुरुष आदि सबैको लागि बराबर हुनै पर्दछ l न्याय सबैका लागि होस् l

 

(यी बिचारहरु लेखकका नीजि विचारहरु हुन् । लामिछानेको मुद्दा अदालतमै बिचाराधिन रहेकाले  यस्को निरुपण अदालतबाटै हुनेछ ।  बलात्कारका नाउँमा झुटामुद्दा दायर गर्ने प्रयासहरु पनि बढ्दै गएकाले हामीले यस विषयमा बहश चलाउन आवश्यक ठानेकाले मात्र यस लेखलाई स्थान दिएका हौं– सम्पादक )

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १ : २७ बजे