साफ यू–१७ च्याम्पियनसिप आजदेखि

वेस्ट इन्डिज ‘ए’सँग हार्‍यो नेपाल, ब्याटिङको कमजोरी कहिले सुध्रिएला ?

बलियो प्रतिस्पर्धी वेस्ट इन्डिज ‘ए’सँगको आजको खेल नेपालले गुमाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपाल २८ रनले पराजित भएको हो ।

योसँगै नेपालसँगको टी-ट्वान्टी शृङ्खलाको उपाधि समेत वेस्ट इन्डिज ‘ए’ले जितेको छ । एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले सो उपाधि ३–१ ले आफ्नो पक्षमा पारेको हो ।

रोचक खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय ९ रनको योगफल बनायो । दुई सय १० रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा एक सय ८१ रन बनाएर खेल गुमाएको हो ।

योसँगै नेपालको ब्याटिङ लाइनअपमा समस्या रहेको उजागर भएको छ। पछिल्ला खेलहरूमा नेपालले राम्रो रन बनाए पनि फिनिसिङमा समस्या देखिँदै आएको छ । आगामी टी–२० विश्वकपको तयारीमा रहेको नेपालको लागि यो सुखद् अवस्था होइन ।

आजको खेलमा वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ५४ बल खेल्ने क्रममा नौ चौका र चार छक्का प्रहार गरे । यस्तै जोनसन चाल्र्सले ३० बलमा ६ छक्का र तीन चौकाको मद्दतमा ५८ रन बनाए । फाबियन एलनले नटआउट ३३ रन बनाए । बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए ।

नेपालका लागि एक सय ८१ रन बनाउने क्रममा कप्तान रोहितकुमार पौडेलले ८२ रनको योगदान दिए । उनले ४७ बल खेल्दै सात चौका र पाँच छक्कासहित सो रन बनाएका हुन् । वेस्ट इन्डिज ‘ए’सँगको पहिलो खेलमा उनले एक सय १२ तथा दोस्रो खेलमा अविजित ७१ रन बनाएका थिए । तेस्रो खेल भने कप्तान पौडेलले खेलेका थिएनन् ।

बलिङतर्फ वेस्ट इन्डिज ‘ए’का हेडन वाल्स र म्याथ्यु फर्डले तीन तीन तथा फेबियन एलेन र गुडाकेश मोटीले दुई दुई विकेट लिए ।

नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको अन्तिम खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ७ : १० बजे