मिसन ८४ सफल पार्ने अचुक उपाय 

इलाम र बझाङ उपनिर्वाचनमा एमाले उम्मेदवारको जितले दुई वटा सन्देश दिएको छ । एक पार्टी सङ्गठन सञ्जाल सबल हुनुपर्छ र अर्को उम्मेदवार पनि सही हुनुपर्छ ।  नीति, सिद्धान्त, कार्यक्रम,कार्यदिशा र जनसेवाका काममा  तुलनात्मक रूपमा पार्टी सही भए पनि ती कामहरू आम जनतामा प्रवाहित गर्न सङ्गठनको कुशल सञ्जाल महत्त्वपूर्ण हुन्छ । राम रमिते प्रचारक भन्दा स्थानीय स्तरमा  पार्टीका ब्यानर बनेका सेतै कपाल फुलेका आजीवन निःस्वार्थ रूपमा लागिपरेका नेता र कार्यकर्ता विजयका मूल आधार हुन् । यसको चुरो कुरो सिद्धान्तअनुसार  पार्टी सङ्गठन सबल हुनुपर्छ ।  माओले पार्टीको सिद्धान्त अमुक प्रमुख नेताले मात्र जानेर हुँदैन हरेक नेता र कार्यकर्ताले जानेको हुनुपर्छ भन्नु भएको छ । यसको पनि अर्थ एमाले पार्टीका समग्र नेता र कार्यकर्ता चुस्त दुरुस्त, कामकाजी र जनताका बीच लोकप्रिय हुनुपर्छ भन्ने हो । ज्वाइँजस्ता नेता र अभियन्ताबाट माखो पनि मर्दैन । पार्टी र मोर्चा सङ्गठनका भेला र मेलाबाट मात्र पार्टीको खुट्टा बलिया  हुँदैनन्  । राँटो नराखी जातियो भने मात्र फसल लाग्छ ।  बोक्रा र पलाँसका भरमा  मात्र हुन्न चुरोयुक्त पार्टी र सङ्गठन अपरिहार्य हुन्छ ।  यसका लागि नेता र कार्यकर्तालाई विभिन्न विषयमा  कार्यशाला मार्फत प्रशिक्षित गर्नुपर्छ ।  योजनाबद्ध रूपमा परिणाम हासिल गर्ने उद्देश्यका साथ सक्रिय हुनुपर्छ । नेपालमा विभिन्न पेसा व्यवसायबाट सेवा निवृत्त कामकाजी सेवामुखी  कार्यकर्ता नेता र बुद्धिजीवीको सङ्ख्या पर्याप्त रहेको छ । तिनलाई कुनै न कुनै खालको कामको जिम्मेवारी दिने हो भने त्यसले राम्रै परिणाम ल्याउँछ । नाम मात्रको होइन कामको पार्टी र मोर्चा सङ्गठन अब अपरिहार्य हुन्छ । गाउँ, नगर प्रदेश र देशलाई एमालेमय बनाउनेलाई सर्वथा उपेक्षा गरेर प्रतिफल प्राप्त हुँदैन । विगतमा राजनीति र राजकीय क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई मात्र पुनः अवसर दिनुपर्छ नत्र सेवा गर्छु भन्नेलाई सधैँ उपेक्षा  गरियो भने मिसन किमार्थ सफल हुँदैन । सबै सधैँ तेङसिआओ पेङ हुँदैनन् र जन्मिँदैनन् । आलोचनात्मक चेतका इमानदारहरू रुष्ट भए भने थेग्न गाह्रो पर्छ । रिस उठेका बेला बाजेले पनि वेद पढ्दैनन् ।       

जान्दा श्रीखण्डै श्रीखण्ड हुन्छ, हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्न सकिन्छ । जनशक्तिलाई हात र साथमा लिएर जनताको हित गर्न सकिन्छ । जनताका अगुवाहरुमार्फत् जनहितलाई  सर्वोपरि हित गर्ने पार्टी नीति बताउन सक्नु पर्छ । र जनताको ऐच्छिक समर्थन प्राप्त गर्नु पर्छ । यसका लागि तमाम नेता र कार्यकर्तामा सिद्धान्त, सङ्गठन र सिर्जना जस्ता त्रिआयामिक क्षमता अपरिहार्य हुन्छ । यसका लागि पार्टी र मोर्चा सङ्गठनका  ठूलाठूला भेला र  समारोह मात्र गरेर हुन्न । पार्टी र मोर्चा सङ्गठनका विविध विषयमा कार्यशालाकै आयोजना गर्नुपर्छ ।  सुनेको कुरा बिर्सने सम्भावना धेर हुन्छ तर सुनेको कुरालाई कपीमा टिपोट गरियो भने बिर्सिँदैन । पठन संस्कृतिलाई आदतको विषय बनाउनुपर्छ । 

   अमुक नेताले अभिव्यक्त मन्तव्य मात्र सुनेका भरमा पार्टी सबल बन्दैन ।  कम्युनिस्ट पार्टी र तिनका नेता  र कार्यकर्ता पार्टीको आदर्श अनुसारका हुनुपर्छ ।  एमाले नाम मात्रको कम्युनिस्ट पार्टी होइन भन्नको आफैँले पहिले बुझ्नुपर्छ । जननेता मदन भण्डारीले कम्युनिस्ट नाम र त्यस अनुसारको झन्डा र नाराकै भरमा कम्युनिस्ट पार्टी हो भ्रमबाट मुक्त हुन सुझाउनु भएको छ । एमालेले मदन र मनमोहन र ओलीले झैँ पार्टी निर्माण र उत्थानमा लाग्नुपर्छ । घिसेपिटे  परम्परागत पारालाई  अब सच्याउनै पर्छ । कक्षामा मात्र शिक्षकले  विद्यार्थीलाई पढाएकै भरमा  मात्र जान्ने भइन्छ भन्ने कुरामा भर पर्नु हुन्न र उसलाई गृहकार्य दिनुपर्छ र त्यसको पनि जाँच गर्नु पर्छ । र मात्र असली ज्ञान पाइन्छ ।  सचिवालय र स्थायी समिति हुँदै तल्ला तहका नेताहरूलाई सधैँ पढ्ने लेख्ने  होमवर्क दिनु र त्यसको जाँच पडताल  गर्नुपर्छ । रहरले पढ्ने बहुत कम हुन्छन् । कि जेल पर्दा कि विद्यार्थी हुँदा र कि त प्राप्त जिम्मेवारी अनुसार त्यसको औकात राख्न पढिन्छ । मदन भण्डारी नै पनि पदीय हिसाबले जति माथिल्लो तहमा पुग्नु हुन्थ्यो उति अध्ययन र लेखनमा बढी समय दिनु हुन्थ्यो ।  तल्लो कक्षामा फेल भएकालाई माथिल्लो कक्षामा चढाए जस्तै गरेर पार्टी बन्दैन । मदन भण्डारीले भूमिगत बैठकपछि नेता र कार्यकर्तालाई कविता र गीत जे आउँछ  लेख्नै पर्ने र पढ्नै पर्ने अवस्था सिर्जना गर्नुहुन्थ्यो । बेलाबेला जाँच लिने गरियो भने फेल हुने डरले पनि पढिन्छ ।  पार्टीमा पनि एउटै देवकोटा जस्तो प्रतिभाशाली नेता र कार्यकर्ता छ भने त्यसका डरले शिक्षक नेता रातभरि पढ्न बाध्य हुन्छन् ।  भुस्कुल विद्यार्थीलाई त जसले जे पढाए पनि हुन्छ र हुँदो रहेछ । त्यस्ता विद्यार्थी चुपचाप सुन्छन् नबुझे पनि सुन्छन्

 कक्षामा  प्रश्न र जिज्ञासा राख्नै नदिए पछि विद्यार्थी र शिक्षक दुबै भुस्कुल हुन्छन् ।  त्यसैले पार्टीलाई मुहानदेखि नै सुधार्नु र सच्याउनु पर्छ ।

पार्टी अध्यक्ष ओलीले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्मा प्रस्तुत राजनीतिक प्रतिवेदन अत्यन्त उपयुक्त देखिन्छ । पार्टीलाई जगदेखि नै बलशाली बनाउने सन्देश त्यहाँ पाइन्छ तर यत्तिकै भरमा पार्टी र नेतृत्व प्रायः सुध्रिनेवाला  छैन । किनकि  पार्टीमा पठन संस्कृति नौ दिनमा नौलो र बिस दिनमा बिस्र्यो झैँ भएको छ । यसको उदाहरण नेतामा अत्यन्त सतही र जड अभिव्यक्तिबाट अवगत हुन्छ । कमरेड ओलीका अभिव्यक्ति नै पनि सबै सुने पढे नेता निक्कै जान्ने हुन्थे । हरेक नेता बहुआयामिक विशेषता र क्षमताका हुन सक्छन् र बन्न बनाउन पनि सकिन्छ । प्रहरीको तालिममा पर्दा एउटा मानिस सखुवाको काठ सरह बलशाली हुन्छ  अनि उही मानिस सेनाको तालिममा पर्दा त्यसको शरीर फलाम सरह शक्तिशाली हुन्छ । यसको मतलब जस्तो चाह्यो त्यस्तै बन्न र बनाउन सकिन्छ । बुद्धि,बल,क्षमता र प्रतिभा पनि विकास गर्न सकिन्छ । सबै मानिस भावनात्मक रूपमा स्रष्टा हुन्छन् तर जब तिनले आआफ्ना मनका विभिन्न भावनाहरू अक्षरमा लेख्छन्,तब ती कविका रूपमा समाजमा परिचित हुन्छन् । अक्षरमा लेख्न नसकनेहरु आँसुमा शोक,पीडा र छटपटीमा कविता लेख्छन् ।       

मोर्चा सङ्गठनको एउटै संयुक्त सिर्जनात्मक अभियानले समाजमा ठुलो तरङ्ग ल्याउँछ । कला,कविता,गीत  साहित्य र सङ्गीत जनमन आकर्षित गर्ने र मैलो मन धुने साबुन हो । यस अभियानको विगत सम्झे पनि हुन्छ । अब कुनै पनि जात जाति समुदायमा एकभन्दा एक पार्टी कार्यकर्ता र नेता तयार भएका छन् तिनै मध्येबाट छानी छानी  योग्यलाई राजनीतिक र राजकीय जिम्मेवारी  दिन सकिन्छ । एउटै नेता र कार्यकर्ताले राजकीय अनेक अवसर पाइरहने र दिइरहने अवस्था पूरै नियन्त्रित गर्नु पर्छ । कसैलाई खातै खात कसैलाई पुर्पुरामा हात हुन दिनु हुँदैन । जन्दा देश एमालेमय हुन्छ । ससाना कुरालाई आधार बनाएर नेता र कार्यकर्तासित  रिसराग राख्नु हुन्न । पार्टीको ब्याड, नर्सरी र बेर्ना तयार गर्न थाल्नुपर्छ । बालबालिकालाई देशव्यापी रूपमा ससानो प्रोत्साहन पुरस्कारबाट आम बालबालिका सृजनशील हुन्छन् र तिनीहरूले   जनवादी प्रगतिशील सिर्जना संस्कार र शिक्षा पाउँछन् । अमेरिकाको भीषण बमबारीबाट  भियतनामी जनताको एक घरहरू  ध्वस्त भए ।  संयोगले त्यस मध्येको एक घरको एक बालक बाँचेछन् । ती बच्चाले अमेरिका विरुद्ध बन्दुक बोकेर लड्ने उत्कट चाहना गरेछन् तर सैनिकले राम्ररी सम्झाएर अहिले तिमी बालक छौँ, त्यसैले अहिले यस्तो काम तिमीबाट सम्भव हुँदैन भन्दा आफ्ना मातापितासहित बन्धुहरू मारेको पीडाका कारण ती बालकले मैले बन्दुक बोकेर अमेरिका विरुद्ध लड्न नसके पनि  लडाई लड्ने सेनालाई पानी त पिलाउने काम गर्न सक्छु भनेछन् । बालक भनेर हुँदैन काँचो माटालाई सुरुदेखि नै परोक्ष रूपमा प्रगतिशील चेतना भर्ने काम रचनात्मक तरिकाले  सम्पन्न गर्ने सोच हुनुपर्छ । एमालेले जितेका वडा,गाउँ पालिका र नगर पालिकाले ससानो रकम छुट्टाएर बालबालिका केन्द्रित  सिर्जनात्मक प्रतियोगिता गराउन सुरु गने हो भने ती बालकहरू तीन वर्ष मै प्रगतिशील चेतनाका संवाहक बन्छन् । तर यसो गर्दा धेरैलाई प्रोत्साहन पुरस्कार प्रदान गर्ने कुरामा  ध्यान दिनु पर्छ । प्रथम,द्वितीय र तृतीय र सान्त्वना मात्र होइन टप टेन वा ट्वेन्टीलाई पुरस्कृत गर्नु पर्छ । बौद्धिक तथा सिर्जनात्मक अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिनु पर्छ ।       

यही जेठ १६ र १७ गते काठमाडौँमा बृहत् महिला भेलाको आयोजना हुने समाचार पढियो । जनसंगठन समन्वय समितिको संयोजनमा हुन गइरहेको भेलामा २३ वटै जनसंगठनमा आबद्ध महिलाहरू गरी ५ हजार सहभागी हुने जानकारी पाइयो । यस्ता कार्यक्रम आयोजना गर्नु राम्रै कुरा हो । तर कार्यक्रममा  हरेक सहभागी सदस्यहरूलाई प्रत्यक्ष सैद्धान्तिक, वैचारिक, बौद्धिक र सिर्जनात्मक लाभ  हुन्छ कि हुँदैन भन्ने कुरा सोच्नुपर्छ । रामरमिता खालको  भेला मात्रले खासै उपलब्धि हुँदैन ।  यस्ता भेलामा उपस्थिति उल्लेखनीय नै होला  तर अब टाउको मात्र गन्ने होइन गिदी गन्नुपर्छ ।  पिँधबिनाको लोहोटाको कुनै भर हुँदैन । पिँधका लागि सैद्धान्तिक, वैचारिक तथा सेवा र समर्पण भाव आवश्यक पर्छ ।  अगुवा कार्यकर्ता तयार गर्नु पर्छ पछुवा मात्र  तयार गरेर जनता र समाजलाई प्रभावित गर्न सकिन्न । 

अहिले त पार्टीमा नेता र कार्यकर्ताको स्तर निक्कै खस्केको देखिन्छ । राष्ट्रिय प्रतिनिधि परिषद्मा महासचिव शङ्कर पोखरेलले अधिकांश केन्द्रीय सदस्यहरूको दयनीय हालत उल्लेख गरिदिनु भयो । यसको मतलब यसमा पोलिटब्युरो र स्थायी समितिका सदस्य पनि पर्छन् । अझ यस लेखकले त समाजको गुणात्मक रूपान्तरण गर्ने संस्कृति र सांस्कृतिक रूपान्तरण बारे अत्यधिक नेता शून्य चेतका लाग्छन् । जबज र यसमा उल्लिखित प्राज्ञिक स्वतन्त्रता नै नबुझेर हैरान नेता देख्दा अचम्म लाग्छ ।  अधिकांश एमाले र मोर्चा सङ्गठन र अझ विशेष गरेर महिला फाँटमा     उद्घोषण, स्वागत, अतिथि मन्तव्य,प्रमुख अतिथि मन्तव्य, लेख, टिप्पणी समीक्षा, प्रकाशकीय, सम्पादकीय, कविता गीत, कथा र लेख लेख्न नसिकाई नहुने अवस्था छ ।  यस्ता विषयको ज्ञान  केवल नेताले गरेका भाषण र सर्कुलरका भरमा हुँदैन । कुनै पनि  कार्यक्रमबाट केही न केही सिक्नु र सिकाउने खालको  हुनुपर्छ । कहाँ गयौँ के सिकेर आयौँ भन्दा तिनको उत्तर शून्य हुन्छ ।  नेता बनाउने हो भने कार्यशाला आयोजना मार्फत प्रशिक्षित  गर्नैपर्छ । यो पनि कम खर्चमा स्थानीय,क्षेत्र,जिल्ला र प्रदेश  स्तरीय गर्नुपर्छ । लाग लाठी गरेर लाग्ने हो भने मिसन चौरासी सफल नहुने कुरै छैन ।  

  

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ४ : १० बजे